ढाड तथा गर्धन दुख्ने समस्या र समाधानका उपायहरु  

Article   Dr. Dinesh Kumar Thapa  on Tue, Aug 27 2019 10:02 AM 4168 Views 0 Comments 9 persons recommended

ढाड तथा गर्धन  दुख्ने समस्या र समाधानका उपायहरु

        डा. दिनेश कुमार थापा

   बि एण्ड सी टिचिङ् हस्पिटल

          बिर्तामोड झापा

हामी धेरै नेपाली हरुमा ढाड र गर्धन दुख्ने समस्या छ जुन उमेर बढ्दै जाँदा च्याप्दै जान्छ । कसैकसैलाई त हिंड्न डुल्न तथा उठ्न वस्न समेत गाह्रो हुन्छ । कुनै मानिसलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड  दुख्ने समस्या आउन सक्छ, जस्तै: लामो समय सम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम हरु , लामो समय उभ्भिएर गर्नु पर्ने कामहरु, गर्हुंँगो सामान उचाल्नु पर्ने कामहरु आदी। एउटा अध्ययन अनुसार विश्वका करिब ८० % मानिसहरुलाई जीवनको कुनै न कुनै समयमा ढाड दुख्ने समस्याले दु:ख दिन्छ। हाम्रो जस्तो विकासशील देशमा पनि ढाड दुख्ने समस्याले विकराल रुप लिंदै छ जुन अत्यन्त चिन्तनिय छ किनभने विकसित देशमा कार्यअसक्षमताको कारण टाउको दुख्ने पछी ढाड दुख्ने समस्या रहेको छ ।  

ढाड दुख्ने समस्या सामान्यतया ३ किसिमका हुन्छन, एक्कासी धेरै दुख्ने(Acute) , बिस्तारै बढेर जाने(Sub acute), दुखिरहने(chronic)।

 

 

 

ढाड दु:खाईका कारणहरु:

१- काम गर्दा वा उठ्दा-बस्दा ढाड को मांसपेशीमा चोट लागेर वा सड्केर - यसले ढाड दु:खाईको करिब ८०-९०% ओगट्छ ।

२- मेकानिकल - यस भित्र ढाडको  हड्डी खिइएर आउने दुखाई, ढाडको नशा च्यापिएर हुने दुखाई, खुट्टाको लम्बाई नमिलेर हुने दुखाई, ढाडको  हड्डी भाच्चिएर हुने दुखाई इत्यादी।

३- संक्रमण- बाथ तथा अन्य ढाड सम्बन्धी संक्रमणहरु

४- अन्य- माथिल्लो वा तल्लो पेटका समस्याहरु, पाठेघरको समस्या, प्रोस्टेटको समस्या, डिप्रेसन आदी  ।   

गर्धन दु:खाईका कारणहरुमा  माथि उल्लेखित बाहेक नाक, कान, घाँटी भित्रका समस्याहरु वा रोगहरु समेत हुनसक्छन।

 

रोगको पहिचान :

 ढाड, गर्धनको समस्या अनुभवी न्युरो चिकित्सक तथा स्पाइन विशेषज्ञले सजिलै पहिचान गर्न सक्छन। सामान्यत: कुनै रेडियोलोजिकल जाँच आवश्यक हुँदैन तर समस्याको जटिलता हेरेर चिकित्सकहरु X-Ray तथा MRI पनि गराउन सक्छन।

 

समस्या समाधानका उपायहरु:-

बिरामी आफैले गर्न सक्ने -  दु:खाईको लागि तातो वा चिसोले सेक्ने, धेरै कडा वा धेरै कोमलो अोच्छ्यान प्रयोग नगर्ने, धेरै अग्लो सिरानी प्रयोग नगर्ने, टाउकोमा भारी सामान नराख्ने तथा नउचाल्ने, निहुरेर धेरैबेर काम नगर्ने, टुक्रुक्क वा पलेटी कसेर कम बस्ने। दु:खाई सहन सक्ने सम्मका काम धन्दा गरिरहने। 

कसरत - यसमा अनुभवी तथा कसरत सिकाउन निपुण मानिसबाट ढाडको कसरत सिकाइन्छ। जसमा तन्काउने, बलियो बनाउने तथा दु:खाईको अवस्था हेरि त्यो ठाउँमा करेन्ट लाउने(TENS) वा सेकाउने गरिन्छ।  नशा च्यापिएको अवस्थामा चिकित्सकको सल्लाह बमोजिम नै थेरापी गराउनु पर्छ, अन्यथा समस्या बढ्न पनि सक्छ। दुखाई धेरै बढेको अवस्थामा सेक्ने बाहेक अरु थेरापी नगर्दा बेश हुन्छ। 

 

औषधी : छोटो समयको लागि दु:खाई कम गर्ने औषधी सेवन गर्न सकिन्छ तर यसको लागि पनि विशेषज्ञको सल्लाह लिनु पर्छ तथा नशा च्यापिएकोहरुको लागि चिकित्सकहरुले विशेष किसिमका औषधी दिन सक्छन।

 

अप्रेशन : यदि जटिल भएको खण्डमा, लामो समय सम्म ढाड दुख्ने समस्या लाई वा नशा धेरै च्यापिएको अवस्थामा विशेषज्ञ को सल्लाहमा अप्रेशन पनि गर्न सकिन्छ। ढाडको अप्रेशन नशालाई बचाउन तथा थप च्यापिनबाट बचाउनको लागि गर्ने गरिन्छ। सामान्यत: अप्रेशन गरेको केही समयमा वा केही दिनमा दु:खाई पुरै हराउने गर्दछ तर अप्रेशन पश्चात: केही समय चिकित्सकको निगरानीमा बस्नु बुद्धिमानी हुन्छ। ढाड दुखेर खुट्टा तिर दुखाई आएमा, खुट्टा कमजोर हुँदै गएमा, लाटो भएमा  वा अचानक खुट्टा नचल्ने भई दिसा पिशाव बन्द भएमा तुरुन्त न्युरो चिकित्सकलाई भेट्नु पर्छ। ढाडको तथा घाँटिको नशा च्यापिएको अप्रेशन ठुलो तथा मेजर खालको भए पनि विशेषज्ञ द्वारा गरिए ठुलो खालका समस्याहरु सामान्यत: आउँदैनन । कसै कसैलाई भने रोगको सघनता हेरि पुरै दु:खाई नजान सक्ने,  दुख्ने हुन सक्ने, झम्झमाउने रहिरहन सक्ने हुन सक्छ। ढाडमा नशा च्यापिएको अप्रेशन गर्दा नशामा चोट लाग्ने सम्भावना भएपनी दुइटै खुट्टा कम्जोर हुने सम्भावना अत्यन्त: न्युन हुने गर्दछ तसर्थ सम्बन्धित विशेषज्ञ चिकित्सकबाट अप्रेशन गर्नु बुद्दिमत्ता हुन्छ।

 

Leave a comment