मनमोहन अस्पतालको ‘मिर्गौला काण्ड’ बाहिरियो, सम्झौता भइसकेको ‘केस’ फेरी कसरी बल्झियो ? 



Download our app to get more features

काठमाण्डौ, २० असार । प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल स्वयम्भूले ‘गुपचुपमै’ समाधान गरेको 'मिर्गौला काण्ड' एकमहिनापछि बाहिरिएको छ । महिना दिनअघि अस्पतालमा उपचार गराइरहेका नुवाकोट विदुरका शिवप्रसाद रिमालको मिर्गौलाको शल्यक्रिया गर्नेक्रममा एउटा मिर्गौला नै झिकिएपछि तनाव सुरु भएको हो । अस्पतालले मिर्गौला झिकिनुलाई ‘भवितव्यवश्’ भनेको थियो । तर, बिरामीपक्षले मिर्गौला नै झिकिएको थाहा पाएपछि आक्रोशित बन्दै अस्पतालसमक्ष समस्या समाधानको शर्त र विभिन्न माग राखे । माग बमोजिम अस्पताल र बिरामीपक्षबीच गत असार ४ गते ६ बुँदे सम्झौता भयो । त्यसपछि समाधान भएको ठानिएको केस पुनः बल्झिएसँगै 'मिर्गौला काण्ड' सार्वजानिक भएको हो । 

के भएको थियो बिरामीलाई ?
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ निवासी ३२ वर्षीय शिवप्रसाद रिमाल जेठ २२ गते कोखा दुखेपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनको दुबै मिर्गौलामा पथ्थरी देखियो । उपचारमा संलग्न चिकित्सक डा. गुणराज श्रेष्ठले उनको शल्यक्रिया गरे । अस्पतालका अनुसार शल्यक्रिया गर्ने क्रममा बिरामीको बायाँ मिर्गौलाबाट अत्याधिक रक्तश्राव भएकाले मिर्गौला नै फाल्नु पर्ने अवस्था आयो । अस्पतालले मिर्गौला नै झिक्नुपर्ने कुरा बिरामीका काका विष्णु रिमाल लगायतलाई अगाडि नै जानकारी गराएको पनि बताएको छ ।  

तर, मिर्गौला झिकिएको दुइदिनपछिमात्र बिरामीको परिवारलाई खबर दिएको बिरामीपक्षको जिकिर छ । त्यहाँबाट सुरु भएको बिरामीपक्षको आक्रोश गत असार ४ गते दुईपक्षबीच सम्झौता भएसँगै टुंगियो । अस्पताल र बिरामीपक्षबीच भएको सम्झौताका बुँदा हेर्दा अस्पतालले बिरामीको ज्यान जोगाउनका लागि मिर्गौला झिकिएको बताएपनि बिरामी पक्षको सबै शर्त र माग पूरा गरेको हुँदा गल्ती स्वीरकार गरेको आशय पनि देखिन्छ । 

के छ सम्झौतामा ?
अस्पताल र बिरामी पक्षबीच भएको सम्झौतामा रिमालको सम्पूर्ण उपचार निशुल्क गर्ने र विशेषज्ञ चिकित्सकको टोली बनाई थप विशिष्ठ उपचार अस्पतालले नै गरिदिने भनिएको छ । त्यस्तै सम्झौताको दोश्रो नम्बरमा अस्पतालले भवितव्यबस निकालेको भनिएको मिर्गौलाका ठाउँमा रिमालको स्वास्थ्य अवस्था सुधार भएपछि अर्को मिर्गौला प्रत्यारोपण गरिदिने उल्लेख छ ।  रिमालको मिर्गौला र सम्बन्धित समस्याको जीवनभर निशुल्क उपचार गरिदिने पनि सम्झौता भएको छ । यस्तै, शिवप्रसादको श्रीमतिलाई तत्काल र शिवप्रसादलाई उपचारपछि मनमोहनमै जागिर दिने, पीडितका छोराछोरीको शिक्षा र स्वास्थ्यको जिम्मा अस्पतालले लिने र अस्पतालको कर्मचारी सेवा नियमावली अनुसार पीडित रिमालको जीवन बीमा गरिदिन अस्पताल मञ्जुर भएपछि दुईपक्षबीच सम्झौता भएको थियो । 

फेरी कसरी बल्झियो ? 
असार ४ गते सम्झौतामा अस्पतालका तर्फबाट अस्पतालका संयोजक डा. रामकुमार अधिकारी र बिरामी रिमालकी श्रीमति रञ्जु रिमालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएसँगै सेलाएको घटनालाई बिरामी स्वयंले अहिले तताएका छन् । रिमालले आफ्नो मिर्गौला लापर्वाहीवस् झिकिएको र आफुलाई थाहा नदिइकन परिवारलाई प्रभावमा लिएर अस्पतालले केस सामसुम बनाएको आरोप लगाएका छन् । 

हाम्रो डक्टरसँग कुरा गर्दै उनले भने ‘मेरा मिर्गौला बेच्नका लागि यसो गरिएको हो । किन मिर्गौला निकालियो । यसको छानबीन भएर अस्पताललाई कार्वाही हुनुपर्छ ।’ उनले आफु घर फर्केपछिमात्र मिर्गौला निकालिएको र सम्झौता गरेर सामसुम पारिएको थाहा पाएको दावी गरेका छन् । बिरामीपक्ष अहिले पुनः अस्पतालमा आएर पूर्व सम्झौता मान्य नहुने बताएका छन् । 

के भन्छ अस्पताल ? 
अस्पतालले भने रिमालको शल्यक्रिया गर्नेक्रममा अत्याधिक आन्तरिक रक्तस्राव भएको र परिवारलाई जानकारी गराएरमात्र मिर्गौला झिकिएको जवाफ दोहोराएको छ । त्यसमाथि पनि बिरामीपक्षसँग यसअघिनै सम्झौता भइसकेको भन्दै अस्पतालले बिरामी पक्षको अहिलेको बिरोध अर्थहीन भएको दावी गरेको छ । बिरामीपक्षले कसैको उक्साहटमा थप क्षतिपूर्ति पाउने आशमा यसो गरेको हुनसक्ने अस्पतालका संयोजक डा. रामकुमार अधिकारीले बताए । 
यस्तो छ सम्झौतापत्र ।

Last modified on 2017-08-01 16:56:41

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. यस्ता डाक्टरलाइ कार्बाहि गर्नु पर्छ नभए धेरै मानिसकाे ज्यान खतरा हुन्छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts