मनन गरे यी १० कुरा ! उच्च-रक्तचापको हुन्छ उपचार पुरा !!  

Article   Dr. Surya B. Parajuli  on Fri, May 17 2019 02:46 PM 2848 Views 0 Comments 3 persons recommended

अंग्रेजी महिनाको मे १७ अथार्त आज विश्व उच्च रक्तचाप दिवस संसार भर मनाईन्छ । यसै क्रममा “नो योर नम्बर” अथार्त आफ्नो रक्तचापको अंक थाहा पाई राखौ भन्ने नाराका साथ यो दिवस अहिले मनाउदै छ । एक दिने कार्यक्रमले यो बढ्दो जनस्वास्थ्य  समस्याको आवाज पक्कै पनि बुलन्द गर्न सक्दैन । तर बिगत ३ बर्ष देखि सुरु भएको एक महिने लामो कार्यक्रम “मे मिजरमेंट मन्थ रक्तचाप मापन अन्तराष्टिय अभियान”ले भने आवाज बुलन्द गर्ने बाटोमा सफलता प्राप्त गर्दै गएको छ ।  विश्वका १०० भन्दा बढी देशहरुमा संचालित यो अभियानको अग्रपंतिमा नेपाल उभिएको विभिन्न तथ्यांकले देखाउदैछ । नेपालकै कुरा गर्दै सिमित श्रोत र साधनको बाबजुत कैयौ स्वयंसेवी मनहरु यो अभियानमा सक्रिय छन् । प्रदेश १ ले पनि १४ वटै  जिल्लमा यो कार्यक्रमको संजाल फैलाउने उदेश्यका साथ काम गरिरहेको छ । आऔ उच्च रक्तचापको बारेमा केहि जानकारी राखौ । १. रक्तचाप भनेको के हो ? मुटुबाट बाहिरिने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ | ठिक्क रक्तचाप भनेको १२०/८० हो। २. उच्च रक्तचाप भनेको के हो? १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। ३. उच्च रक्तचापको अवस्था कस्तो छ ? अनुसन्धानहरुले  देखाए अनुसार प्रत्येक ५ जना बयस्क व्यक्तिहरुमध्ये  १ जनामा उच्च रक्तचाप पाइएको छ । स्ट्रोक र मुटुरोगले हुने मृत्युको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ। ४. उच्च रक्तचापको जोखिम कस-कसलाई बढी हुन्छ? चुरोट पिउने, धेरै रक्सी सेवन गर्ने, शारीरिक क्रियाकलाप पटक्कै नगर्ने, धेरै चिल्लो खाने, धेरै नुन खाने, अत्यधिक मोटोपन हुने, धेरै तनाव लिने, बंशानुगत रुपमा परिवारमा उच्च रक्तचाप भएका व्यक्तिहरुमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । ५. उच्च रक्तचाप भएको चिन्ने आधारहरु के के हुन्? उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षणहरु देखापर्न सक्छन् तर ९० प्रतिशतमा कुनै पनि लक्षण नदेखिने हुन्छ । ६. उच्च रक्तचापको उपचार किन गर्नुपर्छ ? उच्च रक्तचापको समयमा उपचार गर्दा हर्टअट्याक, मस्तिष्क स्ट्रोक, मृगौलाको समस्या,अन्धोपन हुने जोखिम अत्यन्तै कम भएर जान्छ । ७. उच्च रक्तचाप हुने सम्भावना कम गर्न वा भएका व्यक्तिहरुमा हुनसक्ने जटिलता कम गर्न के के उपाय अपनाउन सकिन्छ? जीवनशैली लाई परिवर्तन गर्दै लग्नका लागि यसो गरौ । चुरोट सेवन कम गर्दै पूर्ण रुपमा बन्द गरौ । रक्सी तथा चिनीजन्य पेय पदार्थ बन्द गरौ ।  खानामा नुनको प्रयोग कम गरौ । धेरै चिल्लो खान बन्द गरौ । मासुजन्य परिकारको सेवन कम गरौ । तनाव नलिऔ र भएमा बिस्तारै कम गर्दै लगौ । शारीरिक तौल नियन्त्रण गरौ । नियमित शारीरिक व्यायाम गरौ । हरियो सागपात र पहेलो फलफूलको सेवन गरौ। पानीको सेवन प्रसस्त गरौ । एकै चोटी धेरै खाने भन्दा थोरै थोरै खाने बानि बसालौ । ८. के उच्च रक्तचापको औषधि आफै सेवन गर्नुहुन्छ? उच्च रक्तचापको लागी जथाभाबी औषधि सेवन गर्दा र चिकित्सकको परामर्श विना औषधि छोड्दा गम्भीर समस्या निम्तिन सक्छ। ९. के धामी, झाँक्री, जरा-बुटाले उच्च रक्तचाप निको हुन्छ? यसले त बरु स्वास्थ्यमा गम्भीर असर पारि मृत्यु पनि गराउनसक्छ । १०. पोस्चुरल हाईपोटेन्सन भनेको के हो? कसैलाई लो ब्लड प्रेशर छ र  केही बेर सुतेर वा बसेर अचानक उभिदा टाउको हलुको हुने वा रिंगटा लाग्ने भएमा ‘पोस्चुरल हाइपोटेन्सन’ भएको हुनसक्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधी खाइरहेको व्यक्तिमा बढी हुन्छ । बृद्धहरुमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधि वा यसको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ । (डा. पराजुली “ मे मिजरमेंट मन्थ रक्तचाप मापन अन्तराष्टिय अभियान” का प्रदेश १ संयोजक हुनुहुन्छ)

 

Leave a comment