सशस्त्र द्वन्द्वकालका घाइतेहरुको उपचार हुन सकेन



Download our app to get more features

काडमाडौँ, ८ असार । सशस्त्र द्वन्द्वकालका घाइतेहरूले उपचार नपाएको गुनासो गरेका छन् । 

द्वन्द्वमा दुवै आँखा गुमेका, मानसिक सन्तुलन गुमाएका र अगंभंग भएकाहरूले उपचार नपाउँदा कष्टकर जीवन यापन गरिरहनुपरेको बताए । राजधानीमा सोमबार भेला भएका द्वन्द्वपीडितले विभिन्न माग राखेका छन् । 

झापाका रणवीर लावती पूर्वसेना हुन् । २०५८ मा झापामा माओवादीसँग भिडन्तमा उनी घाइते भए । ‘प्रेसरकुकर बम पड्किएर मेरो शरीर क्षतविक्षत भयो, एक महिनापछि मात्रै होसमा आएँ,’ उनले भने, ‘शरीर र मन आजसम्म घाइते छ ।’ उपचारका लागि मासिक १५ हजार आवश्यक पर्ने उनले बताए । 

सेनाको उपचारका लागि सरकारले छुट्टै अस्पतालको व्यवस्था गरेको छ । तर, अस्पतालभित्र समयमा डाक्टर नभेटिने, औषधि नपाइने हुँदा निजी अस्पतालबाट उपचार गर्न बाध्य भएको उनले सुनाए । उनका सातवटा करङले राम्ररी काम गर्दैनन्, कलेजो–मुटु कमजोर छन् । ‘म अघोषित अपांग भइसकें, गाउँको घरबारी बेचेर उपचार गरें,’ उनले भने, ‘अब बेच्नलाई केही छैन ।’ अधिकांश द्वन्द्वपीडित उपत्यकाबाहिर बस्ने भएकाले राज्यले उनीहरूको पहुँचमा उपचार र्पुयाउन नसकेको अधिकारकर्मी बताउँछन् ।

सुर्खेतकी एक महिलालाई द्वन्द्वकालमा बाँधेर चार जनाले बलात्कार गरे । ‘मसँगै १२ वर्षकी छोरी पनि बलात्कृत भएको देख्नुर्पयो,’ उनले भनिन् । बलात्कारकै कारण उनकी छोरीको मृत्यु भयो । त्यस बेलादेखि उनको मानसिक स्थिति बिग्रिएको उनका पतिले बताए । द्वन्द्वपीडितको परिचयपत्र बन्न नसक्दा उनी सरकारले दिने निस्शुल्क उपचार सेवाबाट समेत वञ्चित छिन् । ‘बलात्कृत भएको पीडाको प्रमाण कहाँबाट जुटाऊँ ?’ उनले प्रश्न गरिन्, ‘त्यो बेला माओवादी हुँ नभनेसम्म सेनाले किलामा बाँधेर कुटे, अहिले पीडितको प्रमाण लिएर आइज भन्छन् ।’ कुटाइकै कारण उनको आधा शरीर कहिले चल्छ, कहिले चल्दैन । उपचार पाइएला कि भनेर अहिले उनी द्वन्द्वपीडित परिचयपत्र बनाउन सकीनसकी दौडधुप गरिरहेकी छन् । ‘नगएको निकाय छैन, नभेटेको नेता छैन,’ उनले भनिन् ।

समयमा उपचार र औषधि पाउनुपर्ने, हरेक घाइतेले एउटा कुरुवा पाउनुपर्ने र निस्शुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने उनीहरूको माग छ । शान्ति मन्त्रालयका अनुसार देशभर २३ सय द्वन्द्वपीडित छन् ।

 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts