नेपाल क्यान्सर हस्पिटलले थाल्यो आवाज प्रत्यारोपण



Download our app to get more features

काठमाडौं, १२ साउन । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले घाँटीको क्यान्सरका कारण आवाज गुमाएका बिरामीलाई कृत्रिम यन्त्र प्रत्यारोपणमार्फत आवाज पुनस्र्थापना गर्न थालेको छ । भारतका क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावको टोलीले निर्माण गरेको ‘भ्वाईस बक्स डिभाइस’ प्रत्यारोपणमार्फत हस्पिटलले आवाज पुननस्र्थापना गरेको हो । डा. रावले यस यन्त्रको नाम ॐ दिएका छन् । 

विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसर पारेर बिहीबार हस्पिटलले टाउको तथा घाँटी क्यान्सर विशेषज्ञ डा. दिनेश यादवको नेतृत्वको टोलीले नुवाकोटका ६० वर्षीय र काठमाडौंका ५० वर्षीय पुरुषमा ॐ यन्त्र प्रत्यारोपण गरेको हो । दुवै जना घाँटीको शल्यक्रियापछि आवाजविहिन भएका थिए । कृत्रिम भ्याइस डिभाइस प्रत्यारोपणपछि उनीहरु बोल्न सक्ने भएका छन् । 

डा. रावले उक्त डिभाइस सुपथ मुल्यमा तयार गरेको बताए । ‘ॐ’ नाम दिइएको यो यन्त्र नेपालीका लागि सुपथ मूल्यमा उपलब्ध गराउने डा. रावको भनाइ छ । बिरामीले यस यन्त्रको एक सय रुपैयाँ मात्र तिरे हुनेछ । तर शल्यक्रियाका लागि छुट्टै शुल्क लाग्नेछ । भारतको हेल्थ केयर ग्लोबल क्यान्सर सेन्टरमा कार्यरत डा. रावले गरीब तथा सर्बसाधारणलाई लक्षित गरी सुपथ मुल्यमा यन्त्र बनाएको बताए । 

क्यान्सर अस्पतालमा आएका बिरामी मध्ये करिब ७ प्रतिशत टाउको तथा घाँटी क्यान्सरका बिरामी हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए । उनका अनुसार सुर्ती तथा सुर्तीजन्य पदार्थका सेवनका कारण ८० प्रतिशतमा टाउको तथा घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ । यस अन्तरगत ब्रेन ट्युमर र थाइराइड क्यान्सर नपर्ने डा. श्रेष्ठको भनाइ छ । 

के हो भ्वाइस बक्स डिभाइस
घाँटीको क्यान्सरका बिरामीको शल्यक्रियाका क्रममा कहिलेकाही स्वरयन्त्र फाल्नु पर्ने हुनसक्छ । शल्यक्रियापछि बिरामीको क्यान्सर निको भए पनि आवाज भने हराएर जान्छ । स्वर हराएका बिरामीलाई लक्षित गरी करिब दुई वर्ष अघि डा. रावले भ्वाइस बक्स डिभाइस तयार पारेका थिए ।

यस्तो डिभाइस बनाउने डा. राव पहिलो व्यक्ति भने होइन् । यस्तै किसिमको डिभाइस बजारमा सहजै पाइने र जसको मुल्य पाँच सय डलरसम्म पर्छ । ‘हामीले बनाएको डिभाइसको मुल्य एक डलर मात्र राखेका छौं,’ डा. रावले भने ‘पाँच सय डलरसँग एक डलरको तुलना गर्न मिल्दैन, जुन गरीब क्यान्सरका रोगीका लागि बरदान साबित हुनेछ ।’ डा. रावले क्यान्सर अस्पतालहरूमा उक्त डिभाइस निःशुल्क उपलब्ध गराएको बताए । यो डिभाइसले प्रत्यारोपणपछि एक वर्षसम्म काम गर्छ । त्यसपछि पुनः परिर्वतन गर्नु पर्छ । तर, हरेक पटक यन्त्र परिर्वतन गर्दा शल्यक्रिया भने गर्नु पर्दैन । 
 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts