जाडो मौसममा किन बढ्छ दमरोग ? के छन् त रोकथामका उपायहरु ?  

Article   Dr. Suraj Kumar Gupta  on Mon, Mar 25 2019 05:32 PM 4225 Views 0 Comments 2 persons recommended

नेपालमा मौसम परिवर्तन सँगसँगै दमका विरामीको संख्यामा पनि बृद्धि भइरहेको छ । तुलनात्मक रुपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका विरामीहरु अत्याधिक मात्रामा बढीरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ । सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रुपमा नबुझी यसलाई एउटा रोगको संक्रमणले गर्दा श्वास प्रश्वासमा कठिनाई उत्पन्न भइरहेको हुन्छ दमको रोग कुनै पनि उमेरका मानिसहरुलाई हुन सक्दछ, यदि दम भएमा श्वास फेर्न गाह्रो हुन्छ । मानिसहरुमा क्रोनिक ब्रोन्काइटिस भन्ने रोग छ, यो रोग प्रायः चुरोट खाने, धुँवामा बढी काम गर्ने र बाह्य प्रदुषित बातावरणमा काम गर्नेलाई लाग्दछ । जस्तै कुनै पनि मानिसलाई क्षयरोग छ भने पनि यो रोगले फोक्सोलाई धेरै मात्रामा कमजोर बनाएको हुन्छ । जुन विरामीमा क्षयरोग छ सोही विरामीलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने आदि हुन्छ ।

(१) यस कारण देखा पर्दछ दम : नेपालमा वातावरणीय प्रदुषणका कारण दमका विरामीका संख्यामा वृद्धि भइरहेको छ । प्रायजसो नेपालमा क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । यस्तो दम प्रायः चुरोट सेवन गर्ने र चुलाको धुँवामा बस्ने मानिसलाई बढी देखापर्ने गर्दछ । यो कारण सँगसँगै क्षयरोग तथा बाल्य अवस्थामा छातीको संक्रमण भएका व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना अत्याधिक बढी हुन्छ । मानिसको फोक्सोमा विभिन्न रोगहरु लागेका हुन्छन् त्यस्ता रोगको कारणले सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्दछ । यदि कुनै पनि मानिस धुँवाधुलो अत्याधिक हुने काम गर्दछ भने उसलाई पनि दम हुने सम्भावना हुन्छ । मुुटुका विरामीहरुलाई पनि श्वास फेर्न गाह्रो हुने गर्दछ । चुरोटको सेवन गर्ने, अत्याधिक धुँवाधुलोमा काम गर्ने र यदि गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ ।

(२) यस्ता हुन्छन् दमका लक्षणहरु :  दमको मुख्य लक्षणको रुपमा श्वास फेर्न गाह्रो महसुस हुनु खोक्दा खकार निस्कने, खोकी लाग्ने हुन्छ । विरामीलाई तलमाथि, उकालीओराली गर्दा श्वास बढेर आउँछ । दम भएका विरामीलाई छातीमा दुख्ने र खोक्दाखेरी खकारमा रगत समेत देखा पर्दछ । यदि कुनै विरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखा पर्दछ । मानिसमा क्षयरोग भएमा पनि फोक्सोमा संक्रमण भई मुखबाट रगत आउने गर्दछ । खकारमा रगत देखिएमा त्यसलाई तुरुन्त आफ्नो डाक्टर समक्ष परामर्श गर्नु आवश्यक छ । कुनै क्यान्सर तथा सानातीना ट्युमरको कारणले पनि खोक्दा रगत आउने हुन्छ । दमको कारणले कहिलेकाही विरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचे जस्तो महसुस हुने लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्दछ । तर यो के–कति कारणले भइरहेको छ भन्ने वास्तविकता पत्ता लगाउन शरिरको जाँच गर्नु आवश्यक छ ।

(३) दमको उपचार विधि : दमको उपचार गर्नुभन्दा पहिले के–कति कारणले श्वासप्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने एकिन गर्नुपर्दछ र सोही अनुसार रोगको उपचार गर्नुपर्दछ । दम रोग लागेका विरामीहरुले औषधि खाएपछि बानी पर्दछ भन्ने गलत धारणा रहेको छ । दमका औषधिहरु नियमित रुपमा सेवन गरेमा विरामीलाई सजिलो हुने गर्दछ । कुनै पनि विरामीलाई दम भएको शंका लागेमा तुरुन्त डाक्टर समक्ष परामर्श लिनु आवश्यक छ जसले गर्दा दम हो या होइन भन्ने एकिन गर्न सजिलो हुन्छ । यदि कुनै पनि व्यक्तिलाई बंशानुगत कारणले दम छ भने यो पूर्णरुपमा निको नहुन पनि सक्दछ ।

(४) यसरी रोकथाम गर्न सकिन्छ दम : चिसोबाट बच्नुपर्दछ । जाडो समयमा दमले बढी सताउने भएकोले आफ्नो  बस्ने घर र कोठालाई न्यानो बनाउने र आफुले लगाउने लुगा पनि न्यानो हुनुपर्दछ । दम छाती रोगका कारण नै हुने गर्दछ । बाल्यकालमा छातीमा संक्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्दछ । दम हुने मानिसले दाउराको चुलो, धुँवा र धुलोबाट टाढा नै रहनुपर्दछ । बाहिरी वातावरणको धुलो नलागोस भनेर माक्स लगाएर हिडडुल गर्नुपर्दछ । यदि चुरोट खाने बानी छ भने पनि त्यसले फोक्सोमा नराम्रो असर पार्दछ । त्यसैले चुरोट खानु हुँदैन र खाने मानिसको वरीपरी बस्यो भने त्यसबाट आउने धुँवाले फोक्सोमा संक्रमण गर्न सक्दछ । त्यसैले हामीले फोक्सोलाई जहिले पनि स्वस्थ राख्न सकिएको खण्डमा दम रोगबाट बच्न सकिन्छ । यदि कुनै मानिसलाई छातीमा संक्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ ।

वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ डा. सुरज कुमार गुप्ता नर्भिक अस्पताल ,थापाथलीमा कार्यरत हुनुहुन्छ ।

Leave a comment