नेपाल जनस्वास्थ्य प्रतिष्ठानको यसमहिनाको दोश्रो ‘सिपिएचई’ सम्पन्न



Download our app to get more features

काठमाडौं, ७ साउन । जनस्वास्थ्य क्षेत्रमा भइरहेका विभिन्न खोज, अनुसन्धान, तथा कार्यक्रमहरुको आधारमा यस क्षेत्रमा कार्यरत व्यक्ति, विद्यार्थी तथा अन्य सरोकारवालाको ज्ञान, शीप र धारणामा परिवर्तन ल्याउने उद्देश्यले नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आफ्नो मासिक कार्यक्रम अन्तरगत सी.पी.एच.ई अर्थात् ‘जनस्वास्थ्य शिक्षाको निरन्तरता’ नामक कार्यक्रमको दोश्रो संस्करण सम्पन्न गरेको छ । 
शुक्रबार सम्पन्न कार्यक्रममा सीपीएचईमा प्रा. डा रमेश कान्त अधिकारीले “नेपालमा नवजात शिशुकोहरुको स्वास्थ्य अवस्था” विषयमा अनुसन्धानात्मक लेक्चर प्रस्तुत गरेका थिए । उक्क्त लेक्चरमा नेपालमा वर्षेनी करीब ४ लाख ७० हजार जन्ममध्ये करीब ९ हजार ५ सयदेखि १० हजार शिशुको  जन्मेको २८ दिनभित्र मृत्यु हुने गरेको तथ्यांक समावेश गरिएको थियो । उक्त प्रस्तुतिमा डा. अधिकारीले नेपालमा पछिल्लो समय लागु भएका विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमले शिशु मृत्युदर उल्लेखनीय रुपमा घट्दै गएको तथ्याँक पेश गरेका थिए । यसमध्ये आमा कार्यक्रम निकै प्रभावकारी भएको कार्यक्रममा बताइएको थियो । 

नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउनको निम्ति समुदायमा जनचेतना अभिवृद्धि तथा आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता कार्यक्रममा औंल्याइएको थियो । साथै स्वास्थ्य संस्थाको संख्यात्मक तथा गुणात्मक स्तरोन्नति, स्वास्थ्यकर्मीलाई नियमित तालिम र हौसला, स्वास्थ्यकर्मीको  कामकाजको गुणस्तरमा अभिवृद्धि, भौतिक संरचनामा तथा सूचना प्रबिधिमा सुधार तथा उचित प्रेषण तथा यातायातको व्यवस्था गर्न सके नवजात शिशुको स्वास्थ्य प्रवर्धनमा टेवा पुग्ने अपेक्षा राख्न सकिनेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । आगामी महिनाको  सी.पी.एच.ई मा  डा. अर्चना अमात्यले प्रस्तुती दिने कार्यक्रम रहको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले नेपाल जनस्वास्थ्य प्रतिष्ठानको वेभसाइट www.nphfoundation.org  मा गई निःशुल्क नाम दर्ता गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । प्रत्येक अंग्रेजी महिनाको तेश्रो शुक्रबार सी.पी.एच.ई कार्यक्रम आयोजना हुने गर्दछ । 

 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts