खोप लगाउने बालबालिका तीन वर्षमा ८ प्रतिशत घटे



Download our app to get more features

काठमाडौं, १ असार । लामो समयदेखि नेपाली स्वास्थ्य क्षेत्रको उपलब्धिको सूचीमा पर्दै आएको राष्ट्रिय खोप कार्यक्रमको सफलतामा गिरावट आएको छ । 

एक वर्षमुनिका बालबालिकाको जीवनरक्षाका लागि लगाईने अत्यावश्यक बीसीजी, डीपीटी–हिप्व–हिव थ्री, ओपीभी, रुबेला तथा दादुरा लगायत खोप लगाउने बालबालिकाको संख्यामा गिरावट आएको सरकारी वार्षिक प्रतिवेदनले देखाएको छ । पछिल्लो तीन वर्षमा पूर्ण खोप लगाउन बालबालिकाको संख्या ७३ प्रतिशतबाट घटेर ६६ प्रतिशतमा पुगेको हो ।  यसले सरकारी स्वास्थ्य कार्यक्रमको सफलतामा चुनौती थपेको सरकारी स्वास्थ्य अधिकारीले बताएका छन् । प्रतिवेदनमा भूकम्प, बन्द, हड्ताल, प्राकृतिक प्रकोप लगायतका कारण खोप लगाउने बालबालिकाको संख्या बढेकाले अघिल्ला वर्षभन्दा अहिले खोप लगाउने बालबालिकाको संख्यामा कमी आएको बताइएको छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष ०७२–७३ को प्रतिवेदनअनुसार जापानिज इन्सेफ्लाइटिसबाहेक खोप प्रयोग गर्ने बालबालिकाको संख्यामा कमी आएको हो । बीसीजी खोप लगाउने बालबालिकाको संख्या तीन वर्षमा ९४ बाट ८७ प्रतिशतमा झरेको छ । 
यस्तै, डीपीटी हिप्व–हव थ्री प्रयोग बालबालिकाको संख्या ९२ बाट ८२ प्रतिशतमा झरेको छ । ओपीभीको प्रयोग दर ९२ बाट ७९ प्रतिशतमा झरेको छ ।  आर्थिक वर्ष ०७०–७१ मा दादुरा तथा रुबेलाविरुद्ध खोप लगाउने बालबालिको संख्या ८८ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७१–७२ मा ७७ प्रतिशतमा झरेको छ । जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाउने बालबालिकाको संख्या भने तीन वर्षमा बढेको छ । उक्त संख्या ४३ बाट ७३ प्रतिशत पुग्न सफल भएको हो । स्वास्थ्य  सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले खोप लगाउने बालबालिकाको संख्यमा कमी आउनु नेपाली स्वास्थ्य क्षेत्रका लागि चुनौती थपिएको बताए । तर, खोप लगाउने बालबालिकाको संख्यामा कमी आउनुको मुख्य कारण पहिचानका लागि अध्ययन थाल्ने उनको भनाई छ । डा. पन्तका अनुसार बसाईसराईँ परिवारनियोजनका साधन प्रयोगमा वृद्धिलगायत कारणले खोप लगाउने बालबालिकाको संख्यामा कमी आएको हुन सक्ने अनुमान गरिएको र यसको थप अध्ययनका लागि विज्ञ सम्मिलित समिति गठन गरिएको छ । 

 

(आजको अन्नपूर्णपोष्ट दैनिकबाट)
 

Last modified on 2017-06-15 16:49:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts