भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. दिपेन्द्र न्यौपाने विजयी



Download our app to get more features

चितवन, २४ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा. दिपेन्द्र न्यौपाने विजयी भएका छन् । जम्मा १ सय ५४ मत खसेको मध्ये उनले १ सय १४ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी शिवप्रसाद बसेलले ३८ मत प्राप्त गरे । खसेको मध्ये २ मत भने बदर भएको थियो । 

शुक्रवार भरतपुरमा भएको १६ औं वार्षिक साधारणसभा एवं नवौं अधिवेशनले डा. न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । युनियनको वरिष्ठ उपाध्यक्षमा इरिना प्रधान निर्विरोध निर्वाचित भईन् । 

त्यस्तै, उपाध्यक्षमा शारदा खनाल विजयी भईन् । सचिवमा सुदिप पाण्डे, कोषाध्यक्ष प्रभा गुरुङ, सह-कोषाध्यक्षमा सङ्गिता कुँवर अधिकारी र सह-सचिवमा डा. सन्दिप पाण्डे चयन भएका छन् ।

यसैगरी, समितिको सदस्यहरूमा सजिना श्रेष्ठ, रोशन बस्नेत, उषा खनाल देवकोटा, मञ्जु खड्गी र ज्ञानबहादुर भण्डारी निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ईश्वरी खनालले जानकारी दिए । 

अधिवेशनमा वरिष्ठ उपाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिव र सदस्य पद सर्वसम्मत भएको थियो । शुक्रवार अबेरसम्म प्रयास गर्दा समेत सहमति हुन नसकेपछि साँझ अन्य पदमा निर्वाचन भएको हो ।

अधिवेशनको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमका सभापति समेत रहेका निवर्तवान अध्यक्ष कृष्णप्रसाद शर्माले युनियन अस्पतालको राम्रा कामको लागि समर्थक भएपनि प्रशासनले चाल्ने हरेक गतिविधिमा प्रतिपक्षको भूमिकामा रहने बताए । हरेक गतिविधि गर्दा सदैव कर्मचारी र अस्पतालको हितको निम्ति काम गर्न अस्पताल प्रशासनको ध्यान केन्द्रित गरे । अस्पतालले कर्मचारी नियुक्ति गर्दा जे कामको लागि नियुक्ति गरेको हो त्यहाँ नै काम लगाउन समेत उनले माग गरे ।  

त्यस्तै, विजयउत्सवमा बोल्दै नवनिर्वाचित अध्यक्ष अध्यक्षमा डा. न्यौपानेले आफ्नो विजय भनेकै समग्र कर्मचारीको विजय भएको प्रतिकृया दिए ।  उनले आफू सदैव कर्मचारी हकहित र अस्पतालको समग्र विकासको निम्ति काम गर्ने बताए । त्यसको लागि सबैको यस्तै सहयोग र साथ सदैव रहिरहने उनले विश्वास व्यक्त गरे । न्यौपाने यसअघि युनियनको उपाध्यक्ष थिए ।

भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको साझा संस्था हो । नवगठित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

Last modified on 2023-07-12 01:42:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts