हाम्रो योग विज्ञान अब विश्वको भयो

सन्दर्भः विश्व योग दिवस



Download our app to get more features

योगविद्या अहिले घरघर र जनजनमा पुगेको छ । कुनै बेला गुफा र कन्दराहरूमा सीमित थियो । साधु, सन्यासी, गृहत्यागी र विरक्तहरूले मात्रै योग गर्छन् भनेर बुझ्ने गरिन्थ्यो । अब परिस्थिति र वास्तविकता दुवै बदलिएको छ । जुन समाज जति बढी आधुनिक र सुशिक्षित छ, आज योग त्यही समाजमा बढी मात्रामा प्रचलित छ । अत्याधुनिक फेसन र जीवनशैलीमा रमाउनेहरू पनि योग बिना आफूलाई अधुरो–अपुरो महशुस गर्न थालेका छन् । नास्तिक, कट्टरपन्थी र वाममार्गीहरू पनि यतिखेर योगको पछाडि लालायित छन् । समग्र जगत यतिखेर योगप्रति सुसम्मोहित झैं देखिन्छ । समग्र विश्व परिदृष्यमै अहिले सर्वाधिक चर्चा र आकर्षणको विषय बनेको छ, हाम्रो योग विज्ञान ।  

हाम्रो थियो, विश्वको भयो 
मूलतः योग विज्ञान हाम्रो हो । हाम्रो भन्नाले हामी सनातनवादी, पूर्वीय एवं हिमालय संस्कृतिका अनुगामीहरूको हो । योगको उद्गम भूमि हिमालय क्षेत्र हो । तमाम प्रमाण, तर्क र तथ्यहरू उपलब्ध छन् जसले योगलाई ऋषिप्रणित महाविज्ञान मानेको छ । हामी सबै ऋषिका सन्तति हौं । हामी जुन ऋषिप्रणालीका सन्तति हौं योग विज्ञान तिनैको देन हो ।

 नेपाल विश्वकै एकमात्र भूखण्ड हो जहाँ अहिले पनि समग्र ऋषि संस्कृति जीवित छ । संस्कृति र योगको उद्गम हिमालय क्षेत्र भन्नेमा कुनै दुईमत छैन । सबैमा जगजाहेर छ कि सबैभन्दा धेरै हिमालय भएको देश हाम्रो देश हो । अतः हामी सप्रमाण, सगौरव भन्न सक्छौं कि योग को उत्पत्ति स्थल यही नेपाल हो । कुनै पनि प्राच्य विद्या जसलाई महान अध्येता ऋषि–मनिषीहरूले प्रर्वतन गरे त्यसमा परिवेश र पर्यावरणको अत्यन्त ठूलो भूमिका रहेको छ । मरुभूमि र आँधीबेरीको मध्यमा बसेर तप, ज्ञान योगको एवं अध्ययन अनुसन्धान दुष्कर हुन्छ । यसका लागि अनुकुल परिवेश चाहिन्छ । विश्वमै सबसे उत्कृष्ट परिवेश एवं पर्यावरण भएको देश नेपाल हो । नेपाल बाहेक विश्वको कुनै भूखण्डमा षड्ऋतु  (छ ऋतुहरू) छैन । वैविध्यपूर्ण षड्ऋतुले युक्त नेपालभूमि नै योगको आदिप्रयोगभूमि हो भन्दा अतिसयोक्तिपूर्ण हुँदैन । 

योगग्रन्थहरूमा उल्लेख भए अनुसार योगको आदिप्रवक्ता महायोगी शिव हुन् । आदिनाथ शिवको लीला, क्रीडा र मञ्चनका सहस्र उदाहरणहरू यस माटोसँग जोडिएर आउँछन् । शिवको साक्षात प्राकट्य पशुपतिनाथदेखि लिएर शिवपुरी र शिवगञ्जहरू यहीं छन् । शिव र शक्तिमो महिमा उजागर गर्ने सयौं शक्तिकेन्द्रहरूको व्याख्याले शास्त्रहरू भरिएका छन् । यस दृष्टिबाट पनि स्पष्ट हुन्छ कि योगको आरम्भ–इतिहास हाम्रै नेपालभूमिसँग जोडिएको छ । तत्वतः नेपाल योगभूमि हो, तपोभूमि हो र ज्ञानभूमि हो । 

योग विज्ञानको प्रतिपादन गर्ने प्रथम दर्शन सांख्य हो । सांख्य सूत्रमा योगको सैद्धान्तिक विवेचना छ । यसका रचनाकार महर्षि कपिल हुन् । भनिन्छ, महर्षि कपिलको साधनाभूमि कपिलातीर्थ, कपिलवस्तु हो । समग्र विश्वलाई सहस्र शताब्दी अगावै सर्वश्रेष्ठ उपहार योगविद्याको प्रवर्तन गर्ने कपिलमुनिकै हामी सन्ततिहरू भर्खर मात्रै जाग्रत हुँदैछौं । अनेकौं आदिम योगग्रन्थहरूका कृतिकार महर्षि व्यास नेपालकै तनहुँ क्षेत्रलाई तपोभूमि बनाउने महाविभूति हुन् । हाम्र्रा कुलगुरु गुरु गोरखनाथेसँग जोडिएर आउने योगसम्बद्ध थप्रै प्रसंग छन् । यी त केही उदाहरण मात्र हुन् । यस्ता अजस्र उदाहरण र प्रमाण यत्रतत्र उपलब्ध छन जसले नेपाललाई योगभूमि सिद्ध गरेका छन् । 

नदोहोरियोस् बिडम्बना 
योग हाम्रो हो, हाम्रो थियो, अब आएर विश्वव्यापी भएको छ । योग स्वयंमा महान, श्रेष्ठ र अद्वितीय जीवनविद्या हो । यति हुँदाहुँदै पनि बिडम्बनायुक्त तथ्य के हो भने हाम्रो योग जब गैरऋषिसन्ततिहरूबाट “योगा” बनेर फेशनको विषयवस्तु बन्न पुग्यो बल्ल हामी तिनको अनुकरण गर्न लागिरहेका छौं । वर्तमान तथ्यांकतिर नजर पु¥याउने हो भने आजको दिनमा करीब १६ प्रतिशत अमेरिकी योग गर्छन् । र त्यहाँ को कारोबार योगको बजारमा हुने गर्छ । विश्वभरिका लाखौं करोडौं शिशीमुनिप्रेमीहरू शिशी त्यागेर योग पथमा फर्किरहेका छन्, तर हामी चाहिँ योग बिर्सेर शिशीमुनिमै मदमक्त छौं । एक अनुमान अनुसार आजको दिनमा केवल २ प्रतिशत नेपालीहरू मात्रै योग गर्छौं । विश्व ज्ञानमञ्चका अनेकौं वैज्ञानिक अध्येता–अनुसेन्धाताहरूले योगलाई पूर्णतः वैज्ञानिक चिकित्सकीय एवं जीवनशैली प्रधान विद्या प्रमाणित गरेका छन् ।

यसमा धार्मिक अन्धता रत्तिभर पनि छैन, यसको पुष्टि हुन कतैं बाकि छैन । त्यसैले आज जुन २१ को दिनमा विश्वका झण्डै २०० देशमा एकसाथ योग गरिदैछ । यदि हाम्रो बौद्धिक वर्ग र सरकार पहिल्यै जागेको भए संयुक्त राष्ट्रसंघमा योग दिवसका निमित्त प्रस्ताव पेश गर्ने प्रथम राष्ट्र योग भूमि नेपाल हुने थियो । स्मरण रहोस् देशमा केही योगप्रेमिहरू विगत २७ वर्षदेखि निरन्तर अन्र्तराष्ट्रिय योग दिवस मनाउदै आइरहेका छौं । योग दिवसको पावन अवसरमा निराशावादी कुरा नगरौं, सरकारको कदम ढिलै भए पनि शुभ छ, स्तुत्य छ ।

अन्तराष्ट्रिय पत्रिकामा एउटा घतलाग्दो उद्धरण लेखिएको थियो, आज यदि कार्लमाक्स जीवित भएको भए उनले धर्मलाई अफिमको गोली हो भन्ने वाक्यमा, संशोधन गर्ने थिए र भन्ने थिए कि योग सुख र शान्तिको गोली हो । सबैले बाँचीरहेको भए सायद यतिखेर योग प्राणायामको अभ्यास गरिरहेका हुन्थे होलान । वास्तवमा योग सुखशान्तिको अद्वितीय गोली हो । त्यसैले त आज योग हरेक क्षेत्र, वर्ग र समाजमा द्रुत गतिमा प्रचलित भइरहेको छ । हिजो धर्मलाई अफिमको गोली भनेर राजनैतिक मान्यतामा हुर्केबढेकाहरू नै आज योगाभ्यासमा सबसे अघि छन् । खुशी नै मान्नु पर्छ कि यस पटक अन्र्तराष्ट्रिय योग दिवस मनाउने शीलशीला मन्त्रालयहरूको बीचमा तानातान भएको थियो । माओवादी पृष्ठभूमिबाट आएका शिक्षामन्त्री यतिखेर योगको पैरवी गर्ने अग्रपंक्तिमा छन् । कम्युनिष्ट पृष्ठभूमिकै संस्कृति मन्त्रीको प्रवचन योगगुरुहरूको भन्दा बेजोड छ । साम्यवादी आन्दोलनका नाइके वर्तमान प्रधानमन्त्री स्वयं योगका तालीमप्राप्त प्रशिक्षक हुनुहुन्छ । 

सबैका लागि सधैंका लागि 
 योगको महत्वपूर्ण ग्रन्थ हठप्रदीपिकामा भनिएको छ कि योग जो सुकैले गर्न सक्छ र यसमा सफलता हासिल गर्न सक्छ । युवा, वृद्ध, अतिवृद्ध, असक्त र रोगीले समेत योगाभ्यास गरेर लाभ प्राप्त गर्न सक्छन् । यसमा कुनै जाति, उमेर, लिंग र वर्गका आधारमा भेदभाव छैन । सबै बलहरूमा योग परमबल हो । भनिएको छ ‘नास्ति योगसमं बलम्’, योग समान अर्को कुनै बल छैन । कायरता, दुर्बलता, भयग्रस्तता, तनाव र मानसिक द्वन्द्व सर्वत्र व्याप्त भएको वर्तमान युगमा योग सर्वोपरि समाधान हो । चेतनाको उत्थान, आत्मोन्नति तथा आत्मसाक्षात्कार योगको उपल्लो ध्येय हो । यद्यपि योगको प्रभक्त सर्वप्रथम शारीरिक स्तरमा देश पर्छ । जो नियमित योगाभ्यास गर्छ कसले तन्दुरुस्ति, आरोग्यता, सुस्वास्थ्य तथा स्फूर्ति प्राप्त गर्दछ । हाम्रो चेतनाको प्रकृति मनोशारीरिक किसिमको हुन्छ । मनको प्रभाव शरीरमा र शरीरको प्रभाव मनमा अविछिन्न रूपले परिरहन्छ । जब शरीर स्वस्थ तन्दुरुस्त र रोगरहित हुन्छ मन आफैंमा सृजनात्मक एवं सुखदायी हुन थाल्दछ । योग अन्तर्गतका आसन प्राणायाम, मुद्रा, बन्ध एवं शुद्धिक्रियाको प्रयोग शरीरले गर्छ जबकि प्रभाव मन एवं चेतनासम्म पुग्दछ । यसो भन्नु गलत नहोला कि योगले योग्यता प्रदक्त गर्दछ । र, योगले दिने योग्यता शारीरिक, मानसिक, भावनात्मक एवं आत्मिक चारै स्तरलाई उपयोगी हुने गर्दछ । शोध अनुसन्धानतर्फ दृष्टि लैजाने हो भने क्यान्सर जस्ता जटिल र पीडादायी रोगव्यथाको समाधान गर्ने क्षमता योगमा छ । सामान्य प्रकारका रोगसमस्या लगायत जीवनशैलीजन्य जटिलताहरू त योगद्वारा केही समयभित्रै समाधान गर्न सकिन्छ । 

वर्तमान समयमा जे जति रोगव्याधि, समस्या र जटिलताहरू छन् ती सबैलाई सम्बोधन गर्ने सामथ्र्य योगमा छ । एउटा ऋषिवचन नै छ ‘भवताच्तेत तप्तानो योगो ही परभौषधम् ।’ अर्थात भवसंसार अर्थात् जीवन र जगतका समग्र तप–संतापहरूको एकमेव औषधि योग हो ।            

Last modified on 2017-09-02 14:36:11

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts