उपचार गरि निको बनाइदिने भन्दै बन्धक, अदालतले सुनायो ७ वर्षको सजाय



Download our app to get more features

काठमाडौं, ३० असोज । धार्मिक विधिबाट उपचारका नाममा यौन शोषण गरेको भन्दै एक जना लामा गुरुलाई अदालतले जेल साजय सुनाएको छ ।

गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । 

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । 

लामाले त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । 

ट्रेकिङ व्यवसायी लामाले आफूमा भगवानको अवतारको बास भएको भनी सुरुमा काठमाडौंको गैरीधारामा झारफुक लगायतका काम गरेका थिए । भक्तले दिएको चन्दा र भेटी संकलन गरी दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा स्थापना गरे । उनले त्यहीँबाट आफ्नो नियमित कर्म जारी राखे ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम (परिवर्तित नाम) लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ र्पुयाए । प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए । कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । फर्पिङ प्रथमले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरेका थिए ।

लामाले गुम्बामा एक जना मात्रै नभई अन्य युवतिहरुलाई पनि उपचारका नाममा यौन शोषण गरेको आरोप लागेको छ ।

उपचारका लागि आएका व्यक्तिलाई उपचारकर्ताबाट धोका र विश्वासघात भएको भन्दै उच्च अदालतले ‘विवाह नै भएको अवस्थामा पनि पत्नीको मञ्जुरी रहेनछ भने करणीसम्बन्धी कार्य जबर्जस्ती करणी नै ठहर्छ’ भनेको छ । वर्षौंपछि उजुरी परेको भन्दै टुल्कु लामाका कानुन व्यवसायीहरूले हदम्यादको कारण जबर्जस्ती करणी ठहर्न नसक्ने दाबी गरेका थिए । फैसलाले त्यसको खण्डन गरेको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-10-18 11:01:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts