मुकेश कायस्थकी आमा भन्छिन्ः सम्मान होइन उपचारको व्यवस्था गर



Download our app to get more features

काठमाण्डौ, १५ जेठ । १२ वर्षअघि दोश्रो जनआन्दोलनका क्रममा प्रहरीको गोलि लागी गम्भीर घाइते भएका बनेपाका मुकेश कायस्थले यो बीचमा सासमात्र फेरेका छन् । उनी बाँच्नका लागि मात्र बाँचेका छन् । त्यसैले उनलाई जिउँदो शहीद भन्ने गरिन्छ ।

यो बीचमा धेरैपटक नेपालमा गणतन्त्र दिवस मनाइएको छ । ठूला ठूला मान्छेले परेवा उडाएर शान्तिको कामना गरेका छन् । दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई भनेर तक्मा बाँडिएको छ । वर्षैपिच्छे नयाँ नयाँ सरकार र मन्त्रीहरु फेरिएका छन् । तर, अर्धचेत अवस्थामा रहेका मुकेश कायस्थको परिवारको पीडा भने उस्तै छ । जस्तो छ लोकतन्त्र र गणतन्त्र आएर पनि नफेरिएको नेपाली जनजीवन ।

यसपालीको गणतन्त्र दिवसको बिहानीपनि उस्तै टिठलाग्दो भयो कायस्थ परिवारलाई । वर्षेनी झैं गणतन्त्र दिवस जिल्ला आयोजक समिति काभ्रेका एक हुल मान्छे पुगेर कायस्थले देख्दै नदेखेको र भोग्दै नभोगेको गणतन्त्रको खुशियाली साँटे । सोमवार बिहानै कायस्थको निवासमा पुगेका काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा र स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमखु अशोक व्याञ्जुले अर्धचेत मुकेशलाई सम्मान गरे ।

तर, गणतन्त्रका लागि जिउँदै शहीद भएका कायस्थकी आमा मीरा कायस्थले सरकारी अधिकारीलाई सम्मान भन्दापनि उपचारको व्यवस्था गरिदिन आग्रह गरिन् । उनले छोराको हेरचाह गर्न उपयुक्त चिकित्सकको व्यवस्था गरिदिन टोलीसँग माग गरेकी छिन् । प्रभातफेरी सहित कायस्थको घरमा पुगेको टोलीले आश्वासन दिएर फर्किएको राससले खबर लेखेको छ । मुकेशको होस खुल्ला भन्ने आशमा बसेकी मीराले छोराको उपचारको व्यवस्था गरिदिन हारगुहार गरिरहँदा यता राजधानीमा भने गणतन्त्र दिवसको अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि हुँदै थियो । फाइल फोटो

 

Last modified on 2017-06-14 13:19:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts