जब सुनिताले 'गुमेको' हात फिर्ता पाइन्...



Download our app to get more features

झापा, २० चैत ।  फागुन २० गतेका दिन विर्तामोडकी सुनिता बस्नेतलाई बिहानैदेखि दिन नरमाइलो लागिरहेको थियो । विर्तामोडमा श्रीमानको साथमा व्यापार गरेर बसेकी सुनितालाई उक्त दिन शनिस्चरे–७ स्थित स्थायी घरमा जानु थियो । हावाहुण्डरी र मौसममा अस्वभाविक बदली भैरहेको थियो । स्कूटर चढेर विर्तामोडबाट शनिस्चरे हिँडेकी सुनिता विर्तामोड चोकबाट एककिलोमिटर पार गर्दा नगर्दै धर्मकाटा रोडमा दुर्घटनामा परिन् । गुडिरहेको स्कुटरको चक्कामूनी गुढिरहेको फूटबल आएर पर्दा उनी अनियन्त्रित भएर ट्रयाक्टरको पांग्रामुनी परिन् । 

त्यसपछि उनलाई ट्रयाक्टरको चक्काले लछारपछार पार्यो । स्कूटर देब्रेपटी पुग्यो भने आफु दाहिनेपटि कुदिरहेको ट्रयाक्टरको पांग्रामुनी । उनको हातको पाखुरादेखि कुमसम्मको मासु ट्रयाक्टरले नै लछारेर लग्यो । त्यस्तै टाउको पनि आलु छोडाए झैं पाँग्राले लछारेर लग्यो । हेलमेट उछिट्टिएर कच्याक्कुचुक भयो । 

एकछिन् शब्दशुन्य भएर भुइँमा ढलेकी  सुनिताले एकछिन मुखबाट आवाज निकाल्नमात्र पनि संघर्ष गर्नुपर्यो । ठक्कर दिएर हिँडेको ट्याक्टर धेरै अघि पुगिसकेको थियो । उनले असह्य पीडाका बीच सकीनसकी साहस निकालिन् र रक्ताम्मे अवस्थामा नजिकैको बीएण्डसी अस्पताल पुगिन् । कहालीलाग्दो दुर्घटनामा हात र टाउकोको मासु गुमाएर लरखराएकी घाइते महिला छट्पटिँदै आफै अस्पताल पुगेको देखेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तीनछक्कै परे । 

हातको आधाउधी मासु त ट्याक्टरकै पाँग्राले लुछेर लगिहाल्यो । त्यो विभत्स अवस्थामा पुगेकी सुनिता तब छाँगाबाट खसिन् जब इमर्जेन्सीका डाक्टरले हात नजोगिने बताए । बल्लतल्ल अस्पताल पुगेर बाँच्ने आशा पलाएपनि डाक्टरको यस्तो कुरा सुनाएपछि उनलाई पीडामाथि पीडा थपियो । त्यसपछि उनलाई अस्पतालका अर्थोपेडिक विभागका प्रमुख निराजन पराजुली र न्यूरो विभागका प्रमुख सीपी लिम्बूको संयुक्त टिमले उपचार थाल्यो । प्रत्येक दिन उनलाई जीवनप्रति झन् झन् आशा थपिन थाल्यो । एकमहिना अस्पताल बसेकी सुनिताका श्रीमान लक्ष्मण बस्नेत आइतवार अस्पतालबाट डिस्चार्ज पेपर बुझ्दै थिए । सुनितासँगैको बेडमा प्रसन्न मुद्रामा बसेकी थिइन् । 

दुर्घटनापछिका उनका तस्वीर साँच्चै दर्दनाक र डरलाग्दा छन् । उनका आफन्त र उनी स्वयंले आजको दिन कल्पनै गरेका थिएनन् । श्रीमतीलाई डिस्चार्ज गरेर घर लान आँटेका लक्ष्मणले श्रीमती ठीक भएको भनिरहँदा उनको अनुहारमा खुशीको अभूतपूर्व रंगहरु कोरिएका थिए । उनले मुस्कुराउँदै थपे,  ‘मैले उनी यसरी ठीक होलिन् भन्ने त परै जाओस् हातै जोगिएला कि नाईं भन्ने सोचेको थिए । यो महिनादिन असाध्यै पीडादायी भयो । अब उनलाई ठीक भएको छ । असाध्यै खुशी लागेको छ ।’ 

सुनिता एकमहिनाको पट्यार लाग्दो अस्पताल बसाईबाट मुक्ति लिएर आइतवार घर जाँदै थिइन् । योबीचमा उनको चार चरण हाडजोर्नीको शल्यक्रिया र एकचरण नशासम्बन्धी शल्यक्रिया भएको छ । अनुहार शल्यचिकित्सकले पनि उनको उपचारमा सहायता गरे । सुनिता हातबाट लुछिएको मासु तिघ्राबाट निकालेर ग्राफ्ट गरिएको छ । हातमा र टाउकोमा तिघ्राको मासु राखेर उस्तै बनाइएको छ । सुनिताको घाउ ठीक भएको मात्र छैन । उनको सुन्दरता पनि फर्किएको छ । 

'सुरुमा हात काट्नुपर्छ भन्दा त सात्तोपुत्लो उडेको थियो । जीवन नै अन्धकार लागेको थियो । तर, आज हातपनि जोगिएको छ । घाउपनि ठीक भएको छैन ।' सुनिताले गदगद् हुँदै हाम्रो डक्टरसँग सुनाइन् । 

बीएण्डसी अस्पतालले यस्ता थुप्रै ‘केस’लाई निको बनाएको छ । पूर्वी नेपालको मेची अञ्चलमा गुणस्तरीय स्वास्थ्य सेवासहित ख्यातिप्राप्त चिकित्सक सहित सेवा आरम्भ गरेको गर्ेको अस्पतालले पुरै चुँडिएका हातसमेत जोडेर उपचार गर्ने गरेको अस्पतालका निर्देशक निराजन प्रसाईँले बताए । केन्द्रिकृत स्वास्थ्य सेवाका कारण यस्ता ट्रमा केसहरुको उपचार गर्न राजधानी वा चितवनजस्ता सेन्टरमा धाउनुपर्ने अवस्थाबाट पूर्वाञ्चलका बासिन्दा मुक्त भएका छन् ।

बिर्तामोडमा खुलेको सुविधासम्पन्न अस्पतालले जस्तोजुकै जटिल उपचारलाई पनि झापामै सम्भव बनाइदिएको छ । एकमहिनापछि श्रीमतिलाई डिस्चार्ज गर्दै घर लान आँटेका श्रीमान लक्ष्मणले हाम्रो डक्टरसँग भने ‘अहिले यतै यस्तो सुविधानसम्पन्न अस्पताल बनेर हामीलाई सहज भएको छ । नत्र मेरी श्रीमती कहाँ जान्थिन होला त्यो दर्दनाक दुर्घटना पछि, भारत ?’

Last modified on 2017-06-18 16:49:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts