जता सुनौला हजार दिन, 'त्यहि कुपोषण'



Download our app to get more features

श्याम खतिवडा ,चरिकोट ११,साउन । कालिञ्चोक गाउँपालिका वडा न. १ क्याङपोल निवासी ४६ वर्षिया आइतमायाँ थामी ६ सन्तानकी आमा हुन् ।

उनका २ सन्तान २ वर्ष मुनीका छन् । घर नजिकैको वडा कार्यालय भएको ठाँउमा सुनौलो हजार दिन भएको ठुलो बोर्ड छ । महिला गर्भावस्था भएदेखी बच्चा जन्मेको २ वर्षसम्म कसरी स्वस्थ रहन सकिन्छ , गर्भवती भएका बेला कस्तो खानेकुरा खाने भन्ने चेतनामुलक शन्देसले बोर्ड पुरै भरिएको छ । चेतनाका लागी आमा र बच्चाको स्वास्थ्यमा ख्याल गर्नुपर्ने कुरा सँगै पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने चित्रले सुसज्जीत भएको बोर्ड क्याङ्पोलबासीलाई हेर्नका लागि मात्र भएको स्थानीयहरुले बताएका छन् । आइतमायाँका दुइवटै बच्चाहरुलाई कुपोषणको समस्याले ग्रस्त पारेको छ । जसो तसो ज्याला मजबुरी गरेर ज्यान पालेका छौँ उनले भनिन् पोषण भनेको त हामीलाई थाहानै छैन । तैपनि पोषिलो खानेकुरा खानुपर्छ भन्ने चाँही सुनेको उनले बताइन् । माछामासु र दहि दुध त उनको परिवारका लागि सपनामात्रै हो । 
के हो सुनौला हजार दिन ?
कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरुलाई लक्षित गरी युएसएआइडीको  लगानीमा ६ वर्षदेखी यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेन अन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले भने हेलेन केलर इन्टरनेस्नलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात ७ सय ३० दिनको अवधीलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यत्रममा सेभ द चिल्ड्रेन मार्फत दोलखाको ग्रामिण विकास टुकी संघ सँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेस्नलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिललामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भैरहेको छ ।  


कालिञ्चोकको क्याङपोलमा पोषण र स्वास्थ्यको क्षेत्रमा काम गर्ने सुआहारा परियोजनाले समुह पनि गठन गरेको छ । उक्त समुहमार्फत सुआहाराले सुनौला हजार दिन कार्याक्रम सञ्चालन गरेको पनि बषौँ बितिसक्यो । रेडियोमा नाम सुनेको सम्झिदै आइतमायाँले केही वर्ष अघि एकपटक कुखुराको चल्ला ल्याएर दिएको सम्झदै भनिन् ‘चल्ला दिएको थियो तर एक महिना नबित्दै सबै  मरे ’ । त्यसपछि कहाँ के कार्यक्रम आँउछ कति खर्च हुन्छ , गाउँलेहरुले के पाँउछन उनलाई केही थाहा छैन । आइतमायाँ एउटी प्रतिनिधी पात्र मात्र हुन् । दोलखामा उनिजस्ता सयाँैको संख्यामा पिछडीएका तथा दलित, सिमान्तकृत समुदायका नागरिकहरु यस कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् । कालिञ्चोकको क्याङ्पोलमा झण्डै २ सय घर सिमान्तकृत थामी समुदायको मात्र बसोबास रहेको छ तर सबैको एउटै समस्या आइतमाँयाको जस्तै हो ।

सुआहारा परियोजनाले बिगत ६ वर्षदेखी दोलखामा पोषण र स्वास्थ्यको क्षेत्रमा करोडौँ रकम खर्चिएर काम गरिरहेको छ । तर कुपोषणको समस्या झन जटिल बन्दै गैरहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउछन् । कुपोषणले विपन्न र सिमान्तकृत समुदायका बालबालिकाहरुको शारिरीक र मानशिक विकास हुन सकेको छैन । स्थानीय स्तरमा समुह गठन गरेर गर्भवती र २ वर्षमुनिका वालबालिकाहरुका लागि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरिएको छ तर पिछडिएका विपन्न र दलित समुदायका नागरिकहरुलाई उक्त कार्यक्रमबारे थोरैलाईमात्र जानकारी छ । ब्यवस्थित रुपमा कार्यक्रम सञ्चालन हुन नसक्दा लक्षित बर्गका नागरिकहरुले फाइदा लिन सकेका छैनन ्। सुआहाराको कार्यक्रम दताको लगानी बालुवामा पानि भनेजस्तै भएको सरोकारवालाहरु बताउछन्।  खासगरी भुकम्प पछि कुपोषणले अझ धेरै जरो गाढेको र जिम्मेवारी पाएको निकायले पनि पारदर्शी ढंगले काम गर्न नसकेका कारणपनि कुपोषणको समस्या समाधान नभएको स्वास्थ्यकर्मी समेत रहेका ट्रेड युनियन कंग्रेस दोलखाका  जिल्ला अध्यक्ष श्याम खड्काको भनाई छ । 
सुआहाराले पहिलो चरणको पाँच बर्षे कार्यक्रम सञ्चालन गरिसकेको छ । पहिलो चरणको कार्यक्रम सम्पन्न गरेपछि अहिले दोलखामा सुआहारा दोस्रो चलिरहेको छ । पहिलो चरणमा ६ करोड ४ लाख ३९ हजार ८ सय ६० रुपैयाँ खर्च भएको कार्यक्रमका जिल्ला संयोजक किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुआहारा अन्तर्गत गत आर्थिक वर्षमात्र १ करोड २८ लाख बजेट खर्चगर्न सुआहारा दोस्रोलाई  अख्तियारी आएपनि सबै रकम खर्च हुन सकेन । उक्त रकम मध्ये मातृशिषु तथा पोषण सम्बन्धी खर्च गर्नुपर्ने ६७ लाख ४२ हजार बजेट फ्रिज भएको संयोजक श्रेष्ठको भनाई छ । यति ठुलो परिमाणको बजेट खर्च हुँदा पनि जिल्लामा कुपोषणको समस्या समाधान नहुनु लज्जास्पद भएको नागरिक अगुवाहरु बताउँछन् । 
झण्डै ५ सयको संख्यामा कुपोषणका विरामी 
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार अहिले पिन जिल्लामा ४ सय भन्दा धेरै कुपोषणका विरामी भएको बताइएको छ । कार्यालयका हेल्थ असिस्टेन्ट एवं तथ्याङ्क शाखाका कर्मचारी भोजराज जोशीका अनुसार १५ जना बालबालिकाहरु अहिलेपनि शिघ्र कुपोषणको समस्यामा छन भने १ सय ९० जना बालबालिका र १ सय ८० भन्दा धेरै सुत्केरी तथा गर्भवती महिलाहरु कुपोषणबाट ग्रस्त छन् । यो बाहेक चरिकोट अस्पतालको तथ्याङ्कमा चेकजाँच गराउन आएका मात्रै ७० जना विरामीको विरिण रहेको अस्पताल प्रशासनले जनाएको छ ।


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र प्रसाद साहले कुपोषण क्रमिकरुपले कम भएको बताएपनि गैरसरकारी संस्थाको काम गराइप्रती असन्तुष्टी जनाए । उनले गत आर्थिक वर्षमा जे जसो भएपनी अब तत्काल सरोकारवालाहरुसँग आबश्यक छलफल गरी नयाँ योजनाका साथ अघि बढ्ने बताएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सुहारा दोस्रोको बजेट फ्रिज प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सुआहाराको उक्त बजेट फ्रिज भएको आफुलाई जानकारी नभएको स्पस्ट पार्दै तत्काल स्वास्थ्य कार्यलयसँग आबश्यक समुन्वय गरी समाधानको उपाय खोज्न आबश्यक  निर्देशन गर्ने बताएका छन् । 
 

Last modified on 2017-07-26 21:52:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts