स्क्रबटाइफस परीक्षण गर्न कीट नै भएन



Download our app to get more features

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी तवरबाट उपलब्ध नहुँदा बिरामी निजी अस्पतालमा धाउन बाध्य भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीका अनुसार माघयता स्क्रबटाइफसको कीट प्राप्त भएको छैन । त्यसअघि जनस्वास्थ्य कार्यालयले कीट झिकाएर भरतपुर अस्पतालमा दिँदै आएको थियो । हाल यहाँको चितवन मेडिकल कलेजमा मात्र स्क्रबटाइफसको परीक्षण गरिँदै आएको छ । 

एकपटक परीक्षण गर्दा दुई हजार ५ सय मेडिकल कलेजले लिने गरेको छ । सरकारले यो परीक्षण सरकारी अस्पतालमा निःशुल्क गराउने जनाएको भए पनि कीट भने पठाएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरी शर्माले विभागमा कीट माग्ने काम भइरहेको भए पनि प्राप्त हुन नसकेको बताए । 

चालु आवको हालसम्म स्क्रबटाइफसबाट चारजनाको मृत्यु भई सकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक केसीका अनुसार एक हजार ६ सय २७ जनाको परीक्षण गर्दा ५ सय ४ जनामा यो रोग देखिएको हो । तीमध्ये चारजनाको मृत्यु भएको उनले बताए । भदौमा एकजना र कात्तिकमा तीनजनाको मृत्यु भएको थियो । 

यो वर्ष सबैभन्दा बढी कात्तिकमा १ सय ६६ जना र असोजमा १ सय १२ जनामा स्क्रबटाइफस देखिएको उनले बताए । गतवर्षको वैशाखदेखि असारसम्ममा ४५ जनाको स्क्रफटाइफस परीक्षण गर्दा ३३ जनामा पोजिटिप देखिएको थियो । जसमध्ये एकजनाको मृत्यु भएको थियो । यस वर्ष पनि वर्षात् सुरु हुन लागेसँगै बिरामी देखापर्न थालेका छन् । स्क्रबटाइफस मुसामा लाग्ने किर्नाजस्तो सामान्यतयाः आँखाले देख्न गाह्रो हुने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्मी मौसमसँगै खेतबारीमा काम गर्ने र घर बाहिर बस्ने हुँदा यो मौसममा रोग देखिने गर्छ ।

Last modified on 2017-09-02 14:33:57

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts