भयावह बनिरहेको लागुऔषध प्रयोगको उपचार कसरी गर्ने ? 

सन्दर्भ: विश्व दुव्र्यसन बिरुद्धको दिवस  



Download our app to get more features

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८८ देखि जुन २६ का दिन ‘लागुऔषध प्रयोग तथा ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउने चलन रहिआएकोछ ।

जनस्वास्थ्य, शान्तिसुरक्षा, मानवजीवन र दिगो विकास, र खासगरी किशोरकिशोरीहरुका लागि ठूलो चुनौती र अड्चनका रुपमा रहेको लागुऔषधको विकराल समस्यास“ग सम्बन्धित प्रयास, नीतिनियम र कार्यक्रमहरुको मूल्यांकन गरी यो समस्याको नियन्त्रण गर्नु यस दिवसको उद्धेश्य हो । हर वर्ष यसको रोकथाम र उपचार सम्भव भएको आशावादी सन्देस् सहित् यो दिवस मनाइन्छ । यहाँ, लागुऔषधको समस्याको उपचार व्यवस्थापनबारे चर्चा गरिएकोछ ।

लागु औषधिः 
मनमस्तिष्कका कामगराइ, जस्तैः अनुभव, सोच, बिचार आदिमा असर पार्ने कुनैपनि चीज, वा रसायनलाई मादक, नशालु वा लागु पदार्थ (psychoactive substance/ drug) भनिन्छ । मनमस्तिष्कमा पर्ने असरका आधारमा यी पदार्थहरुलाई मूलरुपमा उत्तेजना (stimulants) (जस्तैः निकोटिनजन्य, क्याफिन र कोकेन) उदासिनता (depressants) (जस्तैः बेन्जोडाइजेपिन, ओपियट), र आभास भ्रम (hallucinogens) जस्तैः एलएसडी तथा गा“जा) गराउने भनी वर्गीकरण गरिन्छ । बारम्बार प्रयोग भएपछि बढी डोज चाहिने (tolerance) र डोज नपुग्दा वा रोक्दा छटपटी, अनिन्द्रा जस्ता असरहरु आउने (withdrawals) र तल्तल् लाग्ने (craving) हुन्छ । पदार्थ अनुसार त्यस्ता लक्षणहरुको मात्रा फरक पर्दछ । ओपियड, बेन्जोडाइजेपाम जस्ता पदार्थ तुलनात्मक रुपमा कम र छोटो समय मात्र प्रयोग गरेपनि यी असर आउनेगर्छन् ।  

औषधीका हिसाबले पनि प्रयोग हुने विश्वमा चलनचल्तीमा रहेका र ओसारपसार गरिने मुख्य नशालु वा लागुऔषधीहरुमा गाँजा, एम्फेटामिन, एक्सतासी, ओपियम, कोकेन पर्दछन् । हामीकहाँ खोकीको कोरेक्स, दुखाईको कोडिन वा पेथिडिन जस्ता ओपियट, निन्द्राको फेनार्गन वा बेन्जोडाइजेपिन; छट्पटीको बेन्जोडाइजेपिन उपचारको क्रममा प्रयोग गरिन्छ । चिकित्सकको सल्लाहमा औषधी स्वरुप शुरु भई यी पदार्थहरु लगातार प्रयोग गर्नेहरु पनि धेरै हुन्छन्ं । सामाजिक र कानूनी रुपमा यी पदार्थहरु जाँडरक्सि, चुरोट जस्तै ग्राह््य वा स्वीकृत तथा हेरोइन, कोकेन जस्तै आग्रह पनि हुन्छन् ।

लागुऔषधका असरहरु 
विश्वमा करीब १२ करोड मानिसले कडा लागुऔषध र त्योभन्दा बढीले गाँजा सेवन गर्ने गरेको तथ्यांक छ । संयुक्त राज्य अमेरिकामा यस्ता पदार्थको लतका कारण प्रत्यक्ष रुपमा वर्षेनी ४ सय ८४ अरब डलर खर्च हुने तथ्यांक छ जुन मधुमेह र अर्वुदरोगको खर्चभन्दा धेरै हो । नेपालको सरकारी तथ्यांक यो समस्याको सानो अंश मात्र हुने देखिन्छ र यसै अनुसार पनि ९१ हजार ५३४ लागुऔषधीको प्रयोगकर्ता रहेकाछन् । यो हरेक वर्ष बढ्दै गएको र प्रभावकारी उपाय अपनाउन नसकिएमा अरु तिब्र गतिमा बढ्दैजाने देखिन्छ । यसका आधाजति सुईको प्रयोगकर्ता र तिनमा करीब ६० प्रतिशतलाई एचआईभि एड्स र हेपाटाइटिस बीको संक्रमण भएको अनुमान छ ।

बारम्बार र लामो समयको प्रयोगबाट व्यक्तिको परिवार बिखण्डित हुनपुग्छ, वृत्तिविकास रोकिन्छ, व्यवसायमा अवरोध हुन्छ, सामाजिक प्रतिष्ठा धमिलिन्छ, नैतिक पतन हुन्छ, अपराध बढ्छ, दुर्घटना र कानूनी कारवाहीको शिकार भइन्छ । साथमा, विभिन्न मानसिक, शारिरीक रोगहरु उत्पन्न हुन्छन् । यस्ता धेरै प्रयोगकर्ताहरुमा उदासिनता, छटपटी, पागलपन वा व्यक्तित्वका गड्बडीहरु लगायत विभिन्न् मानसिक लक्षण र रोगहरु उत्पन्न हुन्छन् । सुईबाट असुरक्षित किसिमले जथाभावी प्रयोग गर्दा एचआईभि एड्स, हेपाटाइटिस आदि रोगहरु महामारीकै रुपमा फैलिरहेछ ।

सामान्यतः यस्ता पदार्थहरु अरुको देखासिकी, रमाइलो, कौतुहल, सामाजिक माहोल, सामाजिकीकरण, टोनिक, तनावनासक आदि रुपमा शुरु हुन्छ । यस्ता पदार्थको क्षणिक र तत्कालको सुखद् र छली असरका कारण व्यक्ति फेरिफेरि प्रयोग गर्नपुग्छ । यसरी बारम्बार सेवन गर्दा स्नायुकोषहरुमा आउने परिवर्तनले गर्दा एकपछि अरु यस्ता असरहरु उत्पन्न हुन्छन् जसले गर्दा पछि प्रतिकूल असरहरुका बाबजूद व्यक्ति यस्ता पदार्थको प्रयोग जारी राखिरहन्छन् । औषधी नै भएपनि यी पदार्थहरुको जथाभावी प्रयोगले समस्याको चक्रव्यूह नै सिर्जना हुन्छ जसबाट उम्किन व्यक्तिलाई हम्मेहम्मे नै पर्नेगर्छ । जुनसुकै परिस्थिति र प्रयोजनका लागि थालेको भएपनि कुनबेला, कसलाई र कसरी पछि गएर समस्या, लत, दुव्र्यसनमा बदलिन्छ भन्नै गाहारो हुन्छ । 

लागुऔषधका समस्या र दुव्र्यसनः 
सामान्यतया यस्तो पदार्थ एक वा बढी पटक अत्याधिक सेवन गरेर मात् लाग्ने अवस्था ९ष्लतयहष्अबतष्यल०सम्म पुग्नु नै समस्याको शुरुवाटको रुपमा लिनसकिन्छ । यस्ता पदार्थको सेवनपछि शारिरीक (जस्तैः टाउको भारी हुने, पेटमा दर्द हुने), मानसिक (जस्तैः छटपटी, अनिद्रा, दिक्दारी, बिस्मृति), सुरक्षाको बेवास्ता (जस्तैः मात् लागेको अवस्थामा पनि ड्राइभिङ गर्नु), चोटपटक वा कानूनी कारवाही जस्ता नराम्रा स्वास्थ्यअसर पैदा भएको अवस्था (harmful use)
अझ अरु जटिल हो । यस्ता प्रतिकूल असर उत्पन्न भइसकेको स्थितिमा पनि बारम्बार यस्ता चिजको बिना डाक्टरी प्रेस्कृप्सन प्रयोग गर्नु (substance abuse) झन् त्यो चक्रव्यूहको अर्को चरण मानिन्छ । गएको वर्ष कम्तिमा एक महिना यदि कसैमा, शारिरीक वा मानसिक असरका बावजूद, पहिलेभन्दा ज्यादा डोजमा बिहानैदेखि वा सामान्यतः यस्ता पदार्थ प्रयोग गर्न बर्जित स्थानमा पनि प्रयोग हुन्छ, तल्तल् आफ्नो बस्मा छैन र प्रयोग नगर्दा बेचैनी वा यस्तै असरहरु देखा पर्छन् भने, यो अवस्था आफैमा एक गम्भीर बिमारी हो । यस अवस्थामा सम्पूर्ण रुपमा व्यक्तिको मन, तन र धन सबै यस्ता पदार्थको सेवन, त्यसको प्राप्ति र सेवनको प्रतिकूल असर हटाउने दिशातिर परिलक्षित हुनेगर्छ । नसासेवनको चक्रव्यूहमा यो अवस्था बढो जटिल विन्दुको रुपमा लिइन्छ र यसलाई लत वा दुव्र्यसन (dependence) भनिन्छ । यसरी दुव्र्यसन भएको व्यक्तिले विभिन्न स्थितिमा यस्ता पदार्थको प्रयोग कम गर्दा वा रोक्दा बेचैनी वा सिक हुने मात्र होइन, बेहोस भई काम्ने, मान्छे नचिन्ने जस्ता जटिल अवस्था पनि आइपर्छन् र कतिपय व्यक्तिको यस्तोबेला उपचारका बावजूद पनि ज्यान जानसक्छ । 
रोकथामका उपाय
व्यक्ति, परिवार, समाज सबै सचेत भएर यो समस्याको रोकथाम गर्ने, समस्या भएमा उपचार गर्ने र असर कम गर्नेतिर लाग्न जरुरी भएकोछ । यो  समस्या हुनै नदिनका लागि अपनाउन सकिने प्राथमिक रोकथामका उपायहरु हुन् ः स्कुल, क्याम्पस र सबैतिर यसबारे जनचेतना जगाउने, यसको सेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट आफू र विशेषतः बच्चा र किशोरहरुलाई टाढा राख्ने, बालबालिकाहरुको अगाडि अभिभावकले यसको सेवन नगर्ने, सुर्ती वा गाँजा वा यस्ता चीजको सट्टा अरु खेती गर्ने, विज्ञापन र चलचित्रमा यसलाई बढावा हुने सामग्रीमा रोक लगाउने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रुपमै निरुत्साहित पार्ने । समाजमा पनि लागुऔषधी मुक्त वातावरणको लागि सबैबाट, सधैं र सबैतिर जागरण अभियानको जरुरत छ । चिकित्सक र बिरामीहरुले पनि यस्ता दवाइहरुको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने हुन्छ । नितान्त आवश्यक पर्दा चिकित्सकको निगरानीमा, त्यो पनि छोटो समयको लागि मात्र प्रयोग गर्नुपर्छ । सरकारले यसको उत्पादन, विक्रिवितरण, ओसारपसार र प्रयोगसम्बन्धी नीतिनियम कडाईका साथ लागु गर्न र रोकथामका उपायहरु प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन जरुरी भएकोछ । सेवन गर्नेले छाड्ने तथा लत बसेको भए व्यक्ति, परिवार र साथीभाईले यसको उपाय उपचार गर्नेतिर लाग्नुपर्छ । 

उपचारको आवश्यकता   
यी विभिन्न प्रकारका पदार्थका प्रत्यक्ष असर, सेवनकर्ता र उसको वस्तुस्थितिमा आधारित विविध पक्षहरुलाई ध्यानमा राखी यस समस्याको विश्लेषण र निदान गरिनुपर्छ । यी तत्वहरु यो समस्यालाई बढावा दिनमा एकआपसमा यति सबल हुन्छन् कि त्यो चक्रव्यूह तोड्न प्रयोगकर्तालाई गाहारो पर्छ । कतिपय यस्ता पदार्थले भ्रममा पर्ने गरी जाँगर जगाइराख्ने, मन स्थिर र शान्त राख्ने, दर्द कम गर्ने जस्ता वाञ्छित् लाग्ने केहि असरहरु पनि क्षणिक रुपमा देखाउँछन् । सेवन हुँदै गएपछि यी पदार्थले दुव्र्यसनका लक्षणहरु उत्पन्न हुन्छन् । यसरी समस्याजनक प्रयोगको स्थितिसम्म पुग्नमा उसको अनुवांंशिक, सामाजिक र मनोवैज्ञानिक तत्वहरु र पृष्ठभूमिले आआफ्नो भूमिका निभाउने गर्छन् । कुनै व्यक्तिमा नशालु, लागु वा मादक पदार्थको दुव्र्यसनको समस्या उत्पन्न हुनमा अनुवांशिकता, यसको मस्तिष्क र यसका अवयव् तथा प्रक्रियामा पर्ने असर tolerance, withdrawals आदि) र व्यक्तिको व्यक्तित्व तथा मानसिक समस्याहरुको अधिक हात रहन्छ । हुन त यस्ता पदार्थ कति सजिलै उपलव्ध छन्?

समाज, सँस्कृति र कानूनले कतिको स्वीकार गर्छ? आदि कुराको पनि ठूलो असर हुन्छ । त्यसैले, व्यक्तिमा समस्याजनक हिसाबले नै यस्ता पदार्थको लत्, बानी वा दुव्र्यसन भएको स्थितिमा उपचारको आवश्यकता हुन्छ । सामाजिक र मनोवैज्ञानिक व्यवस्थापनको पनि साथमा महत्व रहन्छ । यी एक आपसमा प्रतिश्पर्धात्मक अंश नभई परिपूरक हन् । उपचार बिनाको पुनस्र्थापना र पुनस्र्थापना बिनाको उपचार प्रक्रिया अधुरो हुन्छ । उपचार बिना बिरलै मात्र यी पदार्थको अम्मल दिगो हिसाबले छाड्नसक्ने हुन्छन् । छट्पटी, तनाव, उदासिनता, व्यक्तित्वका समस्या लगायत् पागलपन र अरु मानसिक समस्या भएका धेरै मानिसहरु अझ बढी यसको लत्मा फँस्ने गर्छन् । यी तथ्यहरु ध्यानमा राखेर हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता तय हुन्छ र त्यसै अनुसार सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुनेगर्छ । कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिहरुको चयन गर्न, यसबारे सहि जानकारी लिन र फेरिफेरि प्रयोग गरिने उच्च खतराका परिस्थिति चिनेर उपायहरु अबलम्बन गर्न मनोचिकित्सासेवा उपयोगी हुन्छ । यस्ता अधिकांश प्रयोगकर्तामा साथै हुने अरु शारिरीक र मानसिक समस्याहरुको उपचार गर्दा लागुऔषधीको अम्मल छाड्न ठूलो सहयोग पुग्छ । 

यसको उपचारका विधि:   
यसका अम्मलीहरुले सबभन्दा पहिले यसबारेमा सहि जानकारी लिनुपर्छ;  यसले उपचारको ढोका खुल्छ । यसका नकारात्मक असरबारे बुझ्दाबुझ्दै पनि धेरै मानिसहरु यसको प्रयोग गर्न बाध्य रहन्छन् । व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मि, चिकित्सक सबैले यो अम्मल छाड्न उत्साह जगाउने, आवश्यक सरसल्लाह, सहयोग जुटाउने र उपचारको वातावरण बनाउन सघाउनुपर्ने हुन्छ । यसमा बारम्बार समस्या दोहरिने भएकोले हरेक पल्ट नयाँ तरीका, उत्साह र जोसका साथ यो प्रयासमा लागिरहन जरुरी हुन्छ । जुनसुकै बहाना, कारण र परिस्थितिमा यसको सेवन छाड्ने कोसिस हुनु र छाड्नुलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । शुरुका दिनमा फेरि सेवन हुने डर भएकोले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप् गर्नुगराउनु र व्यक्तिको अम्मल छाड्ने उत्साह, उमंग र साहस अभिवृद्धि हुने खालको कुराकानी र परामर्श दिनुपर्छ ।  

अब उपरान्त व्यक्तिले यस्ता पदार्थ र पैसा साथमा राख्न छोड्नुपर्छ । प्रायः तल्तल् लाग्ने समय वा माहोलहरुमा अरु कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ । शारिरीक व्यायाम, खेलकुद, प्रार्थना, योग, वाक् आदि गर्नसकिन्छ । प्रशस्त झोलकुरा, सागसव्जि, मनपर्ने र पोषक खानाको सेवन पनि आवश्यक हुन्छ । यौटा अम्मल छाड्न अर्को नशाको सहारा लिनु भने श्रेयस्कर हुँदैन । यसको सेवनतिर धकेल्ने परिस्थितिहरु, जस्तैः साथीभाई, जमघट, आदिमा बच्ने उपायहरुको खोजी गर्नुपर्छ । अम्मल त्याग्ने आफ्नो निश्चय र प्रणलाई बलियो बनाईराख्नुपर्छ । विभिन्न मनोवैज्ञानिक र सामाजिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थिति सामना गर्न, मन सकारात्मक बनाइराख्न र सामाजिक सञ्जाल कायम राख्न सघाइन्छ ।  

लागुऔषधको दुव्र्यसनका विभिन्न औषधीहरु उपलव्ध छन् । कतिपय यी पदार्थको शरीरमा विस्थापन गर्ने दवाइ हुन्छन् भने अरु औषधीहरु यसको तल्तल् र यसको प्रयोग छाड्दा हुने छट्पटी आदिमा फाइदा हुने खालका छन् । व्यक्तिको आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ । यसका लागि शुरुको विशेषज्ञ उपचार सेवा नेपालमा प्रमुख अस्पतालहरुका डिटक्सिफिकेशन सेन्टरहरुमा उपलव्ध छ । पुनस्र्थापना केन्द्रहरु देशका ठाउँठाउँमा खुलेका छन् जसमध्ये सम्बन्धित निकायबाट स्विकृत, आवश्यक अनुगमन भएको र भरपर्दो केन्द्रबाट सेवासुविधा लिँदा उत्तम हुनेछ ।

आजको सन्देश 
नशा सेवन गरेर नानाखालका समस्या निम्त्याउनुभन्दा कहिले सेवन नगर्नु राम्रो । यसबारे सत्यतथ्य आफूले जानेर बुझेर र अरुलाई बुझाएर यसको प्रयोगलाई निरुत्साहित गर्नु उत्तम । सेवन गर्ने गरेको भए मनन् गरौंः कतै यस्ता पदार्थको सेवन कुनैपनि बेला आफ्नो नियन्त्रणबाट बाहिर गयो कि? यसको मात्रामा कतौटी गर्नपर्ने महसुस हु“दाहु“दै बारम्बार चिप्लि पो रहेछ कि? आफ्नो यस्तो बानीका कारण अरुबाट आलोचित त भएको छैन? मनमनै ग्लानि त हु“दैछैन? सबै कुरा बिर्सेर आफूपनि आ“खा खुल्नासाथ नशाको तल्तलमा त फ“सि“दै छैन? आफू, आफन्त वा साथीभाई आफ्नो पहुँचका जोसुकैमा यस्ता खालका सुचक लक्षणहरु भएमा ढिला नगरौं । नशा वा लागुऔषधको दुव्र्यसन आफैंमा एक गम्भीर बिमारी हो जसमा उपचारको आवश्यकता पर्छ । आजको यो दिनमा यो बिकराल् समस्याको रोकथाम, पिडितको उपचार र पुनस्र्थापनाका लागि सचेत भई अघि बढ्ने प्रेरणा लिऔं ।           

Last modified on 2017-09-02 14:15:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts