गंगालालमा डेढ महिनामा ७५ जना वाथमुटुरोगीको निशुल्क शल्यक्रिया, औषधि पनि निशुल्क गरिने



Download our app to get more features

काठमाण्डौं, १५ चैत । राजधानीको शहीद गंगलालाल राष्ट्रिय हृदय केन्द्रमा डेढ महिनाको अवधिमा ७५  जनाको बाथ मुटरोगको भल्भको निशुल्क शल्यक्रिया गरिएको छ । 

सरकारी घोषणा अनुसार अस्पतालमा गत फागुनदेखि चैत १४ गतेसम्म भएका निशुल्क शल्यक्रिया भएका मध्ये ४४ पुरुष र ३१ जना महिला रहेको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए । स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको वार्षिकोत्सवको अवसरमा फागुन १ गतेदेखि शहीद गंगालाल हृदय केन्द्रबाट बाथ मुटुरोगको भल्भको निशुल्क शल्यक्रिया गर्ने घोषण गरेका थिए ।  

यता स्वास्थ्य मन्त्रालयले बाथ मुटुरोग लाग्न नदिन र प्राथमिक उपचारका लागि आवश्यक औषधि पनि निशुल्क गर्न गृहकार्य गरेको जनाएको छ । मन्त्रालयका अनुसार भल्भको शल्यक्रियामा हुने अत्याधिक भार कम गर्न घाँटीको संक्रमण भएको अवस्थामा एन्टिवायोटिक उपचारलाई पनि निशुल्क गर्न लागिएको हो । भल्भको निशुल्क उपचार र प्रारम्भिक अवस्थामा यसको रोकथामका लागि सरकारले औषधि निशुल्क भनेपनि गंगालाल हृदय केन्द्रमा सम्पूर्ण उपचार नै निशुल्क भन्दै बिरामी अस्पताल पुग्ने गरेका छन् । 

बाथ मुटुरोगले मुटुको भल्भलाई असर गर्ने हुँदा शुल्यक्रियाबाट ठिक गर्न भल्भ फेर्नुपर्ने हुन्छ । गंगालाल हृदय केन्द्रमा वार्षिक चार सयको हाराहारीमा मुटुको भल्भको शल्यक्रिया हुने गरेको छ ।

के हो बाथ मुटुरोग ? 

स्कुल जाने ५ देखि १५ वर्ष उमेरका बालबालिकामा बारम्बार दोहोरिने टन्सिलाइटिस वा फ्यारिन्जाइटिसले बालबालिकामा बाथ ज्वरो र बाथ मटु रोग निम्त्याउँछ । घाँटीको सामान्य इन्फेक्सनबाट सुरु हुने बाथ ज्वरोबाट बाथ मुटुरोग भएर जीवनभर उपचार वा मृत्युकै कारण बन्नसक्ने गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले बताए । बालबालिकामा दोहोरिरहने ज्वरो र घाँटीको दुखाइलाई सामान्यरुपमा लिन नहुने डा. शमाको सुझाव छ ।

‘ग्रुप ए बिटा हेमोलाइटिक स्टेप्टोकोकस’ नामक किटाणुको संक्रमण सुरु भई घाँटी दुख्ने, ज्वरो आउने, ५ देखि ७ दिनमा आफै ठिक भएर जाने हुन्छ । त्यसपछि एकदेखि चार हप्तापछि फेरी ज्वरो आउने हुन्छ । यसरी ज्वरो फर्किएर आउँदा हातखुट्टा तथा जोर्नी दुख्ने र सुन्निने हुन्छ । यसरी आउने ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसरी आउने ज्वरोले कहिलेकाही मुटुमा समेत असर गर्नसक्छ ।

बाथ ज्वरो आएमा सबैलाई बाथ मुटु रोग नलाग्ने डा. शर्माले जानकारी दिए । उनका अनुसार ‘ग्रुप ए बिटा हेमोलाइटिक स्टेप्टोकोकस’ नामक किटाणुको संक्रमण भएको तीन प्रतिशतमा बाथ ज्वरो हुने र बाथ ज्वरो भएका मध्ये ५० प्रतिशतमा मुटुको भल्भमा असर गर्छ । बाथ ज्वरोको आक्रमण बढ्दै जाँदा हात खुट्टा, जोर्नी दुख्ने, सुन्निने, पछि गएर मुटुको भल्भ सुन्निने, भल्भ साँघुरो हुने र मुटु सुन्निने हुन्छ ।

कसरी बच्ने ? 
यसबाट बच्नका लागि बालबालिकाका लागि खेल्ने वातावरण सफा राख्ने, चिसो तथा गुम्सिएको स्थानमा नराख्ने, स्कु्लका कक्षाकोठा घाम लाग्ने र राम्रोसँग हावा खेल्ने, घरमा भेन्टिलेसनको व्यवस्था भएमा यसबाट बच्न सकिने डा. शर्माको सुझाव छ । यसका लागि बालबालिकालाई चिसो तथा गुम्सिएको स्थानमा राख्नु हुदैन । यदि घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल भएमा तुरुन्त जाँच गराउउनुपर्छ । 

रोकथाम
स्कुल जाने ५ देखि १५ वर्ष उमेरका बालबालिकामा बारम्बार दोहोरिने टन्सिलाइटिस वा फ्यारिन्जाइटिस, घाँटी दुख्ने ज्वरो आउने समस्या भएमा बालबालिकालाई समयमै उपचार गर्नु सुझाउछन् डा. शर्मा । बाथ ज्वरो हुने सम्भावनालाई रोक्नु नै यसबाट बच्ने प्रमुख उपाय हो । यसको साथै समयमै इन्फेक्सन पत्ता लगाई एन्टिवायोटिक वा पेन्सिलिन सुई लगाई यसबाट बच्न सकिन्छ ।

तर, बाथ ज्वरो लागिसकेमा द्धित्तीय रोकथामका लागि पेन्सिलिन सुई हरेक ३र३ हप्तामा लगाउनु पर्ने डा. शर्माले बताए । यदि बाथ ज्वरोले मुटुको भल्भ साँघुरो पारेमा खुकुलो पार्न शल्यक्रिया नै गर्नुपर्छ । साथै भल्भ बिग्रिएमा कृत्रिम भल्भ राख्नुपर्ने हुन्छ । डा. शर्माका अनुसार सबै बिरामीको लागि शल्यक्रिया  आवश्यक नहुन पनि सक्छ ।


 

Last modified on 2017-03-30 09:52:05

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts