आमाले दूध पिए बच्चा गोरो जन्मिन्छ ? 

What's This?


Download our app to get more features

एजेन्सी, १९ जेठ । आमाको खानाले बच्चा कालो या गोरो हुने जुन मान्यता नेपालमा राखिन्छ, यस्ता अनेक मान्यता विश्वका कैयौं मुलुकमा पनि छन् । 

मुला खाए छोरा जन्मिन्छ भन्ने भ्रम नेपालीमा भएजस्तै फरक–फरक मान्यता विश्वमा छन् । गर्भवतीले के खान हुने, के खान नहुने भन्नेसम्मका फरक–फरक धारणा छन् । विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यभन्दा पनि समाजका परम्परागत धारणा र हल्लाको ठूलो भूमिका रहन्छ । 

ती कतिपय मान्यता ठीकै पनि छन् भने धेरै गलत । ‘गर्भवतीले फलफूल र तरकारी प्रशस्त खानुपर्छ, सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग तरकारी तथा फलफूल हुनैपर्छ,’ विज्ञहरु भन्छन्, ‘माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा पर्याप्त खानुपर्छ । 

काँचो मासु र काँचो अन्डा भने अहितकर हुनसक्छ ।’ बिबिसीले केही समयअघि एउटा रोचक रिपोर्ट सार्वजनिक गरेको थियो, जसको बुँदागत अंश यस्ता छन :

– दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । त्यहाँका जुलु समुदायका गर्भवती महिलालाई ‘इसिलाम्बेजो’ नामको हर्बल जडीबुटी खुवाइन्छ, जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलोसमेत मिसाइन्छ । 

– इरानमा गर्भवतीलाई अनारको जुस खुवाउनु हितकर मानिन्छ । 

– सेनेगलमा जनावरको हड्डीको मासी गर्भवती महिलालाई खुवाइन्छ । 

– नाइजेरियाको एउटा ग्रामीण बस्तीका आदिवासीहरु शंखेकिरा खान्छन् । तर गर्भवती महिलालाई खान दिँदैनन् । गर्भवतीले शंखेकिरा खाँदा बच्चा शंखेकिराझै सुस्त हुने सामाजिक धारणा छ । 

– जापानमा मसलेदार र पिरो खानेकुरा गर्भवतीलाई खुवाउनु हुन्न भन्ने मान्यता छ । यस्तो खानेकुरा आमाले खाएमा बच्चा सन्काहा हुने जापानीहरुको धारणा पाइन्छ । 

– अमेरिकामा गर्भवती आमाले स्ट्रबेरी र खोर्सानीको अचार खाँदा बच्चाको शरीरमा विभिन्न चिनोहरु आउने मान्यता छ । 

– चीनमा गर्भवतीलाई गँगटो खुवाएमा बच्चा एघार औंले हुने धारणा पाइन्छ । आमाले दूध पिए बच्चा गोरो हुने विश्वास पनि राख्छन् । 

– भारतको आन्ध्र प्रदेशमा गर्भवतीलाई मेवा र फर्सी खान दिइँदैन । खुवाए गर्भको बच्चालाई ज्वरोले सताउने मान्यता राखिन्छ । गुजरातमा भने गर्भवतीले दूध, दही र केरा खाँदा बच्चालाई गर्भमै चिसो हुने तथा बच्चा तुहिने मान्यता व्याप्त छ । 

– अफ्रिकाका कतिपय ठाउँमा गर्भवती महिलाले अन्डा खाए बाँझोपनको समस्या निम्तिने बताइन्छ । 

नयाँ पत्रिका दैनिकबाट

Last modified on 2016-06-01 16:01:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts