मेडिकल काउन्सिल निर्वाचन नालिबेली

यसरी सम्भव भयो थापा समूहको जित



Download our app to get more features

चिकित्सा शिक्षाको नियमन गर्ने, डाक्टरहरूलाई आचारसंहिता पालना गराउने, चिकित्सा शिक्षा पढेका विद्यार्थीलाई लाइसेन्स दिनेलगायतका महत्वपूर्ण काम गर्ने निकाय नेपाल मेडिकल काउन्सिलमा आठ जना नयाँ पदाधिकारी भर्खरै चुनिएका छन् । काठमाडौँ उपत्यका बाहिर २३  भदौ र उपत्यकामा २९, ३० र ३१ भदौ सम्पन्न निर्वाचनबाट काउन्सिलको उपाध्यक्षमा डा. नारायणविक्रम थापा २५ सय १० मत पाएर निर्वाचित भए । यस्तै सदस्यहरूमा क्रमशः डा. कालुसिंह खत्री, डा. अंकुर शाह, डा. सुनीलकुमार शाह, डा. कृष्ण रिजाल, डा. शिवजी पौडेल, डा. विश्वराज दवाडी, डा. खुस्बु प्रिया र डा. मनोजमान श्रेष्ठ निर्वाचित भए । 

उपाध्यक्षमा विजयी थापाका प्रतिद्वन्द्वी डा. पुष्पमणि खरालले २४ सय ५८ र डा. सतिसकुमार देवले १८ सय ९८ मत पाए । उपाध्यक्ष पदका लागि थापा र खरालबीचमा कडा प्रतिस्पर्धा भएको थियो भने डा. देव निकै पछाडी देखिए । सदस्यहरूमा सबैभन्दा बढी मत कालुसिंह खत्री ३६ सय ४५ मत पाएर बिजयी बने । 

काउन्सिल चुनावमा पहिलो पटक सदस्यमा उठेर बढी मत पाउने उनी मात्र हुन् । सदस्य पदमा विजयी डा. अंकुर, डा. विश्व र डा. शिवजीले यसअघि पनि काउन्सिलमा सदस्यका रुपमा चार वर्ष बिताइसकेका छन् । तीन जना बाहेक बाँकी पाँच विजयी सदस्यहरू नयाँ अनुहार हुन् । 

मेडिकल काउन्सिलमा एक उपाध्यक्षसहित सात सदस्य बाहेक अध्यक्ष, रजिष्टार र ६ सदस्य सरकारले नियुक्त गर्छ भने नेपाल चिकित्सक संघका अध्यक्ष र नेपाल डेन्टल एशोसियनका अध्यक्ष पदेन सदस्य हुन्छन् । काउन्सिलमा यी पदाधिकारी राजनीतिक नियुक्तिका आधारमा हुन्छन् । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको महत्वपूर्ण निकाय मानिएको मेडिकल काउन्सिल अर्धन्यायिक र स्वायत्त निकाय हो । काउन्सिलको पूर्ण बैठकबाट हरेक निर्णयमा काउन्सिल पदाधिकारीहरूको बहुमत आवश्यक पर्छ । यसकारण काउन्सिलमा सदस्य बन्न चिकित्सकहरूको होडबाजी चल्छ । उपाध्यक्ष पद झनै महत्वपूर्ण मानिन्छ । त्यसैले काउन्सिलमा उपाध्यक्ष र सदस्य निर्वाचित गर्न मेडिकल कलेजहरूले सक्दो शक्ति प्रयोग गर्छन् । काउन्सिलले मेडिकल कलेजको सिट संख्या तय गर्ने, कलेजको भौतिक संरचना तथा सम्पूर्ण शैक्षिक वातावरण उपयुक्त भए नभएको अनुगमन गर्ने समेत गर्छ । यी निर्णयमा कलेज सञ्चालकले काउन्सिलमा आफ्नो स्वार्थपूर्ति गराउन आफ्ना प्रतिनिधिलाई जिताउन सक्दो पैसा खर्च गर्ने गरेको बिगतका अभ्यासहरू देखाइसकेको छ ।  

यस पटकको चुनावमा पनि कलेज सञ्चालकले आफ्ना प्रतिनिधिलाई अघि सारे । यति हुँदाहुँदै पनि यसपटकको उपाध्यक्ष पदको निर्वाचनमार्फत आममानिसमा त्यति धेरै नाम नसुनिएका डा. थापा विजयी भए । काउन्सिलले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको घोषणा गरेपछि तीन जना बाहेक भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डा. अनिल बिक्रमले पनि उम्मेदवारी दिए । तर, अनिल बिक्रम र नारायण बिक्रमले उम्मेदवारी दिदा मत बाँडिने सम्भावना र त्यसो हुँदा पुष्पमणि अघि आउने देखिएपछि अनिल बिक्रमले आफ्नो उम्मेदवारी रद्द गरे । 

प्रजातान्त्रिक समूहको बहुमत

डा. अनिलबिक्रमले काउन्सिलको उपाध्यक्ष पदबाट उम्मेदवारी रद्द गर्नुको कारण हो, प्रजातान्त्रिक समूहबाट अर्का चिकित्सक डा. नारायण बिक्रम कार्कीको पनि उम्मेद्वारी पर्नु । नारायण बिक्रमले उम्मेदवारी रद्द गरेर अनिल बिक्रमले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने ठाउँ पनि थियो । 

तर, नारायण बिक्रमलाई प्रजातान्त्रिक समूहको सर्मथनसँगै किष्ट मेडिकल कलेजबाट पनि राम्रो साथ मिल्यो । त्यसो त थापा किष्ट मेडिकल कलेजका लगानीकर्ता मध्येका एक भएकाले पनि अनिलभन्दा नारायणलाई उपाध्यक्षको उम्मेदवारी दिन सहयोग पुग्यो । थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेको छन् । उनी किष्ट मेडिकल कलेजमा रेडियोलोजिष्टको रुपमा कार्यरत छन् । 

काउन्सिलको सदस्य पदमा बिजयीहरू मध्ये एक जना बाहेक सबै प्रजातान्त्रिक धारका चिकित्सक छन् । थापाका निकटम प्रतिद्वन्द्वी डा. पुष्पमणि खराल बामपन्थी समुहका चिकित्सक हुन् । उनी नेपाल चिकित्सक संघको यसअघिको चुनावमा महासचिव पदमा उम्मेदवारी दिएर हारेका व्यक्ति हुन् । डा. खराल दमौलीको अस्पतालमा कार्यरत छन् । यसरी हेर्दा काउन्सिलको यसपटकको चुनावको मतदानमा उम्मेदवारको राजनीतिक पृष्ठभूमिले पनि भूमिका खेलेको देखिएको छ । 

यस्तो छ थापाको जितभित्रको कथा 

काउन्सिलको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा. देव काउन्सिलका पूर्व सदस्य पनि हुन् । उनले काउन्सिलमा डाक्टरको आचरणगत व्यवहारको अनुगमन गर्ने र आवश्यक नीति नियम बनाउने इथिकल कमिटिको संयोजक भएर लामो समय काम गरे । त्रिवि शिक्षण अस्पतालको फर्माकोलोजी विभागका सह–प्रध्यापक डा. देवले केही समय अघि चर्चित ‘अप्रेशन क्वाक’ मा काउन्सिलका तर्फबाट अनुसन्धान गर्ने समितिमा रहेर काम पनि गरेका थिए । 

देव चुनावमा कुनै राजनीतिक आवरणमा नउत्रिए पनि तराई–मधेस क्षेत्रको भएकाले ती क्षेत्रका चिकित्सकको भोट तान्ने अनुमान गरिएको थियो । र, उनले सोही अनुसार ती क्षेत्रमा चुनावी अभियानलाई जोड दिएका थिए । तर, चुनावका क्रममा डा. नारायण बिक्रमलाई जसरी पनि जिताउने र देवलाई हराउने चिकित्सकको एक समुह लागेको थियो । त्यसो त काउन्सिलमा देवले लामो समय काम गरेकाले पनि नयाँले काम गर्ने अवसर पाउनुपर्ने तर्क गर्न थापाको चुनावी प्रचारमा गरियो । 

यस्तै डा. देवले रुपन्देहीस्थित देवदह मेडिकल कलेजको अनुगमनका क्रममा अनियमितता गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि परेर अदालतबाट सफाई पाएका व्यक्ति हुन् । यसैले पनि काउन्सिलको उपाध्यक्ष पदमा थापाले जित्नुमा डा. देव ‘फ्याक्टर’ले काम गरेको देखिन्छ । अर्थात डा. थापाले डा. देवका धेरै भोट पाए । डा. थापाको जितमा देव फ्याक्टरले काम गर्नुमा उनको ‘अप्रेशन क्वाक’मा भएको संलग्नतले भूमिका खेलेको देखिन्छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), तत्कालिन उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिल मिलेर देशभरका क्वाक डाक्टर (नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेका चिकित्सक) माथि अप्रेशन शुरु भएको थियो । जसलाई सिआईबीले ‘अप्रेशन क्वाक’ नाम दिएको थियो । यस क्रममा सिआईबीले काउन्सिलको सहयोगमा एसएलसी र प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस र बीडीएस तह अध्ययन गरेका करीब दुई सय चिकित्सकलाई पक्रेर अनुसन्धान गरेको थियो । 

अप्रेशन क्वाक चलिरहँदा नेपाल चिकित्सक संघ खुलेआम विरोधमा उत्रियो । संघका तत्कालिन अध्यक्ष डा. अञ्जनीकुमार झा सिआईबी प्रमुख नवराज सिलवालसँग बादविवादमा उत्रिए । त्यतिबेला धेरै चिकित्सकहरूको आक्रोश सिआईबी र उसलाई सघाउने काउन्सिल पदाधिकारीमाथि थियो । काउन्सिलका तर्फबाट अनुसन्धानमा संलग्न डा. देव हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदको चुनावी तारो बन्न पुगे र, चुनावी अभियानका क्रममा प्रतिद्वन्द्वीले ‘अप्रेसन क्वाक’ मा सिआईबीलाई सघाएको भन्दै प्रचार गरे । र, त्यो प्रचारले चुनावी नतिजामा धेरै अर्थमा भूमिका खेल्यो ।

काउन्सिलका नयाँ सदस्यः को कस्ता

डा. कालुसिंह खत्रीः सदस्यमा सबैभन्दा बढी मत पाएर बिजयी हुने कालुसिंह खत्री दाँत रोगका डाक्टर हुन् । युनिभर्सल मेडिकल कलेज भैरहवाबाट बीडीएस गरेका खत्रीले चीनबाट एमडीएस गरेका छन् । हाल उनी वीर अस्पतालमा कार्यरत छन् । 

डा. सुनिलकुमार शाह :  अर्का सदस्य डा. सुनिलकुमार शाह भरतपुर अस्पतालमा मानसिक रोगका विशेषज्ञका रुपमा कार्यरत छन् । शाहले एमबीबीएस तह कलेज अफ मेडिकल साइसेन्ज भरतपुर र विशेषज्ञ तह (एमडी) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट पुरा गरेका हुन् । 

डा. अंकुर शाह : काउन्सिलमा एक कार्यकाल सदस्यका रुपमा बिताइसकेका डा. अंकुर शाह बानेश्वको एभरेस्ट अस्पतालका निर्देशक हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेका शाहले रोडियोलोजीमा भारतको मणिपाल कलेजबाट एमडी गरेका थिए । 

डा.कृष्ण खरेल : २३ सय ९३ मत ल्याएर विजयी भएका काउन्सिल सदस्य डा. कृष्ण खरेल हाडजोर्नीका डाक्टर हुन् । बुटवलको तिलोत्तमा अस्पतालमा निर्देशक खरेलले एमबीबीएस बंगलादेशबाट पास गरेका हुन् । खरेलले एमएस चीनबाट पास गरेका हुन् । 

डा. शिवजी पौडेल : काउन्सिलमा सदस्यका रुपमा एक कार्यकाल बिताइसकेका डा. शिवजी पौडेल भरतपुर क्यान्सर अस्पतालमा रेडियोअंकोलोजिस्टका रुपमा कार्यरत छन् । पौडेलले एमबीबीएस र एमडी चीनबाट गरेका हुन् ।

डा. विश्वराज दवाडी: सदस्यमा बिजयी काउन्सिलका अर्का सदस्य डा. विश्वराज दवाडी एमडीजीपी डाक्टर हुन् । दवाडीले बंगालदेशबाट एमबिबिएस पुरा गरेका हुन भने विशेषज्ञ तहको पढाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट पुरा गरेका हुन् । हाल उनी कुनै पनि अस्पतालमा आबद्ध छैनन् । 

डा. खुस्बु प्रिया मिश्र : काउन्सिलको सदस्य पदमा निर्वाचित एक मात्र महिला सदस्य हुन् खुस्बु प्रिया मिश्र । इन्टरनल मेडिसिनमा झापाको दमक अस्पतालमा कार्यरत मिश्रले एमबीबीएस काठमाडांै मेडिकल कलेज जोरपाटीबाट गरेकी हुन् । उनले एमडी वीरगञ्जको नेशनल मेडिकल कलेजबाट गरेकी हुन् । 

डा. मनोजमान श्रेष्ठ : बिजयी सदस्यहरू मध्ये सबैभन्दा कम १८ सय ८८ मत पाएका डा. मनोजमान श्रेष्ठ हुन् । श्रेष्ठ रेडियोलोजिष्टका रुपमा कार्यरत छन्् । उनले एमबीबीएस र एमडी चीनबाट गरेका हुन् । 

Last modified on 2017-09-21 07:21:47

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts