राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधयेक मन्त्रिपरिषदको विधयेक समितिबाट पास



Download our app to get more features

काठमाण्डौ, १५ जेठ । सबै प्रदेशमा एकएकवटा सरकारी मेडिकल कलेज खोल्ने पूर्वसम्झौता पालना नभएको भन्दै अनशन बस्न डा. गोविन्द केसी दाङ पुगिरहँदा यता मन्त्रिपरिषद्को विधयेक समितिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पास गरेको छ ।

२ वर्षअघिको भएको सम्झौता अनुसार सर्वप्रथम मेडिकल कलेज बन्नुपर्ने राप्ति उपक्षेत्रीय अस्पतालमा कुनै प्रकृया अघि नबढेको भन्दै आक्रोशित केसीले यो सहित विभिन्न माग राखी शनिवारबाट अनशन बस्ने कार्यक्रम थियो । अनशन बस्न भनेर राप्ति उपक्षेत्रीय अस्पताल पुगेका केसी स्वास्थ्यमन्त्री गगन थापाको आग्रहपछि केही लचक बनेका थिए । उनले मेडिकल कलेज निर्माणको प्रकृया तत्काल थालनी हुनुपर्ने, पूर्वसम्झौता पालना हुनुपर्ने, प्रधानन्याधिसमाथिको महाअभियोग प्रस्ताव फिर्ता हुनुपर्ने लगायत माग राखि गर्ने अनशन आज दिउसोसम्मलाई स्थगित गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को विधेयक समितिमा पठाएको प्रतिष्ठान सम्बन्धी विधयेक आज केही प्राविधिक परिमार्जन सहित पास भएपछि केसीको अनशन तत्कालका लागि स्थगन हुने हो की भन्ने ठानिएको छ । आज पास भएको विधयेक अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नेछ । त्यसपछि विधेयक संसदमा जानेछ । तर, संसदको बजेट अधिवेशन चलिरहेका बेला अन्य विषयमा छलफल नहुने भएकाले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पास हुन समय लाग्ने देखिन्छ । मन्त्री थापाले केसीसँगको टेलिफोन वार्तामा विधेयक तयार भइसकेको र प्रकृया नरोकिने बताएपछि केही केही नरम बनेर निर्वाचन अघि अनशन नबस्ने र दाङको साइ मन्दिर दर्शन गरेरमात्र फर्किने सम्भावना रहेको भनेर स्वास्थ्य मन्त्रालयभित्र चर्चा चलेको छ ।

स्वास्थ्य मन्त्रीका प्रेस संयोजक जीवन भण्डारीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भवन निर्माण खर्चस्वरुप २५ करोड, प्रशासनिक खर्च स्वरुप १ करोड र राप्ति उपक्षेत्रीय अस्पतालको मर्मतसम्भारका लागि ८० लाख रकम निकासा भइसकेकाले दाङमा मेडिकल कलेज चाहियो भनेर अनशन गर्नुपने अवस्था नरहेको बताए ।

 

Last modified on 2017-06-14 13:19:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts