वीर अस्पतालको एउटा आँगन झकिझकाउ, अर्को आँगन डुङ्ग डुङ्ग्ती...



Download our app to get more features

काठमाण्डौ । बिहीवार देशकै जेठो वीर अस्पतालले आफ्नो स्थापनाको १२८ औं वार्षिक उत्सव मनायो । वार्षिकोत्सव समारोह वीर अस्पतालको मूलभवन अगाडी सडकपारीपट्टि पहिले नर्सिङ्ग क्वार्टर, पार्किङ्ग लगायत भएको ठाउँमा भव्य रुपमा गरिएको थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रमका प्रमुख अतिथि थिए । त्यस्तै नवनियुक्त स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति गिरिराजमणि पोखरेल, रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्व स्वास्थ्यमन्त्री गगन थापा लगायत व्यक्तिका साथै स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानका अधिकारीहरु सहित सयौं आगन्तुकहरु कार्यक्रममा सहभागी थिए । 

कार्यक्रमस्थलमा पुरै ग्रिन कार्पेट विछ्याइएको थियो । घडाहरु सजाइएका थिए । पुष्पगुच्छा र खादाहरुको लाइन लागेको थियो । अस्पतालका कर्मचारीहरु सम्मानपत्र र कदरपत्र थाप्न लाइन लागेर बसेका थिए । कार्यक्रममा प्रतिष्ठान र अस्पतालका अधिकारी र अतिथिहरुले समेत प्रतिष्ठान र अस्पतालको प्रशंसा गरे । अस्पतालका अधिकारीहरु मन्त्री, प्रधानमन्त्रीको वरिपरि पर्दै अस्पताल सुधार भएको आशयका बिन्ति चढाउँदै थिए । वीर अस्पतालका एउटा आँगनमा ग्रिन कार्पेट ओछ्याएर वार्षिकोत्सव भएको थियो । जहाँबाट निक्लँदासाथ मूल सडक थियो । मन्त्री, प्रधानमन्त्री त्यहीँबाट आए त्यहीँबाट फर्किए । उनीहरुले अस्पतालका अरु आगन देखेनन् । 

तर, यहाँ एउटा डुङ्ग डुङ्ग गन्हाउने आगनको चर्चा गरिएको हो । वीर अस्पताल भवनको पछाडी खाली गरे बनाइएको पार्किंग क्षेत्रमा पुग्ने जोकोही मानिसपनि दुर्गन्धले मुख छोपेर हिँड्नुपर्ने छ । महिनौंदेखि तह नलागेको अस्पतालजन्य फोहोरको थुप्रोले त्यहाँ पुग्ने जोकोहीलाई नाक थुन्न बाध्य बनाउँछ । तर, सायद अस्पतालका चिकित्सक र कर्मचारीलाई त्यो गन्ध बानी परिसकेको छ । त्यही पार्किङ्गमा आएर अस्पतालका डाक्टरसावहरुले प्रत्येकदिन बिहान गाडी राख्छन्, भित्र गएर संक्रमणका बारेमा विद्यार्थी र बिरामीलाई पढाउँछन् र बेलुकी त्यही उच्च संक्रमणको खतरा रहेको फोहोरको थुप्रोबाट गाडी निकालेर घर फर्कन्छन् । कि डाक्टर, नर्सलाई चाहीँ संक्रमणको सम्भावना नै हुँदैन ? 

त्यसो त वीरको वार्षिकोत्सवमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा पनि थिए । जसले वीरमा कार्यसम्पादन करारमा हस्ताक्षर गराएर निर्देशक नियुक्त गरेका थिए । सायद त्यो करारपत्रमा सामान्य विषय भनेर फोहोर व्यवस्थापनलाई समेटिएन होला । नत्र भने महिनौंदेखि किन फोहोर थुप्रो लाग्थ्यो र वीरमा । अस्पतालको टिकट प्रणालीलाई टोकनमा लैजाने बाहेक अरु कार्यसम्पादन करारमा थिएन कि ?

कसरी थुप्रियो फोहोर ? 
अस्पतालमा फोहोर थुप्रिएको ठाउँमा यसअघि फोहोर व्यवस्थापन केन्द्र पनि थियो । जाइकाले १०० शैया क्षमताको भवन बनाउने भनेर अहिले भत्काइएको छ । त्यतिञ्जेल उक्त ठाउँमा फोहोर थुपारिएको छ । अस्पतालले यसअघिदेखि नै फोहोर ठेकदार मार्फत तह लगाउने गरेको थियो । यसअघिका निर्देशक डा. स्वयंप्रकाश पण्डितले अस्पतालले फोहोर बेचेरै मासिक २०–३० हजार आम्दानी गर्ने गरेको सुनाउँथे । त्यस्तै अस्पतालभित्रै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरिन्थ्यो । दैनिक ठेकेदारले फोहोर लैजान्थ्यो । त्यहाँको भवन भत्काइएपछि त्यहाँको फोहोर सँगैको ट्रमा सेन्टरमा लगेर वर्गिकरण गर्ने र व्यवस्थापन गर्ने गरिएको थियो । 

अस्पतालको फोहोर लैजान अघिल्लो वर्ष ठेक्का पारेको मेट्रो सिटी नामक कम्पनीले फोहोर उठाउन नमानेको अस्पतालको खरिद इकाईकी भगवती थपलियाले बताइन् । ठेकेदार कम्पनीले घरी ओखरपौवाको बाटो बिग्रेको, घरी गाडी नभएको भन्ने बहाना गरेर फोहोर नउठाएको उनले बताइन् ।अस्पतालले फोहोर उठाइदिन महानगरपालिकालाई एकहप्ताअघि नै चिठी लेखेको उनको जवाफ छ । उनले नयाँ आर्थिकवर्ष सुरु भएसँगै नयाँ ठेक्का आह्वान गर्ने प्रकृया सुरु भएको बताइन् । अस्पतालका निर्देशकसँग भने प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । 

के हानी गर्छ अस्पतालजन्य फोहोरले ? 
अस्पतालको फोहोर थुपारिएको स्थान क्यान्सर उपचार कक्ष (अंकोवार्ड) नजिकै रहेको छ । सँगै रेडियोलोजी विभाग अन्तर्गतको एमआरआई गर्ने कक्षपनि रहेको छ । साथै अस्पतालका कर्मचारी एवं सर्वसाधारणसमेत उक्त स्थानबाट प्रवेश गर्ने र निक्लने गर्छन । सामान्यता अस्पतालजन्य फोहोर सामान्य फोहोरभन्दा बढी संवेदनशिल हुन्छ । बिरामीलाई प्रयोग गरिएका चिकित्साजन्य सामाग्री देखि लिएर प्रयोग भएका सिरिञ्जसम्म त्यहीँ फालिएको छ । जसले रोगहरुको संक्रमण सार्ने उच्च जोखिम हुन्छ । 

वीर अस्पतालकै फिजिसियन एवं आकस्मिक कक्षका प्रमुख डा. केदार सेञ्चुरीले अस्पतालजन्य फोहोरका कारण मुख्यगरी सरुवारोग र संक्रामक रोग फैलने जोखिम रहने बताए । हैजा लगायत सरुवारोगका साथै टिटानस, छालाको इन्फेक्सन, हेपाटाइटिसको संक्रमण हावाको माध्यमबाट फैलनसक्ने उनको भनाइ छ । सेन्चुरीका अनुसार जथाभावी फोहोरबाट टाइफाइड, निमोनियाको संक्रमण पनि फैलने सम्भावना उच्च रहन्छ । 

जताततै फोहोरमैलाले भरिएको शहरमा यस्ता विषय सामान्य लागेपनि जनस्वास्थ्यको रखवाली गर्ने चिकित्सकहरुकै आँगनमा यसरी फोहोर थुप्रिनुले अव्यवस्थालाई स्पष्ट देखाउँछ । यो सरासर जनस्वास्थ्यमाथिको खेलवाड हो । अस्पतालकै प्रांगणमा महिनौदेखि फोहोर थुप्रिँदा कानमा तेल हाले बस्ने अस्पताल प्रशासनले मन्त्री प्रधानमन्त्रीको अगाडी ठूलो कुरा गर्नु जागिर जोगाउनु र चाप्लुसी गर्नु शिवाय केही होइन । 

Last modified on 2017-07-28 15:59:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेता, तिनै नेताहरूका हनुमान जनता र पैसाको पछी लाग्ने कर्मचारीहरू भएको देशले यस्ता कुरा सहनु कुनै अनौठो होईन...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts