बेहोस बच्चा बोकेर रोइरहेकी आमाको महानगरका प्रमुखले उद्धार गरेपछि...



Download our app to get more features

पथरी (मोरङ), ६ भदौ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । 
यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को खदरा टोलमा शनिबार भेटिइन । महानगरका प्रमुख भीम पराजुलीले उनको  सोधिखोजी गरे ।  उनी बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लागे । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाए ।  

स्थानीय रुन्तीदेवी ऋषिदेव अर्थ अभावका कारण बच्चाको उपचार गर्न सकिरहेकी थिइन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा उनी परिन् ।  आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामाछन् । उनका श्रीमान् रिक्साचालक हुन् । उनी  पनि केही समयदेखि बिरामी छिन् । 

जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित हुनुभयो । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरिदिए । बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भने – “भगवान्ले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाएका रहेछन् । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।” 

प्रमुख पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आजसमेत बच्चाको स्वास्थ्यस्थिति बुझ्न सुरक्षा अस्पताल पुगे । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासमा डा रम्भा देवले अधिकतम प्रयास गरे ।  अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको डा देवले जानकारी दिए ।  प्रमुख पराजुलीले बच्चा पूर्णरुपमा स्वस्थ नभएसम्म आर्थिक सहयोग गर्ने आश्वासन दिए । रासस 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts