क्लिनिकको नाममा औषधि बेचेपछि तालाबन्दी



Download our app to get more features

पर्सा, १६ वैशाख । पर्साका विभिन्न ठाउँमा हेल्थ क्लिनिकका नाममा औषधि बिक्री गरिंदै आएको पाइएको छ । औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जले गरेको अनुगमनमा त्यस्ता ४ वटा क्लिनिक फेला परेका छन् । 

वीरगन्ज उपमहानगरपालिका १० मा सञ्चालनमा रहेको उमा हेल्थ क्लिनिक, गहवाको शुभम हेल्थ क्लिनिक, पोखरिया नगरपालिकामा रहेका इशा मेडिकल हल र आदित्तीय स्वास्थ्य क्लिनिकले औषधि बिक्री गरेको पाइएको कार्यालय प्रमुख भाग्यनारायण सिंहले बताए । ‘ती चारवटै क्लिनिकमा ताला लगाइएको छ,’ उनले भने, ‘क्लिनिकमा औषधि बिक्रीवितरण गर्न पाइँदैन ।’ विगत १० दिनदेखि कार्यालयले वीरगन्ज र आसपासका क्षेत्रमा अनुगमन तीव्र पारेको छ । करारमा आएका थप जनशक्तिले पछिल्ला १० दिनयता ५२ वटा औषधि पसल निरीक्षण गरेका छन् । वैशाख ३ मा औषधि व्यवस्था विभागले अनुगमन र निरीक्षणका लागि ४ जना निरीक्षक गरी ८ कर्मचारी पठाएको थियो । 

इजाजत पाएका व्यवसायी औषधि पसलमा आफैं उपस्थित नहुने, लागूऔषध तथा मनोद्दीपक औषधिको बिक्रीविवरण नराख्ने, एक प्रणालीको इजाजत लिएर अर्कैको औषधि बिक्री गर्ने, म्याद नाघेको औषधि सोकेसमा राख्ने, दर्ता नभएका प्रतिबन्धित बिक्री गर्ने, भ्याक्सिनलाई उचित तापक्रममा नराख्नेलगायत अनियमितता भेटिएको प्रमुख सिंहले बताए । ‘यो क्षेत्र धेरै बिग्रिसकेको रहेछ,’ उनले भने, ‘अब सुधारतर्फ लाग्छौँ, अनियमितता गर्नेलाई उपस्थित हुन पत्र काटेका छौँ ।’ आयुर्वे्दिकको लाइसेन्स लिएर एलोपेथिक औषधि स्टक गरिएको समेत फेला परेको उनले बताए । प्रतिबन्धित औषधि खुलेआम बिक्रीका लागि राखिएका थिए । ‘औषधि बिक्रीको लाइसेन्स लिएर परिवारलाई व्यवसाय गर्न दिएको, केहीले लाइसेन्स भाडामा लगाएको समेत पाइएको छ,’ उनले भने, ‘त्यस्ता १९ जनालाई कारबाहीका लागि पत्राचार गरिएको छ ।’ यसैगरी औषधि बिक्री वितरणको बिलबीजक अद्यावधिक नराख्ने ९ जना भेटिएका थिए । 

खरिद गरेको औषधिको बिल अनिवार्य रूपले लिन उपभोक्तालाई शाखा कार्यालयले आग्रह गरेको छ । ‘बिनाबिल खरिद गरिएका औषधि सेवनबाट नकारात्मक असर हुन गए त्यसको क्षतिपूर्ति र कानुनी कारबाही गर्न सकिन्न,’ एक फार्मेसी अधिकृतले भने । बिल लिएपछि बढीमा बिक्री गरेको मूल्य फिर्ता पाइने, सेवन नगरेको औषधि फिर्ता गर्न सजिलो हुने ती अधिकृतले बताए । 
नारायणी र जनकपुर अञ्चल कार्यक्षेत्र रहेको शाखा कार्यालय वीरगन्जमा यसअघि ३ जना मात्र कर्मचारी थिए । कार्यालयकै काममा व्यस्त हुँदा स्थलगत अनुगमन र निरीक्षण हुन सकेको थिएन । ‘पछिल्लो समय विभागले थप पठाएपछि फिल्ड वर्क बढेको छ,’ प्रमुख सिंहले भने, ‘केही दिनमै अन्य जिल्लामा पनि निरीक्षण टोली पठाउँछौँ ।’ कार्यालयका अनुसार नारायणी अञ्चलमा मात्रै २ हजार २ सय ९१ औषधि पसल दर्ता छन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-04-29 09:15:29

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts