स्वाइन फ्लू लागेर एक बिरामी टेकु अस्पतालमा भर्ना, ६ जनाभन्दा बढीलाई संक्रमण



Download our app to get more features

काठमाण्डौ, १२ असार ।स्वाइन फ्लू पुष्टि भएसँगै राजधानीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एकजना महिला भर्ना भएकी छिन् । 

कुलेश्वर निवासी उक्त महिला यो वर्ष स्वाइन फ्लू भएर अस्पताल नै भर्ना भएको पहिलो बिरामी हुन् । उनको नमूना जाँच केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गर्दा संक्रमण पुष्टि भएको हो । उनलाई स्वाइन फ्लू भएको आशंकामा जाँच गरिएको र पुष्टि भएसँगै भर्ना गरिएको अस्पतालका चिकित्सक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । 

उनीसँगै अन्य ६ जनालाई स्वाइन फ्लूको संक्रमण देखिएको जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतले जनाएको छ । यद्यपी ती ६ जनाको संक्रमणका बारेमा प्रयोगशाला केही बोलेको छैन । राजधानीका विभिन्न अस्पतालबाट आएको बिरामीको नमूना जाँचमा ६ जनालाई स्वाइन फ्लू देखिएको हो । 

नेपालमा विशेषगरी जाडो महिनाको अन्त्य र वर्षाको समयमा स्वाइन फ्लूको संक्रमण देखिने गरेको छ । 

के हो स्वाइन फ्लू ? 

स्वाइन फ्लु मानिसहरुमा चाडै फैलने एक किसिमको भाइरसले गर्दा स्वासप्रश्वास नलीमा हुने संक्रमण हो । स्वाइन फ्लू एक खतरनाक भाइरसको संक्रमणबाट लाग्दछ ।  मेक्सिकोको वेराक्रुजको एक सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएकाले यसलाई केही स्थानमा सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । स्वाइन फ्लु संक्रमणका लागी विभिन्न ४ प्रकारका भाइरसहरु एच वन एन वन (H1N1) एच वन एन टु (H1N2) एच थ्री एन टु (H3N2) र एच थ्री एन वन (H3N1)लगायत  जिम्मेवार हुन्छन । 

कसरी फैलन्छ स्वाइन फ्लु ?

सुँगुरबाट मानिसमा सर्ने H1N1 भाइरस नै यो रोगको कारक हो । सन् २००९ मा मेक्सिकोमा सुँगुरहरुबाट मानिसमा यो रोग सरेको प्रमाणित भएपछि यसलाई स्वाइन फ्लु भन्न थालिएको हो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको विश्वव्यापी महामारी फैलिएको सतर्क गराएको थियो  । यो रोग सुँगुरहरुको नियमित सम्पर्कमा रहिरहने मानिसमा देखिने गर्दछ । त्यसपछि संक्रमित व्यक्तिहरुबाट हावाको माध्यमले यो रोग स्वस्थ मानिसमा फैलने गर्छ । रोगीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा हावामा नदेखिने पानीका स(साना फोकाहरुबाट यो रोग फैलने गर्छ । आँखाले नदेखिने यो भाइरस सार्वजनिक स्थानहरु जस्तै बस स्टप, बाटो, पार्क आदिमा लामो समयसम्म रहन सक्छ । रेलिंग, ढोकाको ह्याण्डल, लिफ्ट, ताल्चा(साँचो जस्ता बस्तुहरुमा यो भाइरस जीवित रहन सक्ने भएकाले यो रोग मानिसहरुमा चाडै महामारीको रुपमा फैलने सम्भावना रहन्छ ।

स्वाइन फ्लुको लक्षणहरु के हुन् ?

यो रोगको लक्षण सामान्य रुघाखोकी वा फ्लु जस्तै देखिने गर्छ ।

  • ज्वरो आउने
  • खोकी लाग्ने
  • घाँटी दुख्ने
  • शरीर दुख्ने
  • टाउको दुख्ने
  • काम्ने
  • थकाई लाग्ने
  • आलस्य हुने
  • खान मन नलाग्ने
  • वान्ता हुने वा झाडापखाला लाग्ने

जाँच कसरी गर्ने ?

  • संभावित महामारी देखिएको स्थानमा फ्लु वा रुघाखोकीको लक्षण देखिएमा स्वाइन फ्लुको शंका गर्नुपर्छ । स्वाइन फ्लु भाइरस नै फ्लु को कारण हो कि हैन भनेर छुट्टाउन भने प्रयोगसालामा  भाइरसको जेनिटिक जाँच गर्नुपर्ने हुन्छ ।
  • स्वाइन फ्लुको उपचार 
  • भाइरल फ्लु भएका कारणले यसको उपचार मुख्य रुपमा लक्षणहरु कम गर्ने र अन्य सहयोगी विधीहरु हुन आउछ । निम्न विधीहरु अपनाउन सकिन्छ ।
  • आराम गर्ने
  • प्रसस्त पानी र झोल कुराहरु पिउने 
  • ज्वरो र दुखाइ कम गर्न आवश्यकता अनुसार सिटामोल र अन्य दुखाइ कम गर्ने औषधि सिकिस्त विरामीहरुको हकमा नसाबाट सलाइन र शरीरको अन्य अंगहरुको नियमित निगरानी आवश्यक पर्न सक्छ । चिकित्सकको सल्लाहमा एन्टी( भाइरल औषधिहरु पनि प्रयोग गर्न सकिन्छ ।

स्वाइन फ्लुबाट कसरी बच्ने ?

  • बाहिर घुमेर आएपछि साबुन पानीले राम्रोसंग हात धुने,
  • सकेसम्म हात नधोइकन आँखा, नाक र मुखलाई नछुने 
  • मास्कको प्रयोग गर्ने
  • विरामी भएको खण्डमा घरमै बस्ने महामारी देखिएको स्थानमा सकेसम्म धेरै भिडभाडमा नजाने
  • सुंगुरको हेरचाह गर्ने व्यक्तिले विशेष सावधानी अपनाउने र सुँगुरहरुमा संकास्पद विमारी देखिएमा समयमै जाँच गराउने ।
Last modified on 2017-09-02 14:14:08

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts