नवनियुक्त स्वास्थ्यमन्त्री पोखरेलद्वारा पदभार ग्रहण, पहिलो फाइल नै सदर गर्न मानेनन्



Download our app to get more features

काठमाण्डौ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पदभार ग्रहण गरेका छन् । 

शपथग्रहण पश्चात रामशाहपथस्थित मन्त्रालय पुगेका मन्त्री पोखरेललाई स्वास्थ्यमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न मन्त्रालयका विभिन्न विभाग, महाशाखा तथा निकायहरुका अधिकारी दिउसैदेखि मन्त्रालय प्रांगणमा जम्मा भएका थिए । पदभार ग्रहण गरेलगत्तै मन्त्री पोखरेलले संविधान प्रदत्त मौलिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले आफ्नै पालामा सुरु भएको निशुल्क औषधिलाई सर्वसुलभ बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले नयाँ संघीय संरचना अनुसार तल्लो तहको इकाइसम्म स्वास्थ्य सेवा प्रवाहको स्पष्ट र प्रभावकारी संरचना बनाउने पनि आफ्नो प्राथमिकता भएको बताए । जनतालाई निशुल्क औषधि र स्वास्थ्य सेवा दिने र त्यसले समेट्न नसकेकालाई स्वास्थ्यबीमाले समेट्ने उनको भनाइ छ । 

पहिलो फाइल नै सदर गर्न मानेनन् 
मन्त्रीको पदभार ग्रहण गरेसँगै मन्त्री पोखरेललाई मन्त्रालयका अधिकारीहरुले दुईवटा फाइल सदर गर्न लगाएपनि उनले मानेनन् । निशुल्क सेवा लक्षित समुहको दायरा बढाउने सम्बन्धी नीतिगत व्यवस्था सम्बन्धी फाइल र समुदायमा आधारित मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण सम्बन्धी फाइल सदर गर्न मन्त्रीको टेबुलमा राखिएपनि उनले हस्ताक्षर गर्न मानेनन् । उनले ती विषयमा अध्ययन गरेरमात्र निर्णय गर्ने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले मन्त्री बहाली हुनेबित्तिकै कुनै फाइल सदर गर्ने परम्परा भएको बताएपनि पोखरेलले अध्ययन नगरी हस्ताक्षर नगर्ने अडान दोहोर्याए । 

डा. केसीको विषयमा तत्काल अध्ययन थाल्छु 
मन्त्रीको पदभार ग्रहण गरेसँगै पोखरेलले डा. केसीको अनशनका विषयमा आफ्नो ध्यानाकर्षण भैसकेको बताए । उनले डा. केसीका माग सम्बोधन गर्न आफ्नो मन्त्रालय र अन्य मन्त्रालयमा पनि पहल गर्ने बताए । 

Last modified on 2017-07-27 07:01:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts