जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा अख्तियारद्वारा छापा



Download our app to get more features

राजविराज (सप्तरी), १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको एक टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । 

मनोमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकै औषधि जलाइएको समाचार बाहिर आएपछि अख्तियारको टोलीले बुधबार छापा मारी कागजात नियन्त्रणमा लिएको हो । 

आयोगको इटहरी कार्यालयका अनुसन्धान अधिकृत विष्णुकुमार फेगुवा लिम्बूको नेतृत्वको टोलीले म्याद बाँकी रहेकै औषधि जलाइएको र सरकारले रोक लगाएको कम्पनीबाट औषधि खरिद गरेको विषयमा जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गर्नुका साथै आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ । 

अनुसन्धान अधिकृत लिम्बूले मनमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकै औषधि जलाइएको सम्बन्धमा अनुसन्धान एंव छानबिनपछि दोषी देखिएमा कारबाही हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले गत शुक्रबार म्याद रहेकै औषधि जलाएका थिए । 

सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्युटिकल्स कम्पनीबाट यहाँको कर्मचारीले गत आवमा औषधि खरिद गरेका थिए । जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरिद गर्नका निम्ति बोलपत्रसमेत गरिसकिएको थियो । 

सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरिद गरेर ठूलो आर्थिक अनियमितता गरिएको अनुमान छ । यता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चौधरीका अनुसार स्टोर किपरले स्टोर सफा गर्दा म्याद गुजे्रका तथा कुहिएको अवस्थामा रहेको औषधि मात्र नष्ट गरिएको दाबी गरे ।

रासस
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts