बिरामी र मृत्यु दुवैमा ‘फोक्सो क्यान्सर’ पहिलो स्थानमा



Download our app to get more features

काठमाडौं, ३ । क्यान्सर बिरामीको तथ्यांक केलाउँदा बिरामी हुने र मृत्यु हुने दुवै संख्यामा फोक्सो क्यान्सर पहिलो स्थानमा छ ।

नेपालमा क्यान्सरका बिरामीमध्ये १५ प्रतिशतमा फोक्सोको क्यान्सर देखिएको विशेषज्ञहरूको अनुभव छ । नेपालमै क्यान्सर रोगको रोकथाम, निदान र उपचारमा प्रगति भए पनि बर्से्नि फोक्सो क्यान्सरका नयाँ बिरामीको संख्या थपिँदै गएको क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् । काभ्रेका ताराप्रसाद त्रिपाठीलाई फोक्सो क्यान्सरले १२ वर्ष सतायो । उपचारका लागि नेपालका ठूला अस्पताल र भारतका नामी अस्पताल धाउँदा पनि उनको व्यथा ठीक हुन सकेन । ‘उपचारका लागि भएको जायजेथा बेचिसकेँ, ऋण नलिएको आफन्त कोही छैन,’ उनले भने । त्रिपाठीले आफूलाई सानै उमेरदेखि बिँडी र चुरोटको लत लागेको सुनाए । पेसाले उनी शिक्षक भएकाले धेरै वर्ष चकको घुलोमा काम गर्नुपरेको थियो । उनी नेपाल क्यान्सर अस्पतालमा उपचाररत छन् । ‘क्यान्सरको त उपचार चलिरहेको छ, तर, क्यान्सरको औषधि खान थालेपछि अरू रोग पनि थपिएको छ,’ उनले भने, ‘सुगर छ, आँखाको मोतीविन्दु छ, उपचार खर्च त झन् धानिसक्नुको छैन ।’
नेपाललगायत विकासोन्मुख मुलुकमा पुरुषहरूले बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने हुँदा फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमा पुरुषहरूको संख्या बढी हुने गरेको डा. श्रेष्ठ बताउँछन् । यो रोगको निदान स

जिलो भए पनि अधिकांश बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने प्रवृत्तिका कारण बर्से्नि मृतकहरूको संख्यामा वृद्धि भइरहेको चिकित्सकहरू औंल्याउँछन् । ललितपुरका आकाश महर्जन पनि फोक्सोको क्यान्सरबाट पीडित छन् । १० वर्षदेखि उनी क्यान्सरबाट प्रताडित भइरहेका छन् । ५५ वर्षीय महर्जनले सानै उमेरदेखि चुरोट र मादक पदार्थ सेवन गर्ने गरेको उनले सुनाए, ‘हाम्रो त संस्कृतिमा रक्सी खाने चलनै छ, घरमै बन्छ, ‘उनले भने, ‘दैनिक खान्थें, नखाई बस्नै सके पो ।’ महर्जनको क्यान्सर तेस्रो स्टेजमा छ । उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।
क्यान्सरका अधिकांश बिरामी तेस्रो र चौथो स्टेजमा मात्रै अस्पताल पुग्ने हुँदा आधाभन्दा कम बिरामीलाई मात्रै बचाउन सकिने डा. श्रेष्ठ बताउँछन् । ‘पहिलो र दोस्रो स्टेजमा उपचार थाल्ने हो भने ९० प्रतिशतको ज्यान जोगाउन सकिन्छ,’ उनले भने । 
समयमै क्यान्सरबाट बच्नका लागि ४० वर्ष ननाघेका हरेक व्यक्तिले नियमित स्वास्थ परीक्षण गराउनुपर्ने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् । लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, छाती दुख्नु, सास फेर्न समस्या हुनु र वजन र भोकमा कमी हुनु फोक्सोको क्यान्सरका प्रमुख लक्षण हुन् । विश्व स्वास्थ्य संगठनले क्यान्सरबाट हुने कुल मृत्युमध्ये फोक्सोको क्यान्सरलाई प्रमुख मानेको छ । फोक्सोको क्यान्सरकै कारण विश्वव्यापी बर्से्नि १.३ करोडको मृत्यु हुने गरेको छ । क्यान्सरबाट हुने हरेक पाँच मृत्युमध्ये एक मृत्यु फोक्सो क्यान्सरबाट हुने गरेको अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक छ ।

(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन् ।)
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts