एक वर्षमा पौने चार लाखले लिए वीर अस्पतालबाट सेवा



Download our app to get more features

काठमाडौं, १२ साउन । आर्थिक वर्ष २०७३÷७४ मा वीर अस्पतालबाट ३ लाख ८४ हजार ५ सय ५५ जनाले सेवा लिएका छन् । अस्पतालको १२८औं वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले वीर अस्पतालबाट एक वर्षमा इमर्जेन्सीसहित ओ.पि.डिबाट ३ लाख ८४ हजार ५ सय ५५ जनाले सेवा लिएको बताए । उनका अनुसार अस्पतालमा भर्ना भएका १२ हजार १ सय ३८ जना र इमर्जेन्सीसहित अपरेशन ५ हजार ९ सय ६९ सेवाग्राहीले सेवा लिएका छन् । 

१२ साउन १९४७ मा १५ शैयाबाट सेवा सञ्चालन गरेको वीर अस्पतालमा अहिले ४ सय ६० शैयाबाट सेवा उपलब्ध भइरहेको प्रा.डा. बस्नेतले बताए । आ.ब. २०७३÷०७४ मा अस्पतालले एक अर्ब ७९ करोड ४७ लाख खर्च गरेको निर्देशक बस्नेतले बताए । सरकारबाट प्राप्त ८० करोड ९७ लाख रुपैयाँ र स्वास्थ्य उपकरण खरिदका लागि तत्कालिन स्वास्थ्य मन्त्री र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पहलमा थप १ अर्ब १८ करोड ५० लाख रुपैयाँ उपलब्ध भएको थियो । यसैगरी अस्पतालको आन्तरिक स्रोतबाट २८ करोड ५० लाख आम्दानी र उक्त रकम मध्ये २६ करोड ५० लाख खर्च भई २ करोड रुपैयाँ बचत भएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ । 

अस्पताल हातामै अक्सिजन प्लान्ट सुरू
निर्देशक प्रा.डा. बस्नेतले वीर अस्पतालले यसै वर्षदेखि अस्पताल हातामै अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएको बताए । साथै अस्पतालले दश शैयाको हाई डिपेन्डेन्सी वार्ड र २४ घण्टे हेमोडायलासिस सेवा पनि सुरु गरेको उनको भनाइ छ । यो सेवा सुरु भएसँगै इमर्जेन्सी हेमोडायलासिस र नियमिततर्फ झन्डै दोब्बरले सेवा लिएका छन् । पुरानो आइ.सि.युमा तीन शैया थपिएका छन् । जसमध्ये दुई शैयामा हेमोडाइलासिस सेवा उपलब्ध गराइदै आएको छ । अस्पतालले चैत २०७३ देखि आइतबार र बुधबार मानसिक रोगसम्बन्धी ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ । क्यान्सर रोग उपचारको लागि रेडियोथेरापी मेसिन, न्युरो सर्जरी उपचार सम्बन्धी विभिन्न मेसिन, इ.एन.टी, कार्डियोलोजी, ग्याष्ट्रोलोजी, फिजियोथेरापी मेसिन खरिद प्रक्रियामा रहेको निर्देशक बस्नेतले बताए । साथै अत्याधुनिक नयाँ ७ तले सर्जिकल ब्लक निर्माणको लागि बोलपत्र आव्हान गरेको उनको भनाइ छ ।

विशेषज्ञ चिकित्सकको दरबन्दि बढाउन माग 
वीर अस्पतालमा सरकारतर्फका एक सय ४१, न्याम्सका एक सय १० गरी जम्मा २५१ नर्सिङ कर्मचारी कार्यरत छन् । वीर अस्पतालको सेवा विस्तारको अनुपातमा यो सङख्या आधा कम भएको निर्देशक डा. बस्नेतले बताए । उनले भने ‘विशेषज्ञ चिकित्सकको दरबन्दि पनि वृद्धि गर्नुपर्छ । अस्पतालका उपकरण पनि पुराना भएकाले तीनको व्यवस्थापनमा सरकारले आर्थिक सहयोग गर्नुपर्छ ।’ 
नेपाल सरकारबाट अस्पतालका लागि उपलब्ध भक्तपुरको पाँच सय २० रोपनी जग्गामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक अस्पताल निर्माणका लागि पहल गर्न पनि उनले जोड दिए । साथै, वीर अस्पलातमै बालरोग, प्रसुति सेवा, मानसिक रोग र आँखा सम्बन्धी सेवा सञ्चालन गर्न निर्देशक प्रा. डा. बस्नेतले आग्रह गरे । 

Last modified on 2017-07-28 08:00:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts