सरकारी निर्देशनको बेवास्ता,२ नबज्दै अस्पताल छाड्छन् चिकित्सक



Download our app to get more features

पोखरा, साउन ११ । बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन्। २५ रुपैयाँको टिकट लिएर सोमबार बिहान ११ बजे प्रसूति वार्डमा गएपछि चिकित्सकले रगत र पिसाब परीक्षण गर्न भने । प्रयोगशालाले २ बजे रिपोर्ट लिन आउनु भनेकाले सोहीअनुसार गरिन् । सबै रिपोर्ट लिएर वार्डमा पुग्दा चिकित्सकले हेर्न मिल्दैन, देखाउने हो भने ४ सय रुपैयाँको टिकट लिनुपर्छ नभए अर्को दिन आउनु भनेपछि उनी र श्रीमान् किसानप्रसाद लामिछाने निराश भए । भनसुन गरे । केही नलागेपछि दम्पतीले कास्की प्रशासनमा गएर समस्या बताए । ‘गरिबको अस्पताल भनेको त होइन रहेछ’, दम्पतीले भने, ‘बिरामीको समय र संवेदनशीलतामाथि खेलवाड गरियो । यो सरासर अन्याय हो । अस्पतालले यसमा सुधार गर्नुपर्छ ।’

नारायणीमात्र होइन, यतिबेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पताल आउने अधिकांश बिरामीले सास्ती व्यहोर्नुपरेको छ । सरकारले दिउँसो ३ बजेसम्म अस्पतालमा बहिरंग सेवा (ओपीडी) दिनुपर्ने भने पनि प्रोत्साहन भत्ता नपाएको भन्दै चिकित्सकले काम नगरेपछि सेवाग्राही मर्कामा परेका हुन । 

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन र मन्त्रालयको परिपत्रका आधारमा अस्पतालले वैशाखबाट बिहान ९ देखि ३ बजेसम्म ओपीडी सेवा दिँदै आएको थियो । पहिला १० देखि २ बजेसम्म ओपीडी सेवा सञ्चालन हुँदै आएकोमा वैशाखयता ९ देखि ३ बजेसम्म बनाइएको थियो । ‘चिकित्सकले काम पनि गर्नुभयो,’ अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने, ‘तर भत्ता रकम नआएर दिन नसकेपछि काम रोकिएको हो ।’ यस विषयमा मन्त्रालयमा बुझदा भत्ताका लागि पहल भइरहेको मात्रै उत्तर पाउने उनले बताए । अस्पतालले तीन महिनाको ३६ लाख रुपैयाँ प्रोत्साहन भत्ता माग गरी मन्त्रालयमा पठाएको थियो ।  

मन्त्रालयले अनुदान भन्दै २० लाख रुपैयाँ पठाए पनि कार्य्विधि तथा निर्देशन अस्पष्टताले उक्त रकम भत्तास्वरूप दिन नसकिएकाले फिर्ता गएको लेखा अधिकृत द्रोणराज अधिकारीले बताए । सूचकांकको विवरणसहितको फाराम चिकित्कले भरेपछि चिकित्सा महाशाखाले स्वीकृत गरेबमोजिम भत्ता दिने भनिए पनि कति दिने व्यवस्था नभएकाले समस्यामा परेको अस्पतालले जनाएको छ । ओपीडी सेवा छिटै बन्द भएपछि बिरामीलाई थप आर्थिक भार पर्ने गरेको छ । रगत, पिसाब जाँचेको रिपोर्ट देखाउन कि त ४ सय रुपैयाँको टिकट काट्नुपर्ने नभए अर्को दिन आउनुपर्ने बाध्यतामा उनीहरू छन् । अस्पतालले दिउँसो २ देखि ४ बजेसम्म पेइङ क्लिनिक चलाउँदै आएको छ। यो दुई घन्टामा शल्यक्रियासहित प्रायस् सबै सेवा उपलब्ध हुने निर्देशक आचार्यले बताए ।

‘केही चिकित्सक १० बजेतिर आएर दुई नबज्दै अस्पताल छाडिसक्छन्,’ एक कर्मचारीले भने, ‘चिकित्सकको लापारबाहीप्रति अस्पताल प्रशासन कडा हुनु आवश्यक छ ।’ स्रोतका अनुसार हाडजोर्नी, सर्जिकल, मेडिसिन, अल्ट्रासाउन्डलगायत विभागमा कार्यरत चिकित्सक ढिलो आएर छिट्टै फर्किनेमा पर्छन । चिकित्सकले बिरामीलाई पर्याप्त समय नदिँदा ‘गरिबको अस्पताल’, मानिएको क्षेत्रीय अस्पतालको सेवा खस्किँदो छ । यहाँ कार्यरत चिकित्सकमध्ये केहीको आफ्नै अस्पताल रहेको र कतिपय निजी अस्पतालमा काम गर्छन् ।
 
चिकित्सककै मेडिकल अवैध 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक चिकित्सकको मेडिकल अवैध पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ । अस्पतालको आकस्मिक कक्ष इन्चार्ज डा. ढाकाराम श्रेष्ठको लखनचोकस्थित दिया मेडिकलमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी नेतृत्वको टोलीले सोमबार ताला लगाएको हो । श्रेष्ठले अनुमतिबिनै एक्स–रे, प्याथोलोजी ल्याबसमेत सञ्चालन गरेको पाइएको सुवेदीले बताए । ‘जिम्मेवार व्यक्तिले यसरी बिनाइजाजत जनस्वास्थ्यसँग सम्बन्धित काम गर्नु कानुनको खिलाफ हो,’ जिल्ला जनस्वास्थ्यका निमित्त प्रमुख बोधराज सुवेदीले भने, ‘डाक्टरले यस्तो गरेपछि अरूले के गर्छन्?’ डा. श्रेष्ठले भने मेडिकल दर्ताको प्रक्रियामा रहेको दाबी गरेका छन् । 

अनुगमन टोली पुग्दा क्लिनिकसहितको उक्त मेडिकलमा बिरामीसमेत भर्ना गरिएको भेटिएको थियो । बिरामीले आफूहरू चार दिनदेखि भर्ना रहेको टोलीलाई बताए । बिरामीलाई तीन दिनभित्र अन्त सार्न र सात दिनभित्र सम्बन्धित निकायमा मेडिकल दर्ता गरेर सम्पर्कमा आउन निर्देशन दिँदै जिल्ला प्रशासन, जनस्वास्थ्य, ट्राफिक प्रहरी कार्यालय र उपभोक्ता मञ्चले मुचुल्का उठाएका छन् । प्रक्रियाअनुसार सम्पर्कमा नआए सबै सेवा बन्द गरिने अनुगमन टोलीका सदस्यले बताए । जिल्ला जनस्वास्थ्यका प्रयोगशाला प्राविधिक अधिकृत रवीन्द्र बस्ताकोटीले भने, ‘मेडिकल र अस्पतालका लागि फरकफरक प्रक्रिया र मापदण्ड भएकाले सोहीअनुसार दर्ता गर्नुपर्छ’ ।

टोलीले गण्डकी मेडिकल कलेज, पद्म नर्सिङ होम र चरकलगायत अस्पतालमा बेडको दूरी नजिक रहेको पाइएको र भित्रका क्यान्टिन फोहोर पाइएकाले कमजोरी तत्काल सुधार्ने निर्देशन दिएको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण बरालले बताए । 


(आजको कान्तिपुर दैनिकमा लालप्रसाद शर्माले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts