कस्मेटिक सर्जरीको आकर्षण  

Article   Dr. Jaswan Shakya  on Tue, Jun 18 2019 10:26 AM 3160 Views 0 Comments 4 persons recommended

कस्मेटिक सर्जरी के हो ?
सुन्दर बन्नका लागि गरिने सर्जरी कस्मेटिक सर्जरी हो भने क्यान्सर लगायतका रोग लागेर गरिने सर्जरी रिकन्स्ट्रक्टिभ सर्जरी हो। कस्मेटिक सर्जरी गरेर अनुहार, आँखा, कान, नाक, स्तन मिलाउन सकिन्छ। पछिल्लो समय कस्मेटिक सर्जरी गरेर सुन्दर बन्नेकोे आकर्षण देखिन्छ।  

गालाको चाउरीपन कसरी हटाउन सकिन्छ त ?
उमेर ढल्किँदै जाँदा छाला चाउरी पर्दै जान्छ। अनुहारको छाला पनि टाइट गर्न सकिन्छ, जसलाई फेस लिफ्ट गर्ने भनिन्छ। सर्जरी गरेर छाला टाइट पारेपछि अनुहार चम्किलो देखिन्छ। सुन्दर देखिन्छ। अनुहारको सर्जरी गर्न करिब २० हजार खर्च हुन्छ। 

गालामा डिम्पल पनि बनाउन सकिन्छ भन्छन्, यो सम्भव छ ?
आजकाल गालामा डिम्पल बनाउने पनि चलन छ। मुख भित्र टाँका लगाएर मुखमा डिम्पल बनाउन सकिन्छ। विशेषगरी युवा–युवतीले गालामा डिम्पल बनाएको देखिन्छ। 

कसरी गरिन्छ आँखाको कस्मेटिक सर्जरी ?
चिम्सो आँखाको पनि आकार मिलाउन सकिन्छ। कस्मेटिक सर्जरी गरेर चिम्सो आँखालाई गोलो बनाउन सकिन्छ। सानो आँखा ठूलो बनाउन सकिन्छ। सामान्यतया युवाले आँखा मिलाउने कस्मेटिक सर्जरी गरेको देखिन्छ। उमेर ढल्किँदै गएपछि आँखाको ढकनिको छाला पनि लत्रिएर आँखा हेर्न अप्ठेरो समेत हुन्छ। सर्जरी गरेर आँखा खुला बनाउन सकिन्छ। अप्रेसन गरेर नमिलेको आँखा मिलाउन सकिन्छ। 

आँखाको सर्जरी गर्दा जोखिम कत्तिको हुन्छ ?
आँखाको कस्मेटिक सर्जरी गर्दा जोखिम कमै हुन्छ। हुँदैन भन्दा पनि हुन्छ। नदुख्ने सुई लगाएर एकदेखि डेढ घण्टामै आँखा मिलाउन सकिन्छ। अस्पतालमा भर्ना भएर बस्न पनि पर्दैन। तर करिब एक हप्ता घरमै आराम गरेर भने बस्नु पर्छ। हल्का सुन्निन्छ पनि। आँखाको सर्जरी गर्नेबित्तिकै बाहिर हिँडदा हेर्न अप्ठेरो हुने भएकाले आराम गर्नु पर्छ।

त्यसो भए एकपटक आँखा मिलाइसकेपछि फेरि मिलाइरहनु पर्छ कि पर्दैन ?
एकपटक सर्जरी गरेर मिलाएको आँखा फेरि मिलाउनु पर्दैन। चिम्सो आँखा खोल्दा भने पुनः जीवनभरि कस्मेटिक सर्जरी गरेर आँखा खोल्नु पर्दैन। तर ढल्किँदो उमेरमा आँखाको ढकनीको छाला लत्रिएर गरेको सर्जरीमा भने फेरि पनि छाला लत्रिँदै जान सक्छ।  

कस्तो अवस्थामा नाकको कस्मेटिक सर्जरी गरिन्छ ?
धेरै उठेको नाक छ भने सर्जरी गरेर नाकको उठेको भाग बसाउन सकिन्छ। नाकको बीचको भाग (नाकेडाँडी) गाडिएको वा खाल्डो भएको छ भने करङको कुरकुरे हड्डि नाकमा ल्याएर अप्रेसन गरिन्छ। बांगिएको नाक सिधा गर्न सकिन्छ भने सर्जरी गरेर थेप्चो नाक उठाइन्छ। मिलाइन्छ। 

नाकको अप्रेसन कत्तिको जोखिम हुन्छ ?
नाकको अप्रेसन गर्दा भने व्यक्ति (बिरामी) लाई बेहोस बनाएर गरिन्छ। नाकको अप्रेसन गर्दा २÷३ दिनसम्म अस्पतालमा भर्ना भएर बस्नु पर्छ। अप्रेसन गरेपछि करिब दुई हप्ता आराम गर्नुपर्छ। त्यस्तो धेरै जोखिम भने हुँदैन। कहिलेकाहीँ अप्रेसन गर्दा रगत जम्मा हुन सक्छ। व्यक्तिले चाहना गरेको जस्तो आकारमा नाकको आकार नबन्न सक्छ। ठ्याक्कै सोचेको जस्तो सेपमा नाक नमिल्न सक्छ। नाक मिलाउने अप्रेशन पनि एकपटक गरे पुग्छ। कहिलेकाहीँ इन्फेक्सनको जोखिम भने हुन्छ। तर उपचारपछि ठिक हुन्छ। नाकको सर्जरी गर्दा ५० हजारभन्दा माथि खर्च लाग्छ। 

त्यसोभए नमिलेको कान पनि मिलाउन सकिन्छ ?
नमिलेको कान पनि मिलाउन सकिन्छ। कान अगाडि फर्किएको अवस्थामा कानको कस्मेटिक सर्जरी गरेर मिलाउन सकिन्छ। अप्रेसन गरेर मिलाइन्छ। कानको पनि एकदेखि डेढ घण्टामा सर्जरी गरेर मिलाउन सकिन्छ। अस्पतालमै भर्ना हुनु पनि पर्दैन। कानको कस्मेटिक सर्जरी गरेर कान मिलाउन भने करिब ३५ देखि ४५ हजारको हाराहारीमा खर्च लाग्छ।

महिलाले स्तनको सर्जरी गरेर स्तन पनि मिलाउन सकिन्छ भनिन्छ, त्यो कसरी सम्भव छ ?
सर्जरी गरेर नमिलेको स्तन मिलाउन सकिन्छ। स्तनको सर्जरी दुई तरिकाको हुन्छ। एउटा कस्मेटिक सर्जरी। अर्को हो, रिकन्स्ट्रक्टिभ सर्जरी। त्यसैले स्तनको कस्मेटिक सर्जरी दुई किसिमले गर्न सकिन्छ। अप्रेसन गरेर स्तनको सर्जरी गर्न सकिन्छ। स्तन भित्र सिलिकन वा नर्मल स्लाईन राखेर पनि गरिन्छ। नन्सर्जरी, जुन सुईको माध्यमबाट गरिन्छ। नेपालमा भने सुईको माध्यमबाट सर्जरी गर्ने चलन देखिँदैन। 

त्यसो भए कस्ता किसिमका स्तन कसरी मिलाउने चलन छ ?
स्तनको कस्मेटिक सर्जरी गरेर सानो स्तनलाई ठूलो बनाउन सकिन्छ। ठूलो स्तनलाई सानो बनाउन सकिन्छ। झोलिएको स्तनलाई टाईट बनाउन सकिन्छ। 

त्यसो भए इच्छाअनुसारका स्तनका आकार मिलाउन सकिन्छ त ?
महिलाको स्तनभित्र सिलिकन (इम्प्लान्ट) राखेर स्तन ठूलो बनाउन सकिन्छ। सिलिकन एक किसिमको नरम रबर हो। सिलिकन स्तन जस्तै आकारको हुन्छ। कत्रो स्तन बनाउने हो, ईच्छा अनुसारका सिलिकनका साईज स्तनमा राखेर महिलाका स्तन मिलाउन सकिन्छ। आफ्नै शरीरको बोसो निकालेर स्तनमा राखेर पनि स्तन ठूलो बनाउन सकिन्छ। स्तनको छालाभित्र आफ्नै शरीरकोे मासु राखेर पनि स्तनको साइज ठूलो बनाउन सकिन्छ। स्तन ठूलो बनाउने विधिमा सिलिकन नै राम्रो विधि हो। नेपालमा स्तनको साइज मिलाउने प्रवृत्ति बढिरहेको देखिन्छ। 

Leave a comment