Talk to us: +977 1 4102891

काठमाडौं- बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।
के हो ग्यास्ट्रिक? के हो अल्सर?

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं। अनि डाइजिन, पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं। तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ। 

हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ। त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन्। कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ। एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ। चिकित्सकीय भाषामा ग्यास्ट्रिक र योसँग मिल्ने रोगलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भन्ने गरिन्छ। तीन हुन्

१. ग्यास्ट्रिक– बिरामीले समस्या लिएर आउने तर इन्डोस्कोपी (पेटभित्र पाइप छिराएर हेर्ने विधि) गर्दा घाउ नदेखिएको अवस्था। 

२. अल्सर– इन्डोस्कोपी गर्दा घाउ देखिएको अवस्था।

३. जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लेक्स डिजिज)– एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ। जसले गर्दा पेटमा रहने एसिड माथि छाती र घाँटीमा आउन थाल्छ, त्यसलाई जिइआरडी भनिन्छ। यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानि आउने, डकार बढेर आउने आदि समस्या देखिन्छ। विशेषगरी सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ। 

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल आउने गर्छन्। पेटका हरेक रोग ग्यास्ट्रिक वा अल्सर हुँदैन। कहिलेकाहीँ परीक्षण (भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी) गर्दा केही पनि खराबी नदेखिने तर पेट फुल्ने, असजिलो हुने र पेट दुख्ने भइरहन्छ। केही काम गर्दा भन्दा नगर्दा, यसै बस्दा बढी समस्या भएको भान हुन्छ। 

चिन्ता, टेन्सन वा अत्तालिएको अवस्थामा यस्तो समस्या बढेर आउँछ। यसलाई ‘आइबिएस’ (इरिटेबल बावल  सिन्ड्रोम) भनिन्छ। यो समस्या धेरै मानिसमा देखिन्छ। ग्यास्ट्रिक र आइबिएस दुवैमा समान लक्षण देखिने भएकाले मानिसले यी दुई समस्याबीच भिन्नता छुट्याउन सक्दैनन् र ‘ग्यास्ट्रिक भयो’ भन्ने गर्छन्।

समस्याको सही पहिचान नहुँदा मानिसले आइबिएसमा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन्। लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ भने ख्याल राख्नुस्, तपाईंलाई इरिटेबल बावल सिन्ड्रोम पनि भएको हुन सक्छ। यसको उपचार ग्यास्ट्रिकको उपचारभन्दा फरक हुन्छ।

ग्यास्ट्रिक र अल्सरका कारण

१. धूमपान एवं सुर्तीजन्य पादार्थको सेवान, 

२. नदुख्ने औषधि (पेनकिलर), बाथरोगका औषधि आदिको नियमित सेवन,

३. जंकफुड, 

४. चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग, 

५. चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान,

६. अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण, 

ग्यास्ट्रिक भयो भनेर उसिनेको मात्रै खाने, खल्लो खाने र धेरै मुख बार्दैमा सफल उपचार हुँदैन। के खाने र के नखाने भन्नेबारे राम्रो जानकारी हुनुपर्छ। 

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने, के नखाने?

के खाने?

१. गिलो बनाएको दालभात,

२. प्रसस्त पानी, 

३. हरिया सागसब्जी, आदि। 

के नखाने?

१. सुक्खा खानेकुरा, 

२. अचार, खुर्सानी, घिउ, अमिलो दही,

३. रातो मासु, 

४. तेल/घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन आदि, 

५. अमिलो फलफूल, कागती,

६. दूध हालेको चिया,

७. कफी, चकलेट, 

८. चना, केराउ,

९. कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स। 

के खाने र के नखाने भन्ने बुझ्नु जति जरुरी छ, त्यति नै कुन तरिकाले खाने भन्ने कुरा मनन् गर्नु पनि आवश्यक छ।

बारम्बार दूध चिया खाइरहने, समयमा खाजा नखाने, दुई छाकले २४ घन्टा टार्न खोज्ने जस्ता बानीले धेरैलाई ग्यास्ट्रिकको जोखिममा पार्ने गरेको छ। सही खानपानकै माध्यमले ग्यास्ट्रिक र अल्सरजस्ता समस्याबाट ढाटा बस्न सकिन्छ। ३–४ घन्टाको फरकमा केही न केही खाइरहने गर्नुपर्छ। सकेसम्म पेटलाई खाली राख्नु हुँदैन।

यसो भन्दैमा चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता पनि दिनु हुँदैन। यस्तै, नियमित व्यायाम र समस्या देखिए उचित औषधि सेवन गरेर ग्यास्ट्रिक र अल्सरबाट मुक्ति पाउन सकिन्छ। 

(गेस्ट्रो एन्ड हेपाटोलोजी विशेषज्ञ डा भट्टराई गेस्ट्रो केयर, पेट तथा कलेजो रोग उपचार केन्द्र पोखराका कार्यरत छन्)

Source: http://swasthyakhabar.com/news-details/15662/2018-01-13

Leave a Comment

dashshainfev X