मोतियाबिन्दु सम्बन्धि जान्नै पर्ने कुरा  

Article   Dr. Tejsu Singh Malla  on Wed, Jul 22 2020 01:00 PM 3375 Views 0 Comments No recommendations yet !!!

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक अनुसार बिश्वमा करोडौं मानिस मोतियाबिन्दुका कारण दुबै आँखा देख्न सक्दैनन् । ४८ प्रतिशत मानिस अन्धोपनाबाट ग्रसित छन् । जबकी पाँच मिनेटको शल्यक्रियाबाट मोतियाबिन्दु हटाउन सकिन्छ र पुन आँखाको दृष्टि फर्काउन सकिन्छ ।

हाम्रो आँखामा जन्मे देखिनै लेन्स हुन्छ । लेन्सले प्रकाशको किरणलाई मोडेर आँखाको पर्दा (रेटिना) मा पुग्न सहायता प्रदान गर्छ, जसले गर्दा आँखा अगाडी देखिने चित्र सफा हुने गर्छ ।

लेन्स धमिलो भएमा आँखा अ गाडीको चित्रहरु पनि धमिलो हुने गर्छ, जसलाई मोतियाबिन्दु भन्ने गरिन्छ ।  यो धमिलोपना अझै बढ्छ र हेर्नमा कठिनाइ हुन्छ । मोतियाबिन्दु एउटा वा दुवै आँखामा हुन सक्छ । तर यो एउटा आँखाबाट अर्कोमा चाहिं सर्दैन ।

मोतियाबिन्दु सामान्यता वृद्धावस्थामा हुन्छ र यसलाई सिनाइल र एज रिले टेड मोतियाबिन्दु भनिन्छ ।  तर मोतियाबिन्दु जन्म जात आँखामा कुनै चोट लागेमा ,आँखाको कुनै कारणले ओपेरेशन गरेमा र जलबिन्दु वा मधुमेह जस्तो कुनै रोग लागेमा,कुनै औषधि जस्तै स्टेरोइडको प्रयोग लामो समय भएमा पनि हुनसक्छ।

वृद्धावस्था हुने मोतियाबिन्दु ६०-७५ वर्षको उमेरमा हुन्छ भने कसैकसैलाई ४०-५० वर्षको उमेरमा पनि  हुनसक्छ । चुरोट, रक्सी खाने, मोटोपन, मधुमेह, प्रेसर जस्ता रोग हुनेलाई मोतियाबिन्दु हुने जोखिम बढी हुन्छ ।

मोतियाबिन्दुका लक्षणहरु

१ ) मोतियाविन्दु भएमा आँखाको दृष्टि कम हुन्छ र चश्मा लगाउनेहरुको पावर फरक हुन्छ्र  । कसैकसैलाई टाढा हेर्न गार्‍हो हुनेतर नजिक देख्न सजिलो हुन्छ भने कसैकसैलाई नजिक देख्न गार्‍हो हुने तर टाढा देख्न सजिलो हुन्छ्र । यो मोतियाबिन्दुको प्रकार अनुसार फरक पर्छ  । नजिक देख्नको लागि चश्मा प्रयोग गरि राख्नु भएको छ भने चश्मा बिनानै पनि तपाईलाई राम्ररी देखेको अनुभूति हुन्छ जुन क्षणिक सुधार मात्रै हो । यस्तो हुनुको कारण मोतियाबिन्दु हो र केही दिनमै फेरी देख्नमा कठिनाई हुन्छ ।

२ ) राती सवारी साधन चलाउन गार्‍हो हुन्छ र सवारी साधनको प्रकाशले आँखा ट्वाल्ल बनाउँछ

३ ) इन्द्रेणी रंग देखिन सक्छ

समयमा उपचार नगरेको खण्डमा मोतियाबिन्दु पाक्न सक्छ । जलबिन्दु  तथा युभैटिस, आँखाको लेन्स ठाउँबाट सर्न वा खसेर आँखाको पछाडी भागमा जाने जस्ता समस्या हुनसक्छ । जसका कारण समय र पैसा दुवै धेरै खर्च हुने भएकाले समय मै उपचार गर्नु बुद्धिमानी हुन्छ ।

उपचार

यदि मोतियाबिन्दु शल्यक्रिया गर्न अवस्था आएको छैन भन्ने तपाईलाई चश्माको प्रयोग गर्ने सुझाव दिइन्छ्र । शल्यक्रिया गर्ने अवस्था भएको छ भने थप आँखाको जाँच गरिन्छ र कुन पावरको लेन्स लाग्छ, जाँच गरेर हेरिन्छ।

मोतियाबिन्दुको शल्यक्रिया एउटा सामान्य र सुरक्षित शल्यक्रिया हो । दुवै आँखाको मोतिबिन्दु छ भने एउटा आँखाको शल्यक्रिया भएको चार हप्ता पछि मात्र अर्को आँखाको शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा फेकोइमल्सीफिकिसेन (फेको) वा म्यानुअल समल इन सिसन (एमएसआईसिएस) मध्य एक गर्न सकिन्छ । फेको महँगो उपचार पद्धति हो । यो समान्यतया आठ हजार रुपैयाँबाट सुरु भई पचास हजार रुपैयाँसम्म पर्ने गर्छ । कुन आँखामा कस्तो लेन्स प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा भरपर्छ ।

फेकोमा महँगो मेसिनको प्रयोग हुने भएकोले नै यो शल्यक्रिया महँगो हुन गएको हो । साथै, जति राम्रो लेन्स हाल्यो, शल्यक्रिया पनि त्यति नै महँगो हुन्छ ।

नेपालको तु्लनामा विदेशमा फेको प्रविधि अझै महँगो हुन्छ । फेको शल्यक्रिया गर्दा आँखामा सानो घाउँ बनाइन्छ जसले गर्दा घाउ छिटै निको हुन्छ र काममा छिटो फर्किन सकिन्छ । फेको गर्दा सबै किसिमको मोतियाबिन्दुको शल्यक्रिया नहुन सक्छ तर म्यानुअल समल इन सिसन शल्यक्रियाबाट सबै किसिमको मोतियाबिन्दुको शल्यक्रिया हुन्छ ।

म्यानुअल समल इन सिसन शल्यक्रिया सस्तो हुनको कारण भनेको फेको मेसिन नचाहिने र सस्तो लेन्सको प्रयोग हुनु हो । सस्तो भएता पनि यो लेन्स राम्रै हुन्छ । तर घाउँ भने फेको भन्दा ठुलो हुन्छ र आँखा ५-७ दिन रातो हुन्छ । कसैकसैलाई दुख्न पनि सक्छ। यो शल्यक्रिया बार्‍ह सय रुपैयाबाट सुरु हुन्छ तर यसको शुल्क अस्पताल अनुसार फरक हुन्छ ।

आँखा जाँच गर्न जाँदा ध्यान दिनु पर्ने कुरा

– कुनै रोग लागेको छ भने वा कुनै औषधीको सेवन गर्नु भएको छ भने चिकित्सकलाई नलुकाईकन भन्नुपर्छ । औषधिको नाम थाहा नभए औषधि नै लिएर जानुपर्छ । त्यसरी जाँदा  डाक्टरले लेखेको औषधीको कागज लिएर गए झनै राम्रो हुन्छ ।

– सम्भव भएसम्म पुरानो कागज (रिपोर्ट) लिएर जानुपर्छ ।

-आँखा जाँचको क्रममा आँखामा औषधि प्रयोग हुन सक्ने र सो औषधिले काम गर्न ३० देखि ६० मिनेट समय लाग्ने हुदाँ अस्पताल जाँदा २-३ घण्टा समय राखेर जानुपर्छ ।

४ ) कम्तीमा पनि एक जना जान्ने बुझ्ने साथी लिएर जानुपर्छ ।

५ ) बिशेष गरि प्रेसर तथा सुगरका बिरामीहरुले अस्पताल जादाँ आफै सवारी साधन चलाउनु हुँदैन  । किनकि आँखाको जाँच गर्दा आँखाको पर्दाको समेत जाँच गरिने र आँखामा औषधि हाल्नु पर्ने हुदाँ आँखा  २-४ घण्टा मधुरो देखिन सक्छ ।

शल्यक्रिया (अपरेशन) पछि ध्यान दिनु पर्ने कुराहरु

१) शल्यक्रिया पश्चात्त आँखालाई धुलो धुवाँ तथा घामबाट बचाउनु पर्छ । यसको लागि कालो चस्मा लगाउनु पर्छ ।

२) कुनै पनि किसिमको खाना बार्नु पर्दैन । चिनी र प्रेसरका बिरामीहरुले भने खानामा बिशेष ध्यान दिनु पर्छ ।

३) घर गए पछि आँखा दुख्ने, दृष्टि कम भएमा तुरन्तै डाक्टरलाई देखाउनु पर्छ ।

४) शल्यक्रिया पछि नुहाउन वा कपाल धुन सकिन्छ  । तर शल्यक्रिया गरेको आँखालाई फोहोर पानीबाट बचाउनु पर्छ ।

५) आँखा सफा राख्नु पर्छ । र, आँखालाई सफा वा नरम कपडाले सफा गर्नु पर्छ र आँखा सफा गर्दा उमालेको मन तातो पानीको प्रयोग गर्नु पर्छ ।

६ ) तपाईले वा तपाईलाई आँखा सफा र औषधि राख्न सहयोग गर्ने साथीले साबुन पानीले राम्ररी हात धुनु पर्छ ।

७ )सामान्यता शल्यक्रिया पश्चात्त आँखा चिलाउने र अलि अप्ठेरो हुन सक्छ तर यो १-२ दिन मा आफै ठिक हुने भएकोले आँखा मिच्नु हुँदैन।

८ ) आँखालाई चोट लाग्नबाट बचाउनुपर्छ ।

९ ) शल्यक्रिया भएको आँखातिर कोल्टे परेर सुत्नु हुँदैन ।

१०) शल्यक्रिया गरेको कम्तीमा पनि दशदेखि पन्ध्र दिन गहुँगो सामान उचाल्नु हुँदैन ।

११) शल्यक्रिया गरेको १०-१५ दिन सवारी साधन नचलाए राम्रो ।

१२) लेख पढ तथा टिभी कम गर्नुका साथै आँखालाई सक्दो बिश्राम दिनुपर्छ ।

१३) शल्यक्रिया पछि चिकित्सकले दिएको सरसल्लाह राम्ररी मान्नुपर्छ । नबुझेमा सोध्नुपर्छ । दिएको औषधि ठिक समयमा लगाउनुका साथै बोलाएको समयमा फलोअप गर्नुपर्छ । समय छैन भन्दैमा हेल्चक्राई गर्नु हुँदैन । अन्यथा जटिल समस्या निम्तन सक्छ ।

१४)सामान्यतया मोतियाविन्दुको शल्यक्रिया गरेको चार हप्प्तामा फलोअपमा जानुपर्छ । त्यसमा पावर भएको चश्मा दिइने गरिन्छ ।

१५ ) कसैकसैको शल्यक्रिया पछि लगाएको लेन्स केही महिना वा बर्षमा धमिलो हुन सक्छ्यो  सामान्य हो र मोतियाबिन्दु पुरै नहटेको कारणले भनेर शंका गर्नु हुँदैन । प्रत्येक  ६ महिनामा वा बर्ष दिनमा डाक्टरलाई देखाउन सकेको खण्डमा राम्रो हुन्छ ।

१६ )शल्यक्रिया पछि लगाएको लेन्स धेरै धमिलो भएमा र डाक्टरलाई उचित लागेमा तपाईलाई लेसरको प्रयोग गरेर सफा गर्न सुझाव दिनसक्छ ।

(यो लेख अनलाइनखबरमा पनि प्रकाशित भएको थियो र जनचेतनाको लागि डा. मल्लले यस साइटमा पनि अपलोड गर्नु भएको छ।)

 

Leave a comment