यो वर्ष डेंगुका संक्रमित १२ सय पुगे, सजग रहन सरकारको आग्रह



Download our app to get more features

काठमाडौं, २६ असार । अघिल्लो वर्ष महामारीको रुप लिएको डेंगु भाइरसको संक्रमण यसपाली पनि देखिएको छ । यो वर्ष हालसम्म १ हजार १ सय ९२ जना डेंगुका संक्रमित पहिचान भएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा ९२ जनालाई संक्रमण भएको जनाएको छ । 

उपत्यकामा डेंगुको संक्रमण न्यूनिकरण गर्न भन्दै महाशाखाले उपत्यकाका २२ वटा स्थानीय तहसँग अन्तक्र्रिया पनि गरेको छ । अघिल्लो वर्ष डेंगुको प्रकोपमा परेका सबै जिल्ला र स्थानीय तहलाई डेंगु संक्रमण बढ्न नदिने रोकथामका उपायहरु अपनाउन परिपत्र गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिए ।

महाशाखाले हरेक हप्ताको शुक्रवार १० बजे सबै सरकारी कार्यालयमा कार्यालय सफाइ गर्ने अभियान पनि सञ्चालन गरेको मरासिनीको दावी छ । यद्यपी कतिपय सरकारी कार्यालयमा भने सफाइ अभियान नचलेको पाइएको छ । 

महाशाखाले सन् २०२३ मा हुनसक्ने डेंगु संक्रमणको जोखिम कम गर्न कार्ययोजना नै बनाएको बताएको छ । त्यस अन्तर्गत डेंगु सार्ने लामखुट्टेलाई खोज्ने नष्ट गर्ने लगायतको अभियान छ । महाशाखाका अनुसार डेंगुको सम्भावित संक्रमितलाई पहिचान गर्नका लागि सरकारसँग केही समयलाई पुग्ने किट भएको र बाँकीका लागि खरिद प्रकृया अघि बढेको छ । 


के हो डेंगु ? 
डेंगु लामखुट्को टोकाईबाट सर्ने एकप्रकारको संक्रमण हो ? केही अवस्थामा डेंगु संक्रमितबाट लामखुट्टेलाई पनि डेंगु सर्छ । डेंगुको संक्रमण पछिल्लो दुईदशकमा विश्वमा १० गुणाले बढेको छ । सन् २००० मा विश्वमा ५ लाख मानिसलाई डेंगु संक्रमण भएकोमा सन् २०१९ सम्म आउँदा वार्षिक संक्रमितको संख्या ५० लाख नाघेको छ । डेंगुको ठोस उपचार विधि छैन । लामखुट्टेको टोकाइबाट जोगिएर सजगता अपनाउन सकिन्छ । संक्रमण भइहालेमा कतिपयलाई लक्षण नै नदेखिइ ठीक हुने भएपनि कतिपयलाई लक्षण देखिएर बिसन्चो हुने र जटिल अवस्था समेत हुने गरेको छ ।

 नेपालमा यो वर्ष धरानमा डेंगुको संक्रमणबाट एकजना वयस्कको मृत्यु भइसकेको छ । असार, साउन र भदौसम्म पनि डेंगु संक्रमणको जोखिम उस्तै रहन्छ । नेपालमा करिब प्रत्येक ३ वर्षमा डेंगुको महामारी हुने गरेको देखिएको छ । डेंगु संक्रमित पोथी लामखुट्ेको टोकाइबाट हुने डेंगुको खास लक्षण हुँदैन । ज्वरो आउने, जिउ दुख्ने, बान्ता आउने, निधार दुख्ने, शरीर गल्ने जस्ता लक्षण हुने गर्दछन् । कोभिड १९ मा यस्तै डेंगुमा पनि रोगको उपचार नभएर लक्षणको उपचार हुने गरेको छ । लक्षण अनुसार चिकित्सकले दुखाई कम गर्ने, ज्वरो कम गर्ने जस्ता औषधि दिएर उपचार गर्ने गर्दछन् । डेंगु संक्रमण कम्तिमा एकहप्तादेखि २ हप्तासम्म रहने गर्दछ । 

डेंगुबाट  जोगिन घरआसपासमा पानी जम्ने खाल्डाखुल्डी नराख्न, बासी पानी जम्ने गमलाहरु सफा गर्नुपर्दछ । बिहान र दिउसो पोथी लामखुट्टेले डेंगु सार्ने गर्दछ । यसबाट जोगिन जिउ ढाक्ने लुगा लगाउने, लामखुट्टेको धुप पाल्ने, झुल हाल्ने काम गर्नुपर्दछ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts