उपचार पाउनै मुस्किल



Download our app to get more features

साल्मेचाकल (काभ्रे), ६ फागुन । काभ्रेको विकट डाँडापारि क्षेत्रमा पर्ने दर्जन गाविसका बासिन्दा स्वास्थ्यसंस्था अभावमा सामान्य उपचार पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् ।

सूचना, सञ्चार तथा यातायातको पहुँच पुग्न नसकेको डाँडापारि क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको स्थानीय गुनासो गर्छन् । ‘ज्वरो आएको चार दिन भयो, १० घन्टा पैदल हिँडेर स्वास्थ्यचौकी पुगेँ तर औषधोपचार केही भएन’, तालढुंगा स्वास्थ्यचौकीमा औषधोपचारका लागि आएका डाँडागाउँ गाविस ९ का कमलबहादुर घलानले भने, ‘डाँडापारि क्षेत्रमा न यातायातको पहुँच न त नजिक मेडिकल नै छ । अस्पताल त धेरै टाढाको कुरा ।

स्वास्थ्यचौकी पुग्न चार घन्टा लाग्छ भने फर्किन पाँच घन्टा लाग्छ ।’ उनले भने, ‘समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढ्दै छ ।’ घलानका अनुसार जिल्ला अस्पताल पुग्न एक दिनभरि पैदल हिँड्नुपर्ने हुन्छ । त्यस्तै, स्वास्थ्य संस्था नजिक नभएका कारण सुत्केरी हुन नसकी दुई दिनदेखि घरमै छट्पटाउनुपरेको डाँडागाउँ गाविस–८ की लीलामाया घलानले बताइन् ।

‘बेथा लागेको दुई दिनसम्म बच्चा पाउन सकिनँ, सात घन्टाको पैदलपछि स्वास्थ्यचौकी त पुगेँ तर त्यहाँका स्वास्थ्यकर्मीले केस जटिल भएको भन्दै अस्पताल जान सिफारिस गरे,’ उनले दुखसो पोख्दै भनिन्, ‘समस्यामाथि समस्या थपियो, सुत्केरीलाई डोकोमा ७ घन्टा बोकेर अस्पताल पुर्याइयो ।’ समयमै उचित उपचार नपाएका कारण धेरैको अकालमै ज्यान जाने गरेको उनले बताइन् । भनिन्, ‘आफूजस्तै धेरै महिलाले सुत्केरी अवस्थामा सास्ती खेप्नुनपरोस् ।’

मिल्चे गाविसका ३७ वर्षीय रणध्वज तामाङलाई विषालु सर्पले डस्यो तर स्वास्थ्य संस्था नजिक नभएकाले उनले पनि उपचार पाएनन् । उनलाई परिवारले घरेलु उपचार गरेर बचाएको बताए । ‘पीडा सहनु हाम्रो रहर नभई बाध्यता हो,’ तामाङले भने, ‘स्वास्थ्य संस्था जाऊँ पूरै दिन लाग्छ, मर्ने(बाँच्ने कुनै ठेगान हुँदैन ।’ रोग बिसेक भए वा नभए पनि घरेलु उपचार गर्नु बाध्यतामा परेको उनले बताए । थपे, ‘उपचार अभावमा मर्नेबाहेक अरू विकल्प रहँदैन ।’ घरेलु उपचार भन्दै सर्पको गिदी र केही झारपात कुटेर डसेको ठाउँबाट विष झारेर बाँचेको तामाङले अनुभव सुनाए ।

तामाङ र घलान त प्रतिनिधि पात्र मात्र हुन्, जिलाका विकट क्षेत्रमा यातायात र व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयांै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको फलामेटार गाविसका गोपाल स्याङताङ बताउँछन् । ‘साँझ, बिहान र राति दुर्घटनामा परियो भने तत्काल उपचार पाउन सकिँदैन,’ उनले भने, ‘नजिक अस्पताल छैन, स्वास्थ्यचौकीमा स्रोतसाधन र जनशक्ति अभाव छ ।’ विशेषगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिकालाई अप्ठ्यारो पर्ने गरेको उनले बताए । उनका अनुसार सदरमुकामको अस्पतालमा उपचारका लागि १२ घन्टासम्म जंगलको बाटो पैदल हिँडेर जिल्ला र सदरमुकाम अस्पताल पुग्न स्थानीय विवश छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन सापकोट भने जिल्लाको भौगोलिक अवस्थाका कारण सेवाग्राहीलाई उपचारमा समस्या भएको स्विकार्छन् । यातायात तथा सञ्चार नपुगेका गाविसका स्वास्थ्य संस्थामा औषधिलगायत सामग्री ढुवानी गर्न कठिन भएको उनले बताए । थपे, ‘अन्य मेडिकल र अस्पताल नभएकाले बिरामीको चापसमेत बढी हुने हँदा समस्या आएको हो । विकट क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको पूर्वाधार र दक्ष जनशक्तिका लागि केन्द्रीय स्तरको बजेट र नीति आवश्यक पर्छ ।’ तालढुंगा स्वास्थ्यचौकीका सिनियर अहेव रामपुकार यादव स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार र स्रोत(साधन नभएका कारण समस्या हुने गरेको बताउँछन् ।

जिल्लाको विकट डाँडापारी क्षेत्रमा पर्ने गाविसमध्ये मिल्छे, साल्मेचाकल, घर्तीछाप, बन्खु, फोक्सिङटार र बुढाखनी र दुर्गम कोसीपारी क्षेत्रमा रहेका १७ गाविसमध्ये कात्तिके(देउराली धुसेनी शिवालय, बिर्तादेउराली, बेगसिम्ले, सानो बाङथली, भुम्लुटार र कालाँतीभुम्लु गाविसका स्थानीयले बढी सास्ती व्यहोर्नुपरेको बताए । पर्याप्त पूर्वाधारविना सञ्चालन भएका जिल्लाका अधिकांश स्वास्थ्यसंस्थाले आवश्यक पूर्वाधार र दक्ष जनशक्ति अभावमा सेवा प्रभावकारी नभएको स्थानीयको भनाइ छ । जिल्लामा एक सय ११ सरकारी स्वास्थ्य संस्था सञ्चालित छन् ।

 

(आजको अन्नपूर्णपोष्ट दैनिकमा श्रीराम केसीले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts