रक्तदानबारे थाहा पाउनै पर्ने कुरा यस्ता छन्...



Download our app to get more features

“रक्तदान जीवनदान” भन्ने नाराले भनेझै रगत दान गर्नु कसैलाई जीवनदान गर्नु भन्दा कम महत्वको छैन । एकजनाले गर्ने रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सक्छ । रगत र यसका विभिन्न भागहरु कृत्रिम तरिकाले बनाउन नसकिने भएकाले स्वस्थ मानिसको रगतको दानबाट मात्रै बिरामीमा यसको आवश्यकता पूर्ति गर्न सकिन्छ । रक्तदान गर्ने मानिसले आफुले रगत दान गर्नु अघि केहि कुराहरुमा भने विशेष ख्याल पुर्याउनु पर्छ ।

के हो रगतको काम ?
रगतले हाम्रो शरीरमा मुख्यतया सासबाट फोक्सोमा लिएको अक्सिजनलाई शरीरको विभिन्न अंगमा पुराउने काम गर्छ । यसको साथसाथै शरीरको आन्तरिक क्रियाकलाप र वातावरण कायम राख्न पनि रगतले भूमिका खेलिरहेको हुन्छ । एक स्वस्थ वयष्क मानिसको शरीरमा लगभग ५ लिटर रगत हुन्छ । रगतमा ५५ प्रतिशत प्लाज्मा भनिने तरल पदार्थ र ४५ प्रतिशत रगतका कोषिकाहरू हुन्छन ।

कसलाई रगत आवश्यक पर्छ ?

  • दुर्घटनाको कारण धेरै रक्तस्राव भएको बिरामीलाई 
  • शल्यक्रिया गर्दा धेरै रगत खेर गएका बिरामीलाई
  • रक्तस्राव बढी भएका गर्भवती महिलाहरुलाई, बच्चा पाठेघर भन्दा अन्य भागमा बस्ने, एबोर्सन आदि भएका महिलालाई
  • विभिन्न किसिमको रक्तअल्पता, थालेसिमिया, क्यान्सर आदिका बिरामीलाई

कसले रक्तदानगर्न मिल्छ ?
१८ वर्ष उमेर पुगेको, ५० केजीभन्दा धेरै तौल रहेको शारीरिक रुपमा स्वस्थ हरेक मानिसले रक्तदानगर्न सक्छ ।

रक्तदान गर्नु अघि दाताले ध्यानदिनु पर्ने कुराहरुः

  • रक्तदाताको उमेर १८ वर्ष पुगेको र तौल ५० केजीभन्दा माथि हुनु पर्ने
  • रक्तदातालाई रगतदा नगर्ने समयमा सरुवा रोगहरु जस्तै एचआइभी, हेपाटाइटिस, क्षयरोग आदि लागेको हुनुहुन्न
  • रक्तदातालाई रगत दान गर्ने समयमा दिर्घरोगहरु जस्तै क्यान्सर, मधुमेय, उच्च रक्तचाप आदि भएको हुनुहुन्न
  • रक्तदाताले रगत दान गर्ने समयमा एन्टीवायोटिक, रगत पातलो गर्ने औषधिहरु आदि सेवन गरेको हुनुहुन्न
  • रक्तदाताको हेमोग्लोबिनको मात्रा १२.५ ग्राम प्रतिशतभन्दा बढी हुनुपर्छ 
  • रक्तादाताको रक्तचाप र मुटुको चाल सामान्यभन्दा घटीबडी हुनु हुदैन 
  • अघिल्लो रक्तदान गरेको तीन महिनासम्म अर्को रक्तदान गर्नु हुदैन 

साथै रक्तदान गर्नु अघि कुनै स्वास्थ्य समस्या भए र केहि जानकारी लिने इच्छा लागे उपलब्ध स्वास्थ्यकर्मीहरुको सल्लाह लिएर मात्र रक्तदान गर्नुपर्छ ।

रक्तदान गरेपछि ध्यान दिनुपर्ने कुराहरुः

  • रक्तदान गरेपछिको करिब २० मिनटसम्म आराम गर्नुपर्छ
  • रक्तदान गरेपछि रिंगटा लागेमा, भाउन्न भएमा वा बेहोस भएमा स्वास्थ्यकर्मीलाई आफ्नो अवस्थाको वारेमा जानकारी गराइहाल्नुपर्छ । 
  • यदि कोहि रक्तदान पछि बेहोस भएमा जुरुक्क उठाउनु भन्दापनि कोल्टे फर्काउनु पर्छ र सकेसम्म खुट्टा माथि उचालेर टाउकोलाई तल पार्ने कोशिस गर्नुपर्छ ।
  • रक्तदान गरेपछि पानी तथा प्रशस्त झोल पदार्थहरु पिउनुपर्छ
  • रक्तदान गरेको २४ घण्टा सम्म धेरै शारीरिक परिश्रम पर्ने कामहरु गर्नुहुदैन आराम गर्नुपर्छ

रक्तदान गर्नाले रक्तादाताको स्वास्थ्यमा त्यस्तो कुनै नकारात्मक असर पर्दैन । रगतले हाम्रो शरीरको तौलको ७ प्रतिशत मात्र ओगटेको हुन्छ र ५ लिटर रगतमा करिव ३५० मिलिलिटर मात्र दान गरिने गरिन्छ । करिव २४ घण्टा भित्रमा शरीरले त्यो रगतको मात्रालाई पूर्ति गर्न थालिसकेको हुन्छ ।

त्यसैले रक्तदान जस्तो अमुल्यदान गरेर मानिसहरु जीवन बचाउन आजैदेखि लागि पर्ने कि ?

Last modified on 2017-09-02 14:28:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts