Talk to us: +977 1 4102891

आगोको पोलाइबाट बच्नधेरै कुरामा ध्यान दिनुपर्छ। धेरैजसो बिरामी आगो ताप्दा जलेर आएका हुन्छन्। आगो ताप्दा नाइलनको वा आगोले समात्ने खालका लुगा लगाउनु हुँदैन। साना बच्चा भएको घरमा बिजुलीको प्लगमा टेप लगाउने गर्नुपर्छ। तातोपानी, सलाई, लाइटर, ग्यास चुलो, स्टोभजस्ता कुराबाट उनीहरूलाई टाढा राख्नुपर्छ। 

पोल्नेबित्तिकै सुरुमा जसरी हुन्छ, आगो निभाउनुपर्छ। सकेसम्म कम्बलले छोप्नुपर्छ। वरिपरि कम्बल वा अरू केही छैन भने भुइँमा सुतेर, लडीबुडी गरेर आगो निभाउनुपर्छ। त्यसपछि तत्कालै शरीरमा भएको कपडा निकाल्नुपर्छ। कपडा जीउमा टाँस्सियो भने झन् गाह्रो हुन्छ। कपडा निकालेपछि पोलेको भागमा २० देखि ३० मिनेटसम्म पानी खनाइराख्नुपर्छ वा पोलेको भाग पानीमा डुबाइराख्नुपर्छ। तर, फ्रिजको चिसो पानी होइन, सामान्य पानी हुनुपर्छ। धेरै चिसो पानीले थप जटिलता ल्याउँछ। पोलेको भागमा पानी खनाउँदा घाउ गहिराइसम्म पुग्न पाउँदैन। पानी खनाएपछि सफा कपडाले पुछेर अस्पताल लैजानुपर्छ। पोल्नेबित्तिकै कतिपयले गोलभेँडा, काँक्रो, तुथपेस्ट दल्ने गरेको पाइन्छ। पानी नभएको खण्डमा मात्र यी उपाय अपनाउनुपर्छ। नत्र पानीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ। 

तातोपानी, आगो, करेन्ट जेले पोले पनि सुरुमा पोलेको दुखाइ हुन्छ। त्यो दुखाइ घाउको दुखाइ हो। घाउको दुखाइ निको हुँदै गएपछि दाग सुरु हुन्छ। त्यसपछि दागको दुखाइ सुरु हुन्छ। दागको दुखाइ घाउको जस्तो शारीरिक हुँदैन। तर, दागले पीडितलाई मानसिक दुखाइ दिन्छ। ऐनामा हेर्दा अनुहार परिवर्तित देखिन्छ। ‘मेरो अनुहार पहिला यस्तो थियो, अहिले यस्तो भयो’ भनेर मानसिक रूपले उनीहरू दुःखी हुन थाल्छन्। घाउको दुखाइभन्दा दागको दुखाइ निको हुन समय लाग्छ। दागको दुखाइ कम हुँदै जान थालेपछि उनीहरू समाजमा फर्किन खोज्छन्। तर, समाजबाट पनि उनीहरू दुःखी हुन पुग्छन्। ‘ओहो, यसको त मुखै कस्तो भएछ’, ‘अब यसलाई कसले बिहे गर्छ’, ‘यसले के गरी खान्छे’, ‘कठै’, ‘बिचरा’ भन्दै सामाजिक दुखाइ हरेक बर्न सर्भाइभरले सहनुपर्छ। यस्ता प्रतिक्रियाले उनीहरूलाई हतास बनाउँछ। जलेकाहरूको सबैभन्दा नजिकको साथी परिवार हो। परिवारको साथ र सहयोगबिना उनीहरूलाई घरबाट बाहिर निस्किन गाह्रो हुन्छ। 

जतिसुकै शिक्षित पुरुषले पनि बिहे गर्ने बेला शारीरिक रूपले चिटिक्क परेकी महिला खोज्छ। थोरै दाग भयो भने पनि ‘केटीको त दाग रहेछ’ भन्ने चलन छ। मानिसले सुरुमा हेर्ने भनेको अनुहार हो। सुरुमै व्यवहार र मन कस्तो छ, कसैले हेर्दैन। सौन्दर्य भन्नेबित्तिकै सबैको दिमागमा अनुहार आउँछ। तर, संसारमा कोही पनि मानिस नराम्रो हुँदैन। त्यो त हेर्ने नजरमा भर पर्ने कुरा हो। 

बर्न सर्भाइभर आत्मनिर्भर हुन सुरुमा घरबाहिर निस्किनुपर्छ। बाहिरी दुनियाँको सामना  गर्नुपर्छ। उनीहरूलाई व्यावसायिक तालिम दिनुपर्छ। सिलाइबुनाइजस्ता काममा लगाउनुपर्छ। उनीहरूले अफिस वा मानिसका आवतजावत हुने ठाउँमा काम गरेको देखिँदैन। अफिसको फ्रन्ट डेस्कमा कोही पनि बर्न सर्भाइभर छैनन्। पहिलो कुरा, उनीहरू आफैँ जागिर माग्न जादैनन्। ‘म जस्तोलाई कसले जागिर दिन्छ र’ भनेर उनीहरू आफँै खुम्चिएर बस्छन्। कतिपय भने ‘कसैले नदेख्ने गरी भित्रै बसेर काम गर्न पाए हुन्थ्यो’ भन्ने सोच्छन्।

पोलाइको उपचार आफैँमा खर्चिलो होइन। खर्चिलो त्यतिबेला हुन्छ, जब लामो समयसम्म अस्पताल बस्नुपर्छ। शरीरको कति प्रतिशत भाग जलेको छ, त्यही अनुसार उपचार हुन्छ। ड्रेसिङ गर्ने, मरेको छाला निकाल्ने, अर्को छाला टाँस्ने गर्दा अस्पतालको बसाइ लामो हुन सक्छ। महिना दिनदेखि छ–सात महिनासम्म अस्पतालमा बस्नुपर्ने हुन सक्छ। डे«सिङमा धेरै खर्च हुन्छ। धेरै पोलेको खण्डमा दिनमै चारपाँच हजार रुपैयाँसम्म डे«सिङका सामानमा खर्च हुन्छ। 

बाल्यकालमा नभई पछि अनुहार जलेका कतिपय महिला आफ्नो पहिलाको फोटो नै लिएर आउँछन्। ‘मेरो अनुहार पहिला यस्तो थियो, अहिले यस्तो भयो, पहिलाको जस्तै बनाइदिनुपर्‍यो’ भन्छन्। प्लास्टिक सर्जरी गरेर पुरानो अनुहारलाई फिर्ता ल्याउन सकिँदैन। नेपालमा मात्र होइन,युरोप–अमेरिकामा पनि यसो गर्न सम्भव छैन। हामी डाक्टरले दागलाई कम गर्ने मात्र हो। 

सरकारले बर्न सर्भाइभरका लागि कुनै पनि कार्यक्रम ल्याएको छैन। अहिलेसम्म जति जलेकाहरू बाहिर आएका छन्, आफैँ उत्प्रेरित भएर आएका हुन्। शहरका केही महिला बाहिर निस्किए पनि गाउँघरका त्यस्ता धेरै महिला छन्, जो बाहिर निस्किन सक्दैनन्। बर्न सर्भाइभर कति छन् भन्ने यकिन तथ्यांक पनि छैन।

Leave a Comment