सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन



Download our app to get more features

काँकडभिट्टा (झापा), १५ जेठ । झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । 

यसअघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो । 

सहारा नेपाल (साकोस) र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त पहलमा कनकाई–४ कोटीहोमस्थित समर्पण भवनमा नयाँ उपचार केन्द्र स्थापना भएको हो । त्यसको नाम ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’ राखिएको छ । 

आइतबार एक समारोहबीच झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सो केन्द्रको सेवा शुभारम्भ गरे । 

रु ६० लाखको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा एकैपटकमा छ जनासम्म बिरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ । 

झापाको चारआलीमा जनसहयोगमा भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रको प्राविधिक व्यवस्थापन नेपाली सेनाले नै हेर्दै आएको छ । पूर्वी झापा, मेची अञ्चलका पहाडी जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आउने सर्पदंशका बिरामीको उपचार त्यहाँ हुँदै आएको छ । 

यसैगरी, दमकमा नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखाले नै सर्पदंश उपचार केन्द्रको सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएको छ । 

चारआली र दमकको माझमा पर्ने कनकाईमा सञ्चालन हुन थालेको उपचार केन्द्र अरु दुई वटा केन्द्रको तुलनामा बढी सुविधायुक्त रहेको छ । यहाँ अन्यत्र नभएको सघन उपचार कक्ष (आइसीयु) समेतको व्यवस्था हुने भएको छ । 

कनकाईको उपचार केन्द्रमा पाँच जना कर्मचारी चौबीसै घन्टा ड्युटीमा बस्ने छन् । एन्टी स्नेक भेनम नामक उपचारमा लाग्ने औषधि भने जिल्ला जनस्वास्थ्य कार्यालय झापामार्फत सरकारले उपलब्ध गराउने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष लीला चिमरियाले बताए । 

झापामा वार्षिक दुई हजारको हाराहारीमा सर्पदंशका बिरामी उपचारका लागि चारआली र दमक पुग्ने गरेका छन् । 

वैशाखदेखि असोज महिनासम्म सर्पदंशका बिरामी धेरै हुने गरेको छ । रासस
 

Last modified on 2017-06-14 13:20:54

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts