घुर्ने समस्याबाट कसरी मुक्ति पाउने?  

Article   Dr. Purushottam Adhikari  on Sun, Jun 02 2019 09:35 AM 3857 Views 0 Comments 3 persons recommended

हामी धेरैमा सुत्दाखेरि घुर्ने वानी हुन्छ । घुराइ हाम्रो स्वासप्रश्वासको नलीमा हावाको घर्षणले गर्दा निस्कने एक किसिमको आवाज हो । सामान्यतया स्वासप्रश्वासको नली साँघुरो भएर हावा राम्रोसंग संचालन हुन सक्दैन र हामी घुर्ने गर्छौं । कहिलेकाही घुर्ने वानी सामान्य नै हो, तर हरेक निन्द्रामा घुर्ने वानीले भने स्वास्थ्यको दृष्टिकोणले हानीकारक हुन सक्छ । 

घुर्नुको कारणहरु के के हुन्?
१.    नाकको समस्या: पिनास वा एलर्जीको कारण नाकको भित्री भाग सुन्निएमा यसले हावाको प्रवाहमा असर गर्छ । साथै नाकको दुई प्वाल विचको भाग (सेप्टम) बांगीएको मानिसहरुमा पनि घुर्ने समस्या हुने गर्छ ।
२.    घाँटी र जिव्रोको मांसपेसीको समस्या: हाम्रो घाँटी र जिव्रोमा रहेका मांसपेशीहरु राम्रोसंग खुम्चिन नसक्ने स्थितिमा त्यो पछाडी सरेर हावा संचालन हुने बाटो साँघुरो गरिदिंदा पनि घुर्ने समस्या आउँ सक्छ । 
३.    घाँटीको आकार: प्राय मोटो मानिसहरुमा बोसोले गर्दा यदि घाँटीको आकार ठूलो भएमा यसले पनि घुराइको समस्या निम्त्याउन सक्छ ।
४.    रक्सी, निन्द्रा लगाउने औसधी र बुढो हुदै गएपछि यसले समस्यालाई थप वल्झाउदै जान्छ ।
५.    सुताईको आसन नमिलेको खण्डमा पनि घुर्ने लक्षण देखिन सक्छ ।

घुर्ने वानीले स्वास्थ्यमा के असर गर्छ? 
१.    घुर्नु आफैमा एउटा रोग नभएर विभिन्न रोगहरुमा देखिने एउटा लक्षण हो । त्यसैले यसको उपचारको निम्ती हामी स्वासप्रश्वासको कुन अंगको खरावीले घुरिरहेका छौं थाहा पाउन जरुरी हुन्छ । 
२.    घुर्ने वानी “स्लिप एप्निया” भनिने छोटो समय स्वासप्रश्वास बन्द हुने एक किसिमको रोगको पनि लक्षण हो । 
३.    राती सुत्दा घुर्ने वानीले हाम्रो निन्द्रालाई असर गर्छ । त्यसले गर्दा दिउसो आलस्य हुने, झर्को लाग्ने र काममा ध्यान केन्द्रित गर्न नसक्ने हुन सक्छ ।
४.    पछिल्लो केहि अध्ययनहरुको अनुसार लामो समय देखि घुर्ने वानी भएको मानिसहरुमा यसले मुटुको समस्या निम्त्याउन सक्छ । साथै यसले घाँटी भएर बग्ने रगतको नलीलाई पनि असर गर्न सक्छ ।
५.    घुर्ने वानीले गर्दा संगै सुत्ने मानिसको पनि निन्द्रामा असर गर्न सक्छ र यसले दुईजना विचको सम्बन्धमा पनि फाटो ल्याइ मानसिक समस्या निम्त्याउन सक्छ । 

उपचार के गर्ने?
१.    तौल घटाउने: मोटोपना पनि घुर्नुको एउटा कारण हो । त्यसैले खानपान र व्यायाममा विशेष ध्यान दिएर तौल घताएमा घुर्ने वानी केहि हदसम्म कम हुन सक्छ ।
२.    सुत्नु अघि धुम्रपान र रक्सी सेवन नगर्ने
३.    सुत्ने आशन परिवर्तन गर्ने: उत्तानो परेर सुत्ने भन्दा कोल्टे फर्केर सुत्ने गर्नाले घुर्ने वानी कम हुन सक्छ । साथै आफु संगै सुत्ने मानिसलाई कुन आशनमा सुत्दा घुर्ने वा नघुर्ने ख्याल राखी पछि नघुर्ने आशनमा सुत्न पनि सकिन्छ ।
४.    घुर्नुको कारण पत्ता लगाएर त्यसको उपचार गर्ने ।
५.    औसधी: नाकमा छर्किने केहि औसधी चिकित्सकको सल्लाह मार्फत प्रयोग गर्न सकिन्छ ।
६.    शल्यक्रिया: माथि उल्लेखित विधीले पनि घुर्ने वानी कम गर्न नसकेमा केहि शल्यक्रियाका विधीहरु मार्फत यो समस्याको हल गर्न सकिन्छ । 

Leave a comment