मुलुकी ऐनमा मुलुकको दुर-भविष्यको आंकलन गर्दा  

Article   Dr. Sandesh Dahal  on Wed, Sep 05 2018 12:11 AM 2957 Views 0 Comments No recommendations yet !!!

मुलुकी ऐनमा मुलुकको दुर-भविष्यको आंकलन गर्दा

सन्देश दाहाल

पृष्ठभूमिको चर्चा गर्दा नेपालमा प्रजातन्त्रप्राप्ति पछी देशले ठुलो फड्को मारेको क्षेत्र भनेको स्वास्थ्य मात्रै हो, अरु कुनै छंदै छैन! यसमा कुनै सन्देह नै छैन! यस्तो बिकाश र विस्तार भएको क्षेत्रमा असमन्जस्य स्थिति बन्नु एक हिसाबले स्वाभाविक पनि हो! जनचेतनाको दाँजोमा चिकित्सा क्षेत्र धेरै गुना बिकाश भएकोले यसमा बुझ्ने बुझाउनु पर्ने कुराहरु धेरै बुझे-बुझाइएका छैनन् होला! यसमा ध्यान दिनु जरुरि छ!

तर पनि अहिलेको कानुनको सन्दर्भमा भन्दा फौजदारी कानुनी महलमा यस्ता गम्भीर अपराधहरु सुचिकृत हुन्छन, जसमा पिडित पक्षले जाहेरी दिनेबित्तिकै प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडी पढाउँछन्! अपराधको परिभाषा “ आफुले गरेको कार्यले अरु कसैलाई हानी हुन्छ भन्ने परिणाम जान्दा जान्दै, सोहि परिणाम प्राप्तिका लागि गरिने मनशाययुक्त कार्य हो”! यसका उदाहरणमा हत्या, बलात्कार, शरीर बन्धक वा अपहरणजस्ता जघन्य कुराहरु पर्छन! संसारमा कहीं नभएको क्रान्तिकारी राजनीतिक र कानुनी बिद्वानहरुले नेपालमा संसारमै नभएको चमत्कार नेपालमा गरेका छन्, उपचारलाइ हत्या, बलात्कार र अपहरणको महलमा राखेर! उपचारमा हानिको मनशाय हुन्छ भन्ने दिव्यज्ञान यिनीहरुले कुन गयाको पिपलको बोटमा लिएर आए, उनीहरु नै जानुन ! तर यसको अर्थ के हो भने, डाक्टरले गरेको उपचार पद्दति मन नपर्ने वा नबुझ्ने जो कसैले प्रहरीमा जाहेरी दिने बित्तिकै उक्त डाक्टरलाई हिरासतमा लिएर प्रहरीले चिकित्सकीय लापरबाहीको अनुसन्धान अगाडी बढाउँछ! दांत मात्र जान्न ३०-४० बर्ष पढ्नुपर्ने डाक्टरको आरोपित लापरबाहीको अनुसन्धान प्रहरीले गर्छ, त्यो पनि एउटा जाहेरीको भरमा! वाह क्या बात! नमन छ सम्पूर्ण महाशयहरुलाई जसले प्रत्यक्ष परोक्ष यसलाई मद्दत गरेका छन्!

शिक्षित बर्गका मन्त्रालय सचिबहरु देखि सांसद सम्म साथै आम नेपालीको ज्ञानको मुख्य स्रोत फेसबुक र सडकछाप अनलाइन पत्रिका हुन्! यसमा कसैको दुइमत छैन! यहि ज्ञानले मनको ढोका उघारेका विद्वान बर्गहरु र आम नागरिकहरु दंग छन्, वाह डाक्टरलाई जेल हाल्न पाइयो अब भनेर ! चिकित्सकीय लापरबाहीको निर्क्यौल फौजदारी कानुन र प्रहरीले गर्न सक्दैन, मिल्दैन भनेर यसलाई सच्याउन पर्छ भनेर माग गर्दा “ज्यान मार्न पाउँ भनेर आन्दोलन गरे डाक्टरले” भनेर बजारमा हल्ला फिजाइएको छ! अल्प अल्प जानकारीमा आएको कुरा त मुलुकी ऐन प्रतिस्थापन विधेयकको अक्षर अक्षर कसैले आफ्नु स्वार्थमा दिएको रकमको बलमा लेखिएको हो रे! लेख्नेले जानुन, यसको हिसाब इतिहासले गर्दै जाला!

मेरो उचित बिकल्प निस्केको दिन सायद फेरी यस्तो निर्बुद्दी झुण्डको नाम यो कानमा कहिले नपरोस भन्नेगरि जान्छु भन्ने निष्कर्ष होला कति पिडित र सम्भावित पिडित पेशाकर्मीहरुको! यो फौजदारी महलमा पेलिने डाक्टर बाहेक अन्य पेशाकर्मी पनि छन्! तर जान्न योग्य कुरा के चाही छ भने, संसदले चाही हत्या, वा बलात्कार जस्ता जघन्य अपराध गरेको आरोपित भएपनि शान, मान र रातो बत्ति भएको गाडी छोड्नु पर्दैन है ! शाशक र राज्य क्रुर हुन्छन, हुनै पर्छ! तर पनि अत्यन्तै जनसरोकार र बिशेसज्ञताको बिषयमा कुनै निर्णय गर्नु अघि सम्बन्धित बिज्ञको राय लिन आवस्यक छ भन्ने थाहा नहुने निर्बुद्दी झुण्ड राज्यको नेतृत्वमा छ भने त्यसले परिकल्पना गर्ने हो, बिरामीको उपचार र बलात्कार एकै प्रकृतिका जघन्य अपराध हुन् भनेर! आधा डाक्टर पलायन होलान र आधा जेल जालान, तर डाक्टरलाई जेल हाल्ने भनेर तालि पिट्ने जनताको हालत सम्भावित भोलि के हुनसक्ला भनेर केहि परिकल्पना गर्न सकिन्छ!

 

घटना १.

डोटीको दुर्गम गाउँमा रातको ११ बजे एक सुत्केरी महिला आउँछिन, व्यथाले च्यापेर! जिल्ला अस्पताल मेडिकल अफिसरले धानिरहेका हुन्छन्! मेडिकल अफिसरले पर्दा अपरेन गर्दैनन्, बालरोग बिशेसज्ञ पनि हैनन्! जबर्जस्ति सुत्केरी गराउदा आमा वा बच्चालाइ केहि भए पुर्बाधार नभएको ठाउँमा लापरबाही गरि मारेको महल आकर्षित हुन्छ, ५ बर्षको जेल! बिरामी रिफर हुन्छ! एम्बुलेन्सले ३५ हजार भाडा माग्छ! एम्बुलेन्स खर्च जुटाउँदै आमा र बच्चा दुबैको मृत्यु हुन्छ!

घटना २.

काठमाडौँकै मुटुमा फिजिसियनलाइ देखाउन एक केटो जान्छ, ज्वरो, टाउको दुख्ने र पेट दुख्ने भएर! लक्षणको हिसाबले लगभग टाइफाइड नै हो! तर अब लगभगले हुदैन अब किनभने लक्षणको आधारमा उपचार सुरु गरे पछी रिपोर्टले अर्कै रोग देखाउला र एक रोगको अर्कै उपचार महल अन्तर्गत जेल बस्ने डरले पहिला मात्र सिटामोल चलाउन पर्यो, त्यो पनि कलेजोको रिपोर्ट हेरेर किनभने सिटामोलले कलेजोमा असर गर्छ! टाइफाइडको रगतको रिपोर्ट आउन ३ दिन लाग्छ, ४०% मा मात्र पोजिटिभ आउँछ! नेगेटिभ आयो भने हड्डी छेडेर रगत मासी जांच गर्नुपर्यो! रगत कल्चर प्राय जिल्लामा हुँदैन! त्यसको अर्थ, काठमाडौँमा टाइफाइडको औषधि खान ज्वरो आएको एक हप्ता समय र जांच गरेको करिब १०-१५ हजार खर्च हुनेभयो! जिल्लामा पुर्बधार नभएकोले टाइफाइड जस्तो सामान्य रोगको निदान र उपचार पनि सम्भव नहुने भयो! दुर्गममा डाक्टरले औषधि नदिए पनि लामो अनुभव भएका औषधि पसले वा झारफुककोमा गएर भने सजिलै उपचार पाउन सकिन्छ, त्यहि मुलुकी ऐनको दफा अनुसार!

घटना ३.

८० बर्षका बाजे छन्, प्रोस्टेट बढेर पिसाबको पाइप झुन्डाएर हिंडछन्! एउटा अपरेसन गरेपछि उनको दुख दुर हुन्छ! तर उनलाई मधुमेह छ, उमेरको कारणले मुटुमा समस्या छ! अपरेसन गर्न खतरा छ! अपरेसन गर्यो भने ज्यान जान सक्छ! ज्यान गए ज्यान मार्ने उद्द्योग आकर्षित हुन्छ, १५ कि २० बर्ष जेल सजाय छ! कुनै डाक्टरले अपरेसन नगर्लान! बाजेको पिसाबको पाइप बिसाउने सपना उनको जीवनभरिको मृगतृष्णा नै रहन्छ!

घटना ४-

रिपोर्ट लिएर एक बिरामी डाक्टरकोमा पुग्छन! रिपोर्टमा पिसाबको संक्रमण छ! अब अहिलेको फौजदारी कानुनमा के लेखिएको छ भने, “कुनै औषधिले ज्यान जान्छ भन्ने जान्दा जान्दै, उक्त औषधि सिफारिस गरेर बिरामीको ज्यान गएमा ज्यान मारे सरह, र अंगभंग भए अंगभंग गराए सरह २० र १५ बर्ष जेल सजाय हुने” लेखिएको छ! औषधि विज्ञानको किताब पल्टाएर हेर्नुस, सिटामोलको एक चक्कीले पनि ज्यान जान सक्छ कसैको! अब डाक्टरले औषधि लेख्ने कि नलेख्ने, जब कि उसलाई थाहा छ संसारमा आजसम्म बनेका सय प्रतिशत औषधिले ज्यान जानसक्ने सम्म रियाक्सन गर्न सक्छन! डाक्टरले भन्नुपर्ने हुन्छ, “तपाइंको रोग र त्यसको औषधि समेत मलाई थाहा छ, तर त्यसको प्रयोगले यदाकदा कसैकसैको ज्यान जानसक्छ! त्यो ज्यान तपाइंको गयो भने मैले २० बर्ष जेल बस्नुपर्ने छ, तेसैले म तपाइंलाई कुनै औषधि सिफारिस गर्न सक्दिन, औषधिको नाम भन्दिन्छु मन लाग्छ भने आफ्नु रिस्कमा आफैं किनेर खानुस !”  

घटना ५-

दुर्घटनामा कसैको खुट्टा पुरै पेलियो, खुट्टा मरिसक्यो! त्यो खुट्टा त्यत्तिकै राख्दा बिरामीको ज्यान जान्छ, र ज्यान बचाउने उपाय भनेको खुट्टा काटेर फ्याक्ने हो! तर अपराध महलले भनेको छ, “अंगभंग हुने जान्दा जान्दै डाक्टरले कुनै अपरेसन गर्दा कोहि अंगभंग भएमा १५ बर्षको जेल सजाय गरिनेछ!” ज्यान बचाउन खुट्टा काटे पनि खुट्टा काटेको अंगभंग त हुन्छ नै, यो सबैलाई थाहा भएको कुरा हो! यस परिस्थितिमा डाक्टरले अपरेसन गरेर खुट्टा फ्याक्ने अपरेसन गर्नु भएन!

घटना ६-

बिरामीलाई पेटको क्यान्सर छ, र त्यसले फियो छोएको छ! अपरेसन गरे बिरामी ज्यादा बाँच्न सक्छ! उपचारको फौजदारी महलले भन्छ,”एक अंगको साटो अर्को अंगको अपरेसन गरेमा...............!” भोलि उजुरी पर्ला, बहस होला! “क्यान्सर के को?”- पेटको! केको अपरेसन गरियो? “आमासय र फियो फ्याँकियो!” आमासयको रोग थियो, फियो फ्याकियो! लापरबाही भयो, डाक्टरलाई जेल! यो सुन्दा मजाक लाग्छ, तर भएको घटना हो! कुनै ठाउमा आमासयको क्यान्सरको अपरेसन गर्दा क्यान्सरको ढिक्कामा मृगौला थियो, पछी क्यान्सरको ढिक्काको बायोप्सीमा मृगौला देखियो! आफन्तले लापरबाहीको आरोप लगाए, “पेटको अपरेसनमा मृगौला चोरेर बेच्यो!”

घटना ७-

बाटोमा सडक दुर्घटना भयो, बिरामीको हात भांचिएको आफन्तले देखे! अस्पतालमा बिरामीको प्रेसर घट्यो, पेटमा फियो फुटेर ३ लिटर रगत जमिसकेको थियो! इमर्जेन्सीमा बिरामीलाई इन्कार गर्न डाक्टरको इथिक्सले दिदैन, रिस्क मोलेर पेटको अपरेसन गरियो, ३ दिनपछि बिरामीको मृत्यु भयो! आरोप आयो, हात भाचिएको, पेटको अपरेसन गरेर बिरामी मार्यो! कसैले उजुरी गर्यो, डाक्टरले जेलमा ज्यानमाराको सजाय काट्दै!

बुझ्न पर्ने कुरा के हो भने आफुले नबुझेका सबै कुरा लापरबाही हुदैनन्! उपचार अपराधको महलमा कुन विद्वताको देन हो बुझिनसक्नु छ! डाक्टर भनेको लडाईको सिपाही जस्तै हो! हौसला दिनुस, लडाई जितेर आउँछ! हारेर आइस भने मार्छु भनेर सिपाहीलाई लडाई पठायो भने उसको हविगत के होला?

नत्र उपचार र अपराध एकै होइनन् है भनेर गरेको डाक्टरको अनुनयलाई “ज्यान मार्ने लाइसेन्स मागेको” भनेर ब्याख्या गर्न थालियो भने यसको सजाय डाक्टरले त भोग्छन नै, यसको भुंग्रोमा देशको स्वास्थ्यको भविष्य नै पर्ने निश्चित छ! उपचारको क्रममा बिरामी मरे डाक्टरलाई जेल भन्नु त्यति नै जायज हो जति विद्यार्थी फेल भए शिक्षकलाई जेल, दुर्घटनामा मान्छे मरे ड्राइभरलाई जेल, जिल्लामा अपराध भए सिडिओलाई जेल, अपराधी नसमाते पुलिसलाई जेल, बाटो भत्किए इन्जिनियरलाई जेल, समाचार झुठा भए पत्रकारलाई जेल! लापरबाही माफ भन्ने किमार्थ स्वीकार्य हुन सक्तैन, तर लापरबाही प्रमाणित बिज्ञले नै गर्नुपर्छ! आफन्त मर्नेबित्तिकैको आबेशमा कसैले जाहेरी दिएर डाक्टरलाई फौजदारी अभियोगमा पुलिसले समाउने र छानबिन गर्ने प्रक्रियामा गएर देशको स्वास्थ्य सुधार हुदैन! यसले भयाबह स्थितिको सिर्जना हुन्छ!

देशमा प्रमाणित लापरबाहीका घटना त एकदमै कम छन्! जति लापरबाही भनेर देखाइएक छन्, त्यसमा अधिकांसमा लापरबाही प्रमाणित भएका छैनन्! एक अस्पतालमा मृगौला चोर्यो भनेर साँसद जत्तिको जिम्मेवार मान्छेले समेत हचुवामा हंगामा गरे, तर छानबिनले त्यसलाई गलत ठहर्यायो! लापरबाहीको हल्ला प्रमाणित नभएका र सडकछाप अनलाइनबाट सार्बजनिक भएका मात्र छन्! हल्लाको भरमा आएको यत्रो कानुन कतै देशमा विश्वसनीय उपचार छैन भन्ने भ्रम फिजाउने, डाक्टर र जनता भिडाउने र बिरामी विदेश पठाएर कमिसन खाने दलालको स्वार्थमा वा जनताको वकालत गरेको भ्रम फिंजाएर लापरबाहीको हल्लालाइ आफ्नु रोजीरोटी बनाउन उद्दत स्वार्थ समुहको मिलिभगतमा त आएको होइन? जनताले कुरा बुझेर सबैलाई खबरदारी गर्नु जरुरि छ! नत्र स्याल आयो भन्ने झुठो हल्ला सुनेर नबुझी बारीमा स्याल धपाउन निस्किदा आफ्नु सिरीखुरी चोरिएला ! त्यस्तो भएमा लुटिएको घरको दलिनमा बसेर पुर्पुरोमा हात लगाएर आफुलाई धिक्कार्नु पर्ने जस्तो स्थिति नआओस !

Leave a comment