पाईल्स (अर्स वा बबासिर)  

Article   Dr. Hari Sharan Aryal (डा. हरि शरण अर्याल)   on Mon, Jul 15 2019 12:54 PM 5906 Views 0 Comments 4 persons recommended

 

पाईल्स (अर्स वा बबासिर) यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । बिशेष गरी कार्य व्यस्तताका साथै बिभिन्न कारणले दिसा लामो समय सम्म रोक्ने, लामो समय सम्म दिसा बस्ने तथा दिसा कव्जियत हुने कारणले गर्दानै यो रोग लाग्ने सम्भावना बढी हुनसक्छ । बुझ्दा सामान्य बुझिने पाईल्स चार प्रकारका हुन्छन् :

प्रथम चरण : यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाई भने हुने गर्दछ । यस अवस्थामा रहेको पाईल्स लाई औषधिद्वारा निको पार्न सकिन्छ 

द्वितिय चरण : यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैं भित्र जान्छ यसका साथै दुख्ने अनि रगत आउने समेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरि निको पार्न सकिन्छ ।

त्रितिय चरण : यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैं भित्र नगई औंलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आईपुगेको पाईल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चतुर्थ चरण : यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाई र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।

यो रोग १ देखि २ प्रतिशत सम्म क्यान्सरमा परिणत हुने सम्भावना हुन्छ भने यो रोगको अप्रेशन गरेका बिरामीहरमा ३० देखि ४० प्रतिशत सम्म दोहोरिएको पाईएको छ तर क्षारसूत्र विधिबाट उपचार गरेको बिरामीहरुमा भने १ प्रतिशत भन्दा पनि कम मात्र दोहोरिने देखिएको छ । यदि समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।

पाईल्स रोग भएका बिरामीले दिसा सजिलै खुलाउनेखालका खानेकुराहरु खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुराहरु नखाने, माछा मासुहरु कम खाने, हरियो सागपात अनि फलफूलहरु दैनिक जसो खाने, दिनमा ३ देखि ५ लिटर सम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

पाईल्स रोगले सानो ठूलो, धनि गरीब भन्दैन । नेपोलियन बोनापार्ट र जिम्मी कार्टर जस्ता व्यक्तिहरुलाई पनि यो रोगले सताएको थियो भन्ने पाईन्छ । त्यसैले खानपानमा बढी ध्यान दिने गरौं । यदि रोग लागिहालेमा समयमै उपचार गरौं ।

 

Leave a comment