जाजरकोटका स्वास्थ्य संस्था रित्तै, न स्वास्थ्यकर्मी न त औषधि



Download our app to get more features

जाजरकोट, ५ साउन । पटकपटक महामारी झेलिसकेका यहाँका बासिन्दा स्वास्थ्यका दृष्टिले उच्च जोखिममा रहे पनि रोकथामको आवश्यक तयारी शून्य छ । गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित उनीहरू औषधि र स्वास्थ्यकर्मी नभेटेरै हैरान छन् । 

ग्रामीण क्षेत्रका अधिकांश स्वास्थ्यकर्मी परीक्षा, बिदा, तालिम, काजलगायत बहानामा हिँडेपछि स्वास्थ्य संस्था रित्ता छन् । कतिपय स्वास्थ्यकर्मी लोकसेवा आयोगले लिने अनमी, स्वास्थ्य सहायक, अहेबलगायत परीक्षाको तयारीका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौंतिर लागेका हुन् । यतिखेर जिल्लाका ३१ स्वास्थ्यचौकी र ३ प्राथमिक उपचार केन्द्रमा कार्यरत २ सय ५० मध्ये आधाजति कर्मचारी छैनन् । स्वास्थ्यचौकी, पैंकका स्वास्थ्य सहायक रामसिंह मण्डल ४ सातायता कार्यालयमा हाजिर छैनन् । ६ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि उक्त चौकी करारकी अनमीको भरमा छ । 

स्वास्थ्यसेवा प्रवाहमा बढ्दो हेलचेक्य्राइँले जिल्लामा विगतमा विकराल देखिएका झाडापखालालगायत महामारी फेरि दोहोरिन सक्ने स्थानीय अमृत वलीले बताए । ‘न औषधि छ न त जाँच गर्ने स्वास्थ्यकर्मी,’ उनले भने, ‘हाम्रा लागि त गुणस्तरीय स्वास्थ्य सेवा आकाशको फल भएको छ ।’ निमित्त जिल्ला स्वास्थ्य प्रमुख रामपुकार साह भने स्वास्थ्यकर्मीको अभाव नरहेको दाबी गर्छन् । ‘कुनै पनि स्वास्थ्य संस्थामा अभाव छैन, करारले भए पनि सेवा दिने गरेका छन्,’ उनले भने ।

जिल्ला अस्पताल र ग्रामीण स्वास्थ्य संस्थामा भाइरल ज्वरो, आउँ र टाइफाइडका बिरामी बढी आउने गरेको उनले जानकारी दिए । निमित्त प्रमुख साहले यस्तो दाबी गरे पनि जिल्ला अस्पताललगायत अधिकांश स्वास्थ्य संस्थामा पर्याप्त औषधि छैन । 

परीक्षणपछि स्वास्थ्यकर्मीले बिरामीलाई औषधि छैन भन्दै निजी मेडिकल पठाउने गरेका छन् । मुख्य गरी एमोक्सिसिलिन, सिटामोल, भुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरप, आर एल क्योमक्स, ब्रुफिन, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिकै अभाव छ । प्राथमिक स्वास्थ्यकेन्द्र दल्लीमा १२ प्रकारका औषधि सकिएको डा. सञ्जयकुमार यादवले बताए । जिल्ला अस्पतालमा ज्वरो उपचारका लागि आएका भेरी नगरपालिका–३ का सुनील थापाले ब्रुफिन र क्योमक्स मेडिकलबाट किनेर खानुपरेको सुनाए । जिल्ला अस्पतालकै डा. भूपेन्द्रप्रकाश मल्ल पनि औषधि सकिएको स्विकार्छन् । ‘दैनिक १ सयभन्दा बढी भाइरल ज्वरो, टाइफाइडलगायत रोगका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर, औषधि छैन ।’ ५० शय्याको अस्पतालमा प्रसूति सेवाका लागि आवश्यक गज, कटन, गुलोब्स र आरएलसमेत अभाव भएको एक स्वास्थ्यकर्मीले बताइन् । औषधि खरिदका लागि वार्षिक बजेट नै कम आउने गरेको स्टोरकिपर लमबहादुर खड्काको भनाइ छ । ‘कतिपय स्वास्थ्य संस्थाले ढुवानी गाह्रो भएको भन्दै लैजान मानेका छैनन्,’ उनले भने, ‘जिल्लाको स्टोरमा छिटपुट अभाव भए पनि धेरैजसो औषधिको स्टक छ । आरएल स्लाइन, मेट्रो इन्जेक्सन पुग्ने गरी छ ।’ 

जिल्लामा स्टक रहेको बताइए पनि ग्रामीण क्षेत्रका बासिन्दा भने स्वास्थ्यकेन्द्रबाट रित्तै हात फर्काइन्छन् । उनीहरू निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य छन् । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि नि : शुल्क उपलब्ध गराउने सरकारी घोषणा छ । तर, अहिले करिब ५० प्रकारका औषधि मात्र उपलब्ध रहेको स्टोरकिपर खडकाले बताए । उनले भने ‘अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइटलगायत दर्जनजति औषधि आपूर्ति नै भएको छैन,’।

 

(आजको कान्तिपुर दैनिकमा भीमबहादुर सिंहले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts