स्वास्थ्यका उच्च अधिकारीहरुको विदेश लर्को, हप्तामै ३० जनाको ओहोरदोहोर

देशमा काम भएन पैसा सक्न विदेश 



Download our app to get more features

काठमाडौँ, २ साउन । चारजना व्यवस्थापिकाका सांसद, कानुन मन्त्रालयका एक सहसचिव, अर्थ मन्त्रालयका उपसचिव र महिला बालबालीका मन्त्रालयका उपसचिव सहित १० जनाको टोलीलाई झण्डै दुइ साता कोरिया भ्रमण गराएर स्वास्थ्य मन्त्रालयका तीन उच्च पदाधीकारी गत शुक्रवारमात्र नेपाल आइपुगेका छन् । उनिहरु नेपाल आइपुगेकै दिन  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तको नेतृत्वमा १५ सदस्यीय टोली सिंगापुर पुगेको छ । यतिमात्र नभएर त्यसको एकदिन अघि मन्त्रालयकै तीन जनाको उच्च अधिकारीको टोली दक्षिण अफ्रिकाको भ्रमणमा गएको छ ।

एक हप्ताको बीचमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी र कर्मचारी गरी करिब ३० जना देश विदेशको आहोर दाहोरमा व्यस्त छन् । आर्थिक वर्षको अन्तमा व्यवस्थापिका संसद महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रन्जुकुमारी झा, सोही समितिका सदस्यहरु जीवन कुमार परियार, आशा कोइराला र रत्नादेवी गुरुङको टोलीलाइ लिएर सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनी बीमा सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया पुगेका थिए । उनिसँगै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख भोगेन्द्र डोटेल र अनुगमन मुल्यांकन शाखाका प्रमुख दिपेन्द्ररमण श्रेष्ठ दुईहप्ते भ्रमणपछि शुक्रवार नेपाल आइपुगेका हुन् । 

सोही टोलीमा जाने ‘सौभाग्य’ कानून मन्त्रालयका सहसचिव लिलादेवी गड्तौला, अर्थ मन्त्रालयका उपसचिव आनन्द कुमार भट्टराई, महिला बालबालिका समितिका उपसचिव कान्छा दुलालले पनि पाए । टोली ४ जुलाईदेखि १३ जुलाईसम्म कोरियामा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रमको लागि गएको स्वास्थ्य मन्त्रालय छात्रवृत्ति शाखाले जनाएको छ । 

 दुई हप्ताको कोरिया भ्रमण पछि शुक्रबार नेपाल फर्किएको सांसद सहितको स्वास्थ्य मन्त्रालयका टोलीको नामावली

 

कोरियाको टोली ‘उच्चस्तरीय छलफलमा’ हँुदाकै बखत मन्त्रालयकै अर्को टोली दक्षीण अफ्रिका उडेको थियो । अफ्रिका गएको टोलीमा स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी र युएसएआइडीका प्रतिनिधि प्रकाश पन्त रहेका छन् । सो टोली कुन कार्यक्रमकोलागि गएको भन्ने खुलेको छैन ।  

अफ्रिकाको टोली त्रिभूवन विमानस्थलबाट उडेको भोलिपल्टै महानिर्देशक पन्तको नेतृत्वमा १५ सदस्य टोली सिंगापुर उडेको थियो । सूर्तिजन्य पदार्थ सम्बन्धी कार्यक्रमको लागि भन्दै उडेको सो टोली एकहप्ता बढी त्यहाँ रहने गरि गएको हो । १५ जुलाई (गत शनिवार) बाट सुरु हुने भनिएको सो कार्यक्रम २१ तरिखसम्म संचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
यसैगरी १५ दिन अघि मन्त्रालयकै तालिम महाशाखाका प्रमख श्रीकृष्ण भट्टको नेतृत्वमा एक टोली इन्डोनेसीया पुगेर फर्किएको थियो भने आगामी जुलाई २ देखी जापानमा हुने पुनर्निर्माण सम्बन्धी कार्यक्रमको लागि भन्दै नीति योजना महाशाखाका प्रमुख भोगेन्द्र डोटेल अन्य दुईजनालाई लिएर जाने निश्चित भइसकेको छ । सो टोलीमा मन्त्रालयका रमेश अधिकारी, र एनएचएसपी कार्यक्रमका एक कर्मचारी जाने तयारी भइसकेको छ । 

आर्थिक वर्षको अन्तमा मन्त्रालयको बजेट सक्नको लागि विदेश भ्रमणको ताँती लागिरहँदा मन्त्रालयका जिम्मेवार अधिकारीहरु भने नियमित प्रकृया भन्दै पन्छने गरेका छन् । मन्त्रालयका प्रवक्ता समेत रहेका डोटेलले विदेश जाने आउने नियमित प्रकृया भएको जवाफ दिए । “यो नियमित प्रकृया हो ।” उनले हाम्रो डाक्टरसँग भने “अहिले आर्थीकवर्ष हाम्रो मात्र सकिने बेला हो इडिपी पार्टनर र विदेशीहरुलाइ हाम्रो आर्थीकवर्ष सँग मतलब हुँदैन, यो संयोग मात्र मिलेको हो ।”  उनले आफु गएको कार्यक्रम धेरै अघि तय भएको र नेपालमा भएको चुनावले गर्दा पछि सरेको दावी गरे । 

शुक्रबार नै सिंगापुर गएको मन्त्रालयका १५ जना अधिकारीको नामावली

 

देशमा काम भएन पैसा सक्न विदेश 

सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रणको लागि छुट्याइएको रकम खर्च गर्न नसकेपछि सो कार्यक्रम सफल रुपमा कार्यन्वयन गरेका देशहरुको अबलोकन भ्रमण भन्दै जम्बो टोली सिंगापुर पुगेको हो । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई सो कार्यक्रमको लागि ८ करोड रुपैयाँ दिइएको थियो । त्यही कार्यक्रम हुन नसकेपछि १५ जनाको जम्बो टोली लिएर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पन्त, सूचना केन्द्रका निर्देशक बद्री बहादुर खड्का सहितको टोली विदेश गएको हो । 

Last modified on 2017-07-21 16:14:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts