स्वस्थ रहन कति नुन खाने ?  

Article   Dr. Purushottam Adhikari  on Mon, Jul 08 2019 04:10 PM 3525 Views 0 Comments 4 persons recommended

नुन भन्नाले हामीले सामान्यतया भोजनमा स्वादको निम्ती हालिने बस्तु भनेर बुझ्छौं । हामीले खाने नुन सोडियम र क्लोराइड नामको तत्वले मिलेर बनेको हुन्छ । प्याकेटमा पाइने आयो नुनमा हाम्रो शरीरलाई चाहिने आयोडिन पनि मिसाइएको हुन्छ । नुन धेरै खाने वानी वा कम खाने वानी दुवै हाम्रो शरिरलाई स्वास्थ्यको दृष्टिकोणले हानीकारक छ ।

शरिरमा नुनको कामहरु:
१.    नुनमा भएको सोडियमले हाम्रो शरीरमा नसाबाट तरंगहरु एक भागबाट अर्को भागमा लान मद्दत गर्छ।
२.    सोडियमले मुटु लगायतका शरीरका विभिन्न मांसपेसीहरु खुम्चिन मद्दत पुराउछ ।
३.    क्लोराइडले हाइड्रोक्लोराइड एसिड बनाउन मद्दत गर्छ जुन हाम्रो शरीरको पाचन प्रणालीको एक महत्वपूर्ण हिस्सा हो ।
४.    क्लोराइडले हाम्रो शरीरमा अम्ल र क्षारको मात्रालाई पनि नियन्त्रण गर्छ ।
५.    आयो नुनमा मिसाइने आयोडिनले थाइरोइड हर्मन बनाउन मद्दत गर्छ ।

बढी नुन खानुको बेफाइदा:
नुन हाम्रो शरीरको लागि नभई नहुने तर थोरै मात्रामा चाहिने बस्तु हो । बढी नुन खानाले निम्न खाले  विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । 
१.    उच्च रक्तचाप
२.    मस्तिस्कघात
३.    हर्ट एट्याक 
४.    पेटको क्यान्सर 
५.    मोटोपना 
६.    पत्थरी र मृगौलाका समस्याहरु

कति नुन खाने?
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ वयस्क व्यक्तिले एक दीनमा पांच ग्राम भन्दा कम नुन प्रयोग गर्नुपर्छ । त्यो भनेको हामीले भान्छामा प्रयोग गर्ने एक चम्चा जति हुन आउँछ । उच्च रक्तचाप भएका व्यक्तिहरुलाई एक दीनमा जम्मा तीन ग्राम वा आधा चम्चा नुन खाने सुझाव दिइन्छ ।
भान्छामा प्रयोग गरिने नुन बाहेक हामीले अन्य स्रोतबाट पनि सोडियम खाइरहेका हुन्छौं । विभिन्न फलफुल, जंक फुड, चिप्स, पापड आदिमा त्यसको मात्रा बढी रहेको हुन्छ । 

तसर्थ, बढी नुनबाट हाम्रो स्वास्थ्यमा हुने विभिन्न हानीबाट बच्न सोडियमको मात्रा अधिक भएको खानाको सेवन कम गर्नुपर्छ । साथै सलाद, फलफुल आदि काँचै खाने वस्तु खाँदा नुन छर्कने गर्नु हुदैन र भान्छामा तरकारीमा हालिने नुनको मात्रा पनि कम गरिनुपर्छ ।
 

Leave a comment