कलिलै उमेरमा विवाह गर्दा पाठेघर गुमाउँदै सुर्खेतका महिला



Download our app to get more features

सुर्खेत, १४ वैशाख । घुमखहरे निवासी टीका (नाम परिर्वन) ले १४ वर्षको उमेरमै विवाह गरिन् । विवाह भएको एक वर्षमा नै उनको पहिलो बच्चाको जन्म भयो । उमेर नपुग्दै बिहे गरेकी उनले उचित स्याहार पाइनन् । उनको (आङ) अर्थात् पाठेघर खस्यो । समयमा नै उपचार नपाउँदा उनको पाठेघर नै झिकेर फालियो ।

उनी भन्छिन्, ‘धेरै पीडा सहेँ, कतिबेला त मरेर पनि बाँचिरहे । डरले गर्दा परिवार र श्रीमान्लाई भनिन, समयमा नै उपचार नहुँदा धेरै दुःख पाएँ ।’ गाउँमा पाठेघरसम्बन्धी उपचार शिविर सञ्चालन भएको बेला उनको पाठेघर नै झिकेर फाल्नु र्पयो । आफूले सानैमा बिहे गर्दा अहिले आधा शरीरको भरमा बाँच्नु परेको उनले दुखेसो पोखिन् ।
बाबियाचौरकी हरिकला (नाम परिवर्तन) को पनि पीडा उस्तै छ । कक्षा सातमा पढ्दापढ्दै भागेर बिहे गरिन् । सानै उमेरमा विवाह गरेकी उनले १६ वर्षको उमेरमा नै बच्चा जन्माइन् । उनले सुत्केरी अवस्थामा राम्रो स्याहार पाउन सकिनन् जसको परिणाम आङ खस्ने समस्याको सिकार भइन् । सानै उमेरमा बच्चा जन्माउँदाको परिणाम उनले अहिले भोग्नु परेको छ । उनी भन्छिन्, ‘पाठेघर खसेको आठ वर्ष भयो । विवाह भएको केही वर्षसम्म त श्रीमानसँग राम्रै सम्बन्ध थियो तर जब मेरो पाठेघर खस्यो तब श्रीमान् टाढिए ।’

समयमा नै उपचार नपाउँदा र रोग लुकाउँदा उनको पनि पाठेघर झिकियो । त्यसपछि उनको श्रीमानले दोस्रो बिहे गरे । पाठेघर खसेको पीडाभन्दा पनि ठूलो पीडा छ उनलाई श्रीमानले आफूलाई छोडेकोमा । उनी भन्छिन्, ‘घरपरिवार र श्रीमान्लाई मेरो पीडा सुनाउन सकिनँ, आफैं मर्नु न बाँच्नुको अवस्थामा पुगें ।’

बालविवाहका कारण महिलाहरूमा पाठेघर खस्ने समस्या बढ्दै गएको छ । सानै उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रूपमा पर्ने असरबारे थाहा नहुनु र बच्चा जन्माउँनुले पनि पाठेघर खस्ने समस्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनले यस्तो समस्या देखाएको हो । प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाका अनुसार पनि सुर्खेतमा ४२ प्रतिशत महिला यो समस्याबाट पीडित छन् ।

सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले दिएको जानकारी अनुसार यो जिल्लाका केही स्थानको मात्र तथ्यांक हो । जिल्लाको ग्रामीण क्षेत्रका महिलामा यो समस्या बल्झिँदै गएको संस्थाको भनाइ छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउनाले यो समस्या बढेको हो । सुर्खेतमा ४२ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको वामले जानकारी दिइएको हो ।

केड नेपालकी अरुणा चौधरी सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा महिलाहरूमा पाठेघर खस्ने समस्या बढी देखिएको बताउछिन् । उनले कम जन्मान्तरमा धेरै बच्चा जन्मनेजस्ता मुख्य समस्या र हानिकारक संस्कारले गर्दा महिलाहरूमा मानसिक असर पर्ने गरेको बताइन् । नेपालमा अहिले करिब दस लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको उनको भनाइ छ । उनले बालविवाहलाई न्यूनीकरण गर्न विद्यालयस्तरमा प्रजनन् स्वास्थ्यसम्बन्धी पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिइन् ।

गर्भवती, किशोरकिशोरी, बालबालिका र नवविवाहित जोडिलाई लक्षित गर्दै सुर्खेतका खानीखोला, डाँडाखाली, राकम, लेखगाउँ, कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बजेडीचौर र गुठुमा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा पाठेघर खस्ने समस्या रोक्ने सरकारी लक्ष्य छ ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा ललितबहादुर बुढाले लेखेको समाचार) 

Last modified on 2017-06-15 16:39:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts