‘चिकित्सकमाथि हातपात भए सिधै जेल हाल्ने व्यवस्था हुनुपर्छ’



Download our app to get more features

केही समययता चिकित्सक र अस्पतालमाथि उपचारमा लार्परबाही गरेको आरोप बढी नै लाग्दै आएको छ । कतिपय अवस्थामा आक्रोशित परिवारको आक्रमणबाट अस्पतालमा तोडफोड, चिकित्सकमाथि हातपात पनि हुने गरेका छन् । पछिल्लो पटक काठमाडौंकै एक अस्पतालले मिर्गौलाको पत्थरी निकाल्ने क्रममा मिगौला नै निकालेको भन्दै बिरामीका आफन्तले अस्पतालमा धर्ना दिएका थिए । तर, अस्पतालले भने बिरामीको ज्यान बचाउन मिर्गौल निकाल्नु परेको दावी गर्दै आएको छ । 

चिकित्सक र अस्पतालमाथि लाग्ने यस्ता आरोप र आक्रमण रोक्न नेपाल चिकित्सक संघले के गर्दैछ । किन पटक पटक चिकित्सक नै आक्रमणको शिकार बन्छन लगायतका विषयमा आधारित रही बासुदेव न्यौपानेले नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीसँग कुराकानी गरेका छन् । 

तपाईहरूले कार्यभार सम्हालेयता के के काम गर्नुभयो ?
हामीले कार्यभार समालेको नौ महिना भयो । यो अवधिमा हामीले उल्लेखनिय मुद्दा उठान गरेका छौं । जस्तैं जेल उइथआउट बेल । विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि आक्रमणहरू भइरहेका छन् । जसका कारण स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गर्न थालेका थिए । यस्तो असुरक्षाको आवस्था सुधार गर्न जेल उइथआउट बेल  को मुद्दा उठान गरेका हौं ।

विभिन्न देशमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिमाथि हातपात भए सिधै जेल हाल्ने कानुन छ । त्यो कानुनलाई नेपालमा पनि लागू गर्न सके स्वास्थ्य क्षेत्रको यो बेथिती रोकिन्छ भन्ने हाम्रो सोच छ । अन्तर्राष्ट्रिय स्तरमा कार्यान्वयनमा रहेको कानुन नेपालमा पनि आउनु पर्छ भनेर हामीले सरकारसँग माग गरिहेका छौं । 

नेपालमा पहिला देनि नै हेल्थ प्रोफेश्नल प्रोटेक्सन याक्ट कार्यान्वयनमा छ । यो ऐनका बारे धेरैलाई थाहा नभएका कारण निस्क्रिय जस्तै छ । ऐनमा स्वास्थ्यकर्मीहरूलाई केही समस्या परे जरीवानाको मात्रै व्यवस्था गरिएको छ । त्यो व्यवस्थालाई संसोधन गरी जेल उइथआउट बेल  हुनुपर्छ भन्ने हाम्रो माग हो । यो सँगसँगै बिरामी पक्षलाई ऐनले हेर्नुपर्छ । बिरामीको पक्षमा ऐनमा कुनै व्यवस्था नहुँदा चिकित्सकले जे गरे पनि हुने र बिरोध गर्दैमा सिधै जेल हाल्ने जस्ता प्रश्न उठ्न सक्छ ।

यसैले चिकित्सकहरूले त्रुटि गरेको छ भने पनि नेपाल मेडिकल काउन्सिलबाट छानविन गरेर उनीहरुलाई कानुनी दायरा ल्याउने व्यवस्था गछौं । गगन थापा स्वास्थ्य मन्त्री हुँदा नै यो कुरा उठान गरी ‘हेल्थ प्रोफेश्नल प्रोटेक्सन याक्ट’ परिमार्जन गर्न कानुन मन्त्रालय गइसकेको छ । 

पछिल्लो समय चिकित्सकमाथि विभिन्न किसिमका आक्रमण हुँदै आएका छन्, यस्ता आक्रमण किन बढ्दै गएका हुन् ? 
नेपालमा प्रभावकारी रुपमा कानुन कार्यान्वयन भएको देखिएन । हामीले चिकित्सकले गलत गर्छ भने उसलाई पनि कारबाही हुनुपर्छ भन्दै आएका छौं । तर विधिको सासन भएको देशमा गल्ती गरे नगरेको छानविनपछि मात्रै दोषीलाई कारवाहि गर्नुपर्छ । यहाँ त्यस्तो देखिएन । चिकित्सकीय धर्म भनेको उपचार गर्ने हो । चिकित्सक भगवान होइन, यो कुरा सबैले बुझ्न जरूरी छ । चिकित्सकका पनि बाबुआमा र परिवारका सदस्य मरेका छन् । अस्पतालमा उपचार गराइहेको बिरामी म¥यो भन्दैमा चिकित्सककै लापरबाहीले म¥यो भन्नु गलत हो । यही गलत कन्सेप्टका कारण चिकित्सकमाथि आक्रमण भइरहेको छ । 

दोस्रो चिकित्सकले सौहार्दपूर्ण रुपमा बिरामीका परिवारसँग कुरा गर्दै उपचार गरिरहेको हुन्छ । परिवारलाई रोगको बारेमा सबै थाहा हुन्छ । बिरामीको अबस्था बारे सबै बुझाइएको हुन्छ । तर, नेपालमा एउटा यस्तो माफिया समूह छ, जसले बिरामी मरीसकेपछि आफन्तलाई तपाईंहरू चुप लागेर बस्नुस् । अस्पतालसँग हामी बार्गेनीङ्ग गछौं । त्यो पैसा बाडौला भन्ने प्रवृति बिकास भएको छ । उपचारको समयमा कहिले पनि नदेखिएकाहरु बिरामी तलमाथि हुनासाथ अस्पतालमा बार्गेनिङ्ग गर्न, तोडफोड गर्न, धम्क्याउन आइपुग्छन् । चिकित्सकलाई राज्यले सुरक्षा दिन नसकेकै कारण आक्रमणकारीको शिकार बन्नु परेको छ । 

त्यसो भए बिरामी पक्षले आरोप लगाए जस्तो चिकित्सकको दोष नभएकै हो ?
यस्तो होइन, नेपाल चिकित्सक संघले पनि चिकित्सक सधै सहि छ, उसलाई बचाउनु पर्छ, कहिले पनि भनेका छैन । चिकित्सकबाट पनि कहिलेकाहीँ गल्ती हुन सक्छ । चिकित्सकले गल्ती गरेको छ भने उक्त घटनाको जाँचबुझ हुनुपर्छ । त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । छानबिनबाट चिकित्सकको गल्ती देखिए उसलाई कानुनी दायरामा ल्याउनु पर्छ । चिकित्सकहरु कानुनी दायरामा आएका पनि छन् ।  नेपाल मेडिकल काउन्सिलले पनि कारबाही गरेको छ । कतिपयलाई  त निलम्बन समेत गरेका छौं । तर चिकित्सकलाई स्पष्टिकरणको पनि अवसर नदिइ सिधै अस्पतालमाथि तोडफोड हुन्छ । 

डा. लोचन कार्की, महासचिव, नेपाल चिकित्सक संघका

चिकित्सकको गल्ती भएनभएको छानबिन गर्नु भन्दा पनि संघले सधै चिकित्सकको पक्ष लिएको आरोप छ नी, किन ?
चिकित्सक संघ भनेको चिकित्सकहरूको छाता संगठन हो । योे २००७ सालमै दर्ता भएको संस्था हो । यो जन्मदा नै चिकित्सकहरुको हकहितमा काम गर्नेगरी जन्मिएको संस्था हो । यसको पहिलो धर्म चिकित्सकको सुरक्षामा लड्ने नै हो । तर यो भन्दै गर्दा चिकित्सकले गलत गरे पनि साथ दिन्छौं भन्ने होइन । हाम्रो भनाई दोषी प्रमाण नभइ हातपात गर्ने, कुटपिट हुनु हुँदैन । जसका कारण हिजोआज गम्भीर प्रकारका बिरामी अस्पतालले लिन अप्ठयारो मान्ने गरेको छ । यसले सेवाग्राहीलाई नै समस्या पर्दै गएको छ । चिकित्सकलाई शारीरिक र मानसिक तनाब दिँदा पेशा नै छोड्नु पर्ने अवस्था आएको छ । एक जना वरिष्ठ चिकित्सकले एक वर्षसम्म शल्यक्रिया नै गर्नु भएन । उहाँको मनोबल गिरेकै कारण काम गर्न सक्नु भएन ।

 मनमोहन अस्पतालको विषयमा संघले सत्यतथ्य छानबिन गर्ने भन्दा पनि चिकित्सकको समर्थन गरेको आरोप छ नी ?
त्यसो होइन । मनमोहनको घटनालाई मिडियाले अतिरन्जित गरिदिए । गलत तरिकाले चिकित्सकमाथि मिर्गौला चोरको आरोप लगाए । अस्पताललाई मिर्गौला बेचबिखान गर्ने अभियोग लगाईयो । कुनै पनि प्रमाण नभइ हचुवाको भरमा समाचार सम्प्रेसण भयो । दोस्रो सभासदहरूले समेत संसदमा कुरै नबुझी चिकित्सकलाई आरोप लगाए । चिकित्सकलाई हनुमान ढोका बोलाएर थुन्ने प्रयास भयो । त्यसकारण संघ उद्धार गर्नु पर्ने अवस्था देखिएको हो । हाम्रो माग भनेको छानबिन हुनु प¥यो भन्ने हो । दोषी छ भने कारबाहि हुनु पर्छ । अहिले छानविन कमिटिहरुले छानविन गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपण सजिलो काम होइन । जहाँ मिर्गौला प्रत्यारोपण नै हुँदैन त्यहाँ मिर्गौला निकालेर के काम ? त्यो मिर्गौला कहाँ लगेर बेच्ने ? मिगौला राख्दा बिरामीको ज्यानै जाने अवस्था आएपछि उसलाई बचाउन परिवारको सहमतिमा मिर्गौला निकालियको थियो । चिकित्सकले गल्ती गरेको प्रमाणित गरेर जेल हाल्नुस न । चिकित्सकलाई मात्र होइन शल्यक्रियामा सम्लग्न सबै लाई जेल हाल्न हामी सहयोग पनि गछौं । तर प्रमाणित हुनु प¥यो । चिकित्सकलाई तनाव दिन पाइदैन । यसैले समर्थन गरेका हौं । 

चिकित्सकमाथिको आक्रमणको विरोधमा संघले किन कानूनी बाटो अपनाउँदैन त ?
कतिपय अवस्थामा कानुनी रुपमा पनि गएका छौं । मनमोहन अस्पतालको घटनाका बिषयमा पनि सभामुखलाई ज्ञापन पत्र बुझाएका छौं । डा. गुणकुमार श्रेष्ठको मानहनी भएको बिषयमा पनि मुद्दा हाल्ने तयारीमा छौं । यस्ता घटनामा संघले भन्दा पनि सम्बन्धित चिकित्सकले नै मुद्दा हाल्ने हो । मानहानीको महसुस भए त्यसविरुद्व किटान जाहेरी दिने हो । 

यस्ता घटना न्यूनिकरण गर्न संघले कस्तो भूमिका खेल्न सक्छ ?
सबै भन्दा पहिला त चिकित्सक र बिरामीबीचको सम्बन्धलाई सुमधुर बनाउनु पर्छ । सम्बन्ध सुमधुर गर्ने उदेश्यले संघद्वारा समाचार बुलेटिन पनि निकाल्ने तयारी गरिरहेका छांै । यसमा हामीले गरेका काम, भइरहेका घटनाका बारे बिरामीहरुलाई सचेत गराउने गछौं । दोस्रो मिडियाले भनेका, लेखेका कुरामा धेरैले विश्वास गर्ने हुँदा सञ्चारकर्मीसँग अन्तक्रिया गरेर, उनीहरुको सहयोग लिएर लिने तयारी गर्दैछौं । सुरक्षाका लागि ‘जेल उइथआउट बेल’ को विषयलाई शसक्त रुपमा अगाडी बढाउछौं । 

पछिल्लो समय चिकित्सकहरू सञ्चार माध्यमप्रति किन यति धेरै आक्रमक भएका हुन् ?
यो कुरा सही हो । जहिले पनि चेपुवामा चिकित्सक पर्ने गरेका छन् । कुनै पनि सञ्चारमाध्यममा चिकित्सकले गरेका राम्रो काम भन्दा पनि नराम्रा काम मात्रैलाई प्रसारण, प्रकाशन हुँदै आएका छन् । के चिकित्सकले सधै नराम्रो काम मात्रै गरेका छन् त ? २०७२ सालमा गएको भुकम्पबाट पनि नेपालका चिकित्सक कति सक्षम छन् भन्ने थाहा हुन्छ । विदेशी चिकित्सक नेपाल आउँने बेलासम्म नेपाली चिकित्सकको टोलीले स्वास्थ्य अवस्थमा सुधार ल्याइसकेका थिए । अस्पताल तथा विभिन्न स्थानमा गएर उपचार गरिरहेको थिए । चिकित्सकले सञ्चारकर्मीसँग सहयोग खाजिरहेका छन् । सबै पेसामा २/४ जना नराम्रा हुन्छन् । तर २/४ जना नराम्रो भयो भन्दैमा सम्पूर्ण क्षेत्रलाई नराम्रो मान्नु भएन । 

चिकित्सक संघको काम बिरोध र समर्थन मात्रै गर्ने हो की चिकित्सकको व्यसायिक दक्षता विकासमा पनि सहयोग पु¥याउने हो ?
चिकित्सकहरूको संरक्ष्ण मात्रै नरी उनीहरूलाई सक्षम बनाउने, चिकित्सा प्रणालीलाई वैज्ञानिक र आधुनिक प्रविधियुक्त बनाउने विषयमा हरेक शनिबार संघको सभाहलमा कार्यक्रम गर्दै आइरहका छांै । नयाँनयाँ चिकित्सकलाई बोलाएर अनुशन्धान कसरी गर्ने भन्ने बारे छलपल गर्दै आएका छौं । काठमाडौंमा मात्र नभएर पोखरा गण्डकी मेडिकल कलेजमा पनि कार्यक्रम गरिरहेका छौं । भर्खर पास भएका चिकित्सकलाई इन्र्टनसिप गरिसकेपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि तालिम दिइरहेका छौं । 

Last modified on 2017-08-01 13:46:49

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts