हृदयाघातबाट बच्न यसो गरौँ



Download our app to get more features

विश्वमा हुने मानव मृत्युमध्ये २५ देखि ३५ प्रतिशत कारण हृदयाघात रहेको पाइन्छ । यो सबैभन्दा धेरै संख्यामा मानिसहरूको मृत्यु हुने रोग पनि हो । मानिसलाई लाग्ने मुटुसम्बन्धी विभिन्न रोगमध्ये सबैभन्दा खतरनाक रोग हो, हृदयाघात । कुनै पनि समयमा यो रोगले आक्रमण गर्न सक्ने हुनाले सम्भावित व्यक्ति या आफन्तले विशेष सजगता अपनाउनु आवश्यक हुन्छ । हृदयाघात हुने सम्भावना र त्यसबाट बच्ने उपायबारे मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका सुझाब यस्ता छन् :

हृदयाघातबाट बच्ने उपाय
यो रोग अव्यवस्थित जीवनशैलीका कारण धेरैलाई लाग्ने गर्छ । त्यसैले हृदयाघातबाट बच्ने सहज उपाय भनको जीवनशैलीलाई स्वस्थ बनाउनु हो । नुन, चिल्लो र कोलेस्ट्रोल कम भएको हरियो सागपात, गेडागुडी र फलफूल बढी भएको आहार सेवन गर्नुपर्छ । नियमित व्यायाम, धूम्रपान त्याग, शारीरिक तौल नियन्त्रण आवश्यक हुन्छ । त्यस्तै, उच्च रक्तचाप कोलेस्ट्रोल र मधुमेह नियन्त्रण, मानसिक तनाव मुक्ति आदि स्वस्थ जीवनशैली पद्धतिबाट धेरै हदसम्म हृदयाघातको रोकथाम  गर्न सकिन्छ ।

हृदयाघात ज्यानमारा रोग हो । छाती दुख्न सुरु भएको समयलाई हृदयाघातको सुरु भनी मान्नुपर्छ । समयमै उपचार भए मुटुलाई जोगाउन पनि सकिन्छ, तर ढिला भइसकेपछि केही गर्न सकिँदैन । मुटुको मांसपेशी अक्सिजन र ग्लुकोजविना पनि केही समय बाँच्न सक्छ ।

छाती दुख्न सुरु भएको एक घन्टाभित्र रगतको थेग्रो जमी बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा अन्य उपाय एन्जियोप्लास्टीबाट खोल्न सकियो भने मुटुलाई पूर्ण रूपमा जोगाउन सकिन्छ । छाती दुखेको ६ घन्टा नाघिसकेपछि जति ढिलो हुन्छ, त्यति नै मुटु क्षतिग्रस्त हुन्छ । एकपल्ट मुटुको मांसपेशी मरिसकेपछि त्यसलाई फर्काउन सकिँदैन । मुटु सदाका लागि कमजोर हुन्छ र हार्टफेल हुन्छ ।  एकपल्ट हृदयाघात भएको मान्छेले जीवनभरि औषधि सेवन गर्नुपर्छ । हृदयाघात जीवनभरि दोहोरिन सक्छ । त्यसैले हृदयाघातबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्छ ।

मुटुरोगका लक्षण

छातीको बीच भागमा धेरै पीडा हुनु हृदयाघातको प्रमुख लक्षण हो । यस्तो पीडा सहन नसकिने गरी पनि हुन्छ । यो पीडा बायाँ पाखुरा, चिउँडो, घाँटीतर्फ बिस्तारै सर्दै जान्छ । छातीको पीडासँगसँगै वाकवाकी लाग्ने र उल्टी पनि हुने हुन्छ । त्यस्तै, चक्कर लाग्ने तथा धेरै पसिना पनि आउन सक्छ । यही कारणले श्वासप्रश्वासमा गाह्रो हुनुका साथै दम पनि बढ्छ ।

आजको नयाँ पत्रिकाबाट

Last modified on 2017-06-14 16:56:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts