भरतपुर अस्पतालमा ‘ओपीडी’ सेवा विस्तार



Download our app to get more features

भरतपुर (चितवन), १५ वैशाख । भरतरपुर अस्पतालले बहिरंग (ओपीडी) सेवा विस्तार गरेको छ । अपराह्न ३ बजेसम्म सेवा दिन थालेको हो । यसअघि २ बजेपछि ओपीडी बन्द हुन्थ्यो । 


अस्पतालले ३ बजेपछि अतिरिक्त शुल्क लिएर ईएचएस सेवा पनि दिन थालेको छ । यसले चिकित्सक खोज्दै निजीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अस्पतालमा बिहान ९ बजेदेखि ३ बजेसम्म नियमित र ३ बजेपछिको अतिरिक्त ईएचएस ओपीडी सेवा सुरु गरेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढेपछि सेवा विस्तार गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रुद्रप्रसाद मरासिनीले बताए । ‘बाहिरबाट आएका बिरामीले जाँचपछि विभिन्न खाले परीक्षणको रिपोर्ट देखाउन चिकित्सक खोज्दै निजीमा जानुपथ्र्यो,’ उनले भने, ‘अब चिकित्सहरू बिरामीको अवस्था हेरी अस्पतालमै बस्छन् ।’ 

राजधानीपछि यस्तो सेवा चितवनमा विस्तार गरिएको अस्पतालले जनायो । अस्पताल विकास समिति बैठकले विस्तारको निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाले देशभरिका सरकारी अस्पताललाई ३ बजेपछि ईएचएस सेवा सञ्चालन गर्न एक महिनाअघि परिचपत्र गरेका थिए । त्यही अनुसार सेवा विस्तार गरिएको समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । ‘बिरामीलाई असहज नहोस् भन्नका लागि सेवा विस्तारसँगै विद्युतीय टोकन प्रणाली लागू गरेका छौं,’ उनले भने, ‘बिहान ८ बजेदेखि नै टोकन दिन सुरु गरेका छौं ।’

ओपीडी र शुल्क बुझाउने स्थानमा विद्युतीय टोकन प्रणाली लागू गरिएपछि बिरामी र आफन्त घण्टौंसम्म उभिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालले ओपीडी ५० र ईएचएस सेवाका लागि ३ सय रुपैयाँ शुल्क तोकेको छ । १२ बजे सम्म ओपीडीको टिकट दिँदै आएको अस्पतालले बिरामीको अवस्था हेरी अबेरसम्म जाँचलगायतका सेवा विस्तार सुरु गरेको छ । 

यसअघि नै ओपीडी र ईएचएस सेवा सुचारुको तयारी गरे पनि केही चिकित्सको विरोधले हुन सकेको थिएन । सेवा विस्तारमा अवरोध र्पुयाउने चिकित्सकको मन्त्रालयले सरुवा गरेको छ । अतिरिक्त समय सेवामा खट्ने चिकित्सक र कर्मचारीलाई सुविधा अनुरूप भत्ता दिने मन्त्रालयले परिपत्र गरेको छ । यसले समितिबाट नियुक्त चिकित्सक र कर्मचारी भने विमुख हुनेछन् । डा. मरासिनीले भने, ‘सरकारीको हकमा भत्ताको व्यवस्था गर्ने भनिए पनि समितिले नियुक्ति गरेका कर्मचारी मारमा परेका छन् ।’ अस्पतालमा सरकारी २ सय र समितिका ४ सय कर्मचारी कार्यरत छन् । यहाँ दैनिक एक हजारभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् । 

अस्पतालले गरिब तथा विपन्न नागरिकसहित ११ लक्षित समूहका बिरामीलाई पनि निस्शुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । यसका लगि छुट्टै कोष बनाएको छ । गरिब तथा विपन्न नागरिक उपचार कोषमार्फत सामाजिक सेवा एकाइबाट निस्शुल्क सेवा दिइरहेको छ । अस्पतालले चार वर्षको अवधिमा १९ हजार ३ सय ९९ जनालाई ३ करोड ११ लाखभन्दा बढी रुपैयाँको निःशुल्क उपचार सेवा दिइसकेको जनाएको छ । 

कोषको रकमबाट अस्पतालमा आउने सहिद परिवार, प्रहरीका थुनुवा, पोषण कम भएका व्यक्ति, गरिब, विपन्न, असहाय, सीमान्तकृत समुदाय, विपत्ति तथा प्रकोपपीडित, ज्येष्ठ नागरिक, आकस्मिक सडक दुर्घटनाका घाइते र अपाङ्ग बिरामीले निःशुल्क उपचार सेवा पाउने सामाजिक सेवा एकाइ प्रमुख गोपाल पौडेलले बताए । ‘कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले आर्थिक सहयोग गरिरहेका छन्’ उनले भने, ‘अस्पतालका कर्मचारीले समेत रकम सहयोग गरेका छन् । 

 

(आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेको समाचार)

Last modified on 2017-06-15 16:34:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts