औषधिको मूल्य घटाउन विश्व समुदाय समक्ष नेपालको आह्वान



Download our app to get more features

जेनेभा, ११ जेठ । नेपालले औषधि र चिकित्साजन्य सामग्रीको मूल्य कम गर्न विश्व स्वास्थ्य संगठन, उत्पादक र विश्व समुदायसमक्ष आह्वान गरेको छ । नेपालसहित १ सय ९४ मुलुकको सहभागिता रहेको ७० औं विश्व स्वास्थ्य महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले यस्तो आह्वान गरेका हुन् । स्वास्थ्य क्षेत्र सुधारका लागि क्षेत्रीयस्तरमा एसियन, सार्क, अफ्रिकन युनियनजस्तै फोरम आवश्यक रहेको समेत उनले औंल्याए ।

विश्व स्वास्थ्य सगठन (डब्लूएचओ) ले स्वास्थ्यका विभिन्न पक्षमा रणनीति तथा प्राथमिकता तय गर्न बर्से्नि विश्व स्वास्थ्य महासभा आयोजना गर्छ । मन्त्री थापाले महासभा नेपालमा सर्वसाधारणले स्वास्थ्यमा गर्नेमध्ये ६७ प्रतिशत खर्च औषधिमा गर्ने गरेको औंल्याउँदै अन्य मुलुकको पनि स्थिति यसभन्दा फरक नरहेको औंल्याए ।

विश्वव्यापी स्वास्थ्य पहुँचमा यो अवस्था तगारो बनिरहेको भन्दै थापाले औषधि र चिकित्साजन्य सामग्रीको मूल्यमा कमी नल्याइएसम्म सबैका लागि सधैंका लागि गुणस्तरीय स्वास्थ्य स्याहारको नारा सार्थक हुन नसक्ने जनाए ।

औषधि उपयोग सबैका लागि सुनिश्चित गर्न विशेष पहल लिनसमेत उनले डब्लूएचओका नवनिर्वा्चित महानिर्देशकसमेतको ध्यान खिचे । 

उनले विकासोन्मुख मुलुकमा नसर्ने रोग थपिँदै गएको र धनी–गरिब बीचको फाटोले स्वास्थ्य असमानताको खाडल फराकिलो बन्दै गएको पनि स्मरण गराए ।

औषधिको मूल्य आधाभन्दा बढी घटाउन सकिने दाबी उनले गरे । ‘हामीले भारत र बंगलादेशका स्वास्थ्यमन्त्री, औषधि कम्पनी नोभार्टिस लगायतसँग सभाकै क्रममा यसबारे द्विपक्षीय कुराकानी र्गयौं,’ स्वास्थ्य मन्त्री थापाले भने, ‘हाम्रो पहल जारी राख्दा सबैजसो औषधिको मूल्यमा आधाभन्दा बढी र केहीको त कल्पना गर्न नसक्ने गरी मूल्यमा कमी आउँछ ।’ सरकारी प्रतिवेदनले मुलुकमा औषधि वास्तविक मूल्यभन्दा २२ सय प्रतिशतसम्म महँगो रहेको देखाएको छ । भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डाले थापासँगको वार्तामा नेपाललाई भारतीय नागरिकलाई सरह सस्तो मूल्यमा औषधि निर्बाध आपूर्ति गर्ने प्रतिबद्धता प्रकट गरे । भारत सरकारले हाल जन औषधालयमार्फत आफैंले थोक मात्रामा सस्तो दरमा औषधि खरिद गरेर न्यून मूल्यमा सर्वसाधारणलाई बेच्ने गरेको छ । नड्डाले थापासँग औषधिको वार्षिक आवश्यकताको विस्तृत विवरण पठाउन आग्रह गरे । ‘हामी छिट्टै अत्यन्त न्यून मूल्यमा औषधि आपूर्तिका लागि भारतीय पक्षसँग समन्वय गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई भारत पठाउनेछौं,’ थापाले भने । स्वास्थ्यमन्त्री थापाले विश्व स्वास्थ्य महासभाकै क्रममा बहुराष्ट्रिय औषधि कम्पनी नोभार्टिससँग समेत सस्तो मूल्यमा औषधि आपूर्ति गर्नेबारे कुराकानी गरे ।

नोभार्टिसले नेपाललाई ३० प्रकारका औषधि १ महिनाको मात्रा (डोज) को लागि १ डलर तिर्ने गरी उपलब्ध गराउने वचन दिएको छ । यसमा एक महिनाका लागि ९० डलरसम्म पर्ने औषधि छन् ।


(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-06-14 14:20:15

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts