गमलामै हुर्काइन्छ औषधिको बिरुवा



Download our app to get more features

गमलामा लगाइने कतिपय बिरुवाले सौन्दर्य बढाउनका साथै औषधिको पनि काम गर्न सक्छ । गमलामा सजिलै हुर्काउन सकिने यस्ता बिरुवा अग्र्यानिक पनि हुन्छन् । यसरी औषधिका बिरुवा लगाउँदा वातावरण स्वच्छ त हुन्छ नै, आकस्मिक अवस्थामा प्रयोग पनि गर्न सकिन्छ । घरमै हुर्काउन सकिने केही औषधिका बिरुवा यस्ता छन् ः

एलोभेरा

घामले डढेर कालो भएको छालाको उपचार गर्न तथा पाचन प्रणाली स्वस्थ राख्न एलोभेरा उपयोगी हुन्छ । यसको जेलीले पोलेको ठाउँमा शीतलता प्रदान गर्नुका साथै छाला पनि कोमल बनाउँछ ।

तुलसी

धार्मिक दृष्टिले घरमा रोपिने तुलसीले टाउकोदुखाइ कम गराउँछ । तुलसीको पात रगडेर टाउकोमा लगाउँदा शितल हुन्छ । पानीमा यसको पात पकाएर बनाइएको औषधि पछिसम्म प्रयोग गर्न सकिन्छ ।

लेवेन्डर

सूर्यको उज्यालोमा चाँडो फुल्ने यो बिरुवालाई पानी बढी हाल्नुपर्छ । यसको माथिको भागलाई भाँचेर पानीमा उमालेर वाफ लिँदा औषधिको काम गर्छ । फूलको रस प्रयोग गरी अनुहारमा भएको दाग हटाउन पनि सकिन्छ ।

लेमन ग्रास 

ग्रिन टीजस्तै गरी लेमन ग्रासको पातलाई पानीमा उमालेर उपभोग गर्न सकिन्छ । लेमन ग्रासले अनावश्यक तौल बढ्न नदिनुका साथै शरीर स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पुदिना

पाचन प्रक्रियासँग सम्बन्धित गडबडी र शरीर काम्नेजस्ता समस्या भएकालाई पुदिनाको चिया उपयुक्त हुन्छ । ताजा पदिनाको प्रयोगले पेटमा भएको गाह्रोपन, पेट फुल्नेजस्ता समस्याको समाधान हुन्छ । साथै, उम्लेको पानीमा पुदिना राखेर बाफ लिँदा खोकीको समस्या पनि निवारण गर्न सकिन्छ ।

मेहदी

मुड ठीक गर्न र चिसोपनबाट राहत पाउन मेहदीको प्रयोग उत्तम हुन्छ । बाह्रमासे बिरुवा मेहदी घामको किरणको सहायताले अझ बढ्ने हुँदा घाममा राख्नुपर्छ । मेहदीको प्रयोगले एसिडिटीको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

कपुरको पात

घाँटी खराब भएका बेला कपुरको पात प्रयोग गर्दा आराम मिल्छ । एकचौथाइ कप पानीमा कपुरको पात हालेर कुल्ला गर्दा घाँटी दुख्ने र टन्सिलजस्था समस्या समाधान गर्न सकिन्छ ।

पाखनबेद

गमलामा गानो रोपेर पाखनबेदको बिरुवा उमारिन्छ । निकै राम्रो फूल हुने यसको गानोबाट विभिन्न रोगको औषधि बनाइन्छ । यसको प्रयोग विशेषगरी विभिन्न आयुर्वेदिक औषधि बनाउन गरिन्छ । 

 

(आजको नयाँ पत्रिका दैनिकबाट)
 

Last modified on 2017-07-04 14:58:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts