फिस्टुला :  

Article   Dr. Hari Sharan Aryal (डा. हरि शरण अर्याल)   on Mon, Jul 15 2019 12:57 PM 4164 Views 0 Comments 6 persons recommended

फिस्टुला दिसागर्ने ठाउँको वरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जव उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेंलो अथवा रगत मिसिएको पिप बग्न थाल्दछ तव दुखाई कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ । नेपालमा यो रोगको अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको रहन सहन र खानपान एकै खालको भएकाले भारतमा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा यो रोग पुरुषहरुमा एक लाखमा १२.३ जना र महिलाहरुमा ५.६ जनामा भएको पाइन्छ । यो रोग दिसा गर्ने ठाउँको भित्रपट्टि हुने ग्रन्थिहरुमा संक्रमण भएको कारणले हुने भएकाले भित्र भएको पिप एउटा बाटोबाट दिसा गर्ने ठाउँको भित्र खुल्दछ भने अर्को बाटोबाट बाहिर खुल्दछ र यसलाई नै फिस्टुला भनिन्छ ।

कसरी लाग्दछ त यो रोग ?

लामो समयसम्म दिसा बस्नाले, लामो समय सम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँको वरपरको रौं तानिएर दिसा गर्ने ठाउँको भित्र भएका ग्रन्थिरुमा सङ्क्रमण्म भएको कारणले यो रोग लाग्दछ । यो सामान्य रुपमा एक व्यक्तिमा एउटा हुने तर कसै–कसै मा धेरै पनि हुने गरेको पाइन्छ । मानिसको दिसा गर्ने ठाउँको भित्र ८ वटा ग्रन्थिहरु हुन्छन् जसको सङ्क्रमण एकै पटक भयो भने ८ वटै फिस्टुलाहरु प्नि आउन सक्छन् । यो रोगको जटिलताका अवस्था निम्नानुसारको रोगहरुमा हुनसक्छ ।

 ठूलो आन्द्राको रोग भएमा

 ठूलो आन्द्राको क्यान्सर भई पहिला नै रेडियो थेरापी लिएको अवस्थामा

 क्षयरोग लागेको अवस्थामा

 एचआइभि पोजेटिभ भएको अवस्थामा

कसरी थाहा पाउने त यो रोग लागेको ?

दिसा गर्ने ठाउँको वरपर वा नजिकमा खटिरा आउँछ र अत्यन्त दुखाई हुनुको साथै केहि समय पछि त्यो खटिरा पाकेर गन्हाउने पिप बग्न थाल्दछ । पिप बगेपछि सन्चो भए जस्तो त हुछ तर केहि समय पछि फेरी पाक्ने र दुखाई हुने निरन्तर भइरहन्छ । पछि यो पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ ।

यो रोग लागि सकेपछि अरु रोगहरु सँग अलग गर्न परिक्षण गनुपर्ने हुन्छ । यसको लागि सामान्य रुपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केहि कुरा थाहा पाउन सकिन्छ । यसको उपचारमा कति माथि भित्र पट्टि अर्को प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिले काँही प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउँदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलोग्राम गर्नु पर्दछ । कहिले काँही धेरै फिस्टुला भएको व्यक्तिमा क्षयरोग तथा क्यान्सर छ कि भनेर मास काटेर वायोप्सि पनि गर्नुपर्ने हुनसक्छ ।

यो रोग औषधिले निको हुँदैन । यसलाई क्षार सूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरु जटिलता पनि आउँदैन । यस रोगको लागि अप्रेसन गर्दा १५ देखि १८ प्रतिशत मानिसमा दोहोरिने तथा दिसा रोक्न नसक्ने दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर क्षार सूत्रबाट उपचार गर्दा अहिले सम्म त्यस्ता समस्याहरु देखिएका छैनन् । यदि यो रोगको समयमा उपचार गरिएन भने क्यान्सर भइ ज्यानकै खतरा पनि हुन सक्छ ।

रोकथाम का उपायहरु :

 दिसा धेरै कब्जियत हुन नदिने

 कनेर दिसा नगर्ने तथा लामो समय सम्म दिसा नबस्ने

 सर सफाईमा ध्यान दिने

 मसलादार तथा खुर्सानी, अदुवा, गरम मसला, दुध चिया र कफि कम गर्ने

 हरियो सागपात तथा फल फूल आवस्यक मात्रमा खाने

 शरिरलाई चाहिने आवश्यक मात्रमा पानी पिउने ।

Leave a comment